कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

मुलुकलाई दुई दलीय अधिनायकवादमा लैजान खोजिँदैछ, विपक्षीहरू संगठित हुनुपर्छ : दाहाल

भाद्र १९, २०८१
मुलुकलाई दुई दलीय अधिनायकवादमा लैजान खोजिँदैछ, विपक्षीहरू संगठित हुनुपर्छ : दाहाल

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासन अधिनायकवाद तर्फ लैजाने खोजिएको भन्दै अब त्यसविरुद्ध विपक्षीहरूलाई समेटेर लैजानुपर्ने बताएका छन् ।

बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको क्रममा बोल्दै अध्यक्ष दाहालले सबै प्रतिपक्षलाई समेटेर लैजानुपर्ने बताएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

'सबै प्रतिपक्षलाई समाहित गर्दै संसदमा भएको हाम्रो शक्तिलाई पनि प्रभावकारी बनाउने । त्यसको साथसाथै अन्य फोरमहरुमा पनि सरकारको जनविरोधी क्रियाकलापहरु, भ्रष्टाचार विरोधी अभियान रोकिएको छ, छोपछाप पार्न लागिरहेको छ । लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श पनि कमजोर हुँदै गइराखेको छ । दुई दलिय शासनतिर देशलाई लान खोजिएको छ । त्यसले अधिनायकवादतिर लाने संकेत देखा परेको छ । पश्चगमनतिर जान खोजेको छ । त्यसलाई रोक्नका लागि जनतालाई सुसुचित गर्नुपर्छ । प्रशिक्षित गर्नुपर्छ । पार्टी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने निर्णय भएको छ,’ दाहाललाई उदृृत गर्दै प्रवक्ता सापकोटाले भने ।

अध्यक्ष दाहालले भूराजनीतिक स्थितिले गर्दा राष्ट्रियताको सवाल धेरै संवेदनशील भएको बताएका थिए ।

सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै प्रवक्ता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भन्नु संविधान विपरीत भएको बताए ।

प्रधानन्त्रीले बृहत शान्ति सम्झौताको विपरीत बोलेको उनले बताए । नेकपा हुँदा दस्तावेजमै जनयुद्धलाई सशस्त्र सङ्घर्ष लेखिएको भन्दै सो कुरा बिर्सिएर जनयुद्धलाई हिंसा भन्नुमा बदनियत रहेको बताए ।

‘उहाँ देशको प्रधानमन्त्री हो । एउटा पार्टीको अध्यक्ष पनि हो । त्यो कुरा बोल्नु सरासर संविधान विपरित छ । सहमति विपरित छ । संविधानमा सशस्त्र सङ्घर्ष भनिएको छ । बृहत शान्ति सम्झौतामा पनि सशस्त्र सङ्घर्ष भनिएको छ । बाह्र बुँदे समझदारीको विरुद्धमा बोल्नुभएको छ । बृहत शान्ति सम्झौताको पनि विरुद्धमा बोल्नुभएको छ' प्रवक्ता सापकोटाले भने ।

प्रकाशित : भाद्र १९, २०८१ १३:४९
x
×