कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

एउटै नेतालाई सर्वाधिकार दिन हुन्न : सांसद भण्डारी 

भाद्र १९, २०८१
एउटै नेतालाई सर्वाधिकार दिन हुन्न : सांसद भण्डारी 

पाल्पा — कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद चन्द्र भण्डारीले एउटै नेतालाई सर्वाधिकार दिन नहुने बताएका छन् ।

प्रेस युनियन पाल्पाले बुधबार बर्तुङ्गमा राखेको पत्रकार भेटघाटमा नेता भण्डारीले सीमित नेतालाई सबै अधिकार दिँदा आफूलाई चाहिने बेलामा हातखुट्टा जोडेर माग्नुपर्ने अवस्था आउने बताए । उनले भने, ‘एउटा सीमित नेतालाई सबै अधिकार दिने अनि आफूलाई चाहिने बेलामा हातखुट्टा जोडेर खुट्टा कमाउँदै माग्नुपर्ने हुन्छ ।’

उनले अब जनतालाई काम गरेको देखाउनुपर्ने भन्दै जनतालाई सेवा प्रदान गर्न सकेनौं भने राजनीति अघि बढ्न नसक्ने बताए । विगतमा जेलनेल गरेर जनताको चाहनाअनुसार व्यवस्था परिवर्तन भए पनि नेतृत्वले जनचाहनाअनुसार काम गर्न नसकेको उनको भनाइ थियो । ‘प्रजातन्त्र ल्यायौ, व्यवस्था परिवर्तन गरियो,’ उनले भने, ‘नेतृत्वको इच्छाशक्ति भएन भने व्यवस्था परिवर्तन भएर केही नहुने रहेछ ।’

उनले प्राविधिक शिक्षामा अहिलेका युवालाई जोड्न सक्नुपर्ने भन्दै मुलुकलाई सही नेतृत्व दिनुपर्ने बेला आएकोमा जोड दिए । जनतामा देखिएका निराशालाई आशामा बदल्नुपर्ने बेला आएको पनि उनले बताए ।

कांग्रेस पाल्पाले पूर्वसभापति ठाकुरचन्द्र विप्र कोइरालाको बुधबार निवासमा आयोजित शोकसभामा बोल्दै नेता भण्डारीले पाप र पुण्यका विषयमा सबै जानकारी हुनुपर्ने बताए । अहिलेको समाजमा हत्या, हिंसा, चोरी डकैतीजस्ता कार्य बढेकामा चिन्ता व्यक्त गर्दै उनले दुःख पर्दा गलत गर्न हुँदैन भन्ने सिकाएको उल्लेख गरे । भण्डारीले ठाकुरचन्द्र कोइरालालाई पार्टीमा महाभारतका सुदामा भएको संज्ञा दिए ।

कार्यक्रममा कांग्रेस पाल्पा सभापति हिमालदत्त श्रेष्ठ, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य राजन पन्त, पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर राना, पार्टीका पूर्वसचिव यमलाल तिमिल्सेनाले पूर्वसभापति ठाकुरचन्द्र विप्रको विगतमा गरेको योगदानको चर्चा गरेका थिए ।

कांग्रेस पाल्पाका पूर्वसभापति ८५ वर्षीय ठाकुरचन्द (विप्र) कोइरालाको बिहीबार निधन भएको थियो ।

प्रकाशित : भाद्र १९, २०८१ १९:३८
x
×