कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

दसैंमा नयाँ होइन, सुकिला नोट

भाद्र १९, २०८१
दसैंमा नयाँ होइन, सुकिला नोट

Highlights

  • नयाँ नोट छपाइ र वितरणमा हरेक वर्ष १ अर्ब ३७ करोड हाराहारीमा खर्च

काठमाडौँ — विगतका वर्षमा जस्तो यस वर्ष दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको छ । नयाँ नोटको सट्टा सुकिला (सफा) नोट वितरण गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । 

गत साता बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले औपचारिक रूपमै यस वर्ष नयाँ नोटको सट्टा सुकिलो नोट वितरण गर्ने निर्णय गरेको हो । अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले यस्तो निर्णय लिइएको हो । डिजिटल कारोबारलगायतका कारण ढुकुटीमा सुकिला नोट थुप्रिएपछि त्यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

यस वर्ष नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने तयारी भएको राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले बताए । ‘नोट नै नदिने भन्ने होइन, विगतमा जस्तै यस वर्ष पनि सर्वसाधारणलाई नोट वितरण गरिन्छ । तर नयाँ होइन, सुकिला हो,’ उनले भने ।

राष्ट्र बैंकले हरेक वर्ष दसैं, तिहार, छठलगायत चाडमा मात्र नभई मागअनुसार सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको छ । दसैं, तिहारमा भने सूचना नै निकालेर राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिँदै आएको छ । दसैं, तिहारमा ६० देखि ७० अर्ब बराबरको नयाँ नोट राष्ट्र बैंकबाट बाहिरिने गरेको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् ।

खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएका राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन । दसैं र तिहारका अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का, चाँदीका स्मारिका सिक्का र सुनका असर्फी पनि धेरै बिक्री हुँदै आएको छ ।

नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले ठूलो धनराशि खर्च गर्दै आएको छ । राष्ट्र बैंककै एक अध्ययनले पछिल्ला पाँच आर्थिक वर्षमा औसत नोट छपाइमा मात्र १ अर्ब ३३ करोड ६४ लाख र मुलुकभर वितरण गर्दा औसत ३ करोड ८७ लाख रुपैयाँ गरेर कुल १ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ खर्च हुँदै आएको छ ।

यसरी वितरण गरिएका नोटमध्ये केही दसैं र तिहारको बीचमा र धेरैजसो तिहारपछि बैंक तथा वित्तीय संस्था हुँदै राष्ट्र बैंकमा फर्कन्छन् । राष्ट्र बैंकमा फर्किएपछि ती नोट ‘सुकिला’ हुन्छन् । बैंक तथा वित्तीय संस्थाले ती नोट लगे पनि सर्वसाधारणले नलाने भएकाले राष्ट्र बैंकको ढुकुटीमा थुपि्रँदै आएको छ । अहिले त्यही नोट व्यवस्थापन गर्न लागिएको हो ।

एकातिर हरेक वर्ष नयाँ नोटको माग बढिरहेको र अर्कातिर सोही दरका प्रयोगयोग्य नोट राष्ट्र बैंकको गोदाममा थन्किएकाले व्यवस्थापन चुनौतीपूर्ण बनेको राष्ट्र बैंकले जनाएको छ । नयाँ नोटको माग आउने तर प्रयोग गर्न सकिने राम्रा नोट लिन नचाहने प्रवृत्तिले ढुकुटीमा ठूलो परिमाणमा नोट थुप्रिँदै गएको राष्ट्र बैंकले बताएको छ ।

प्रकाशित : भाद्र १९, २०८१ ०५:३०
x
×