कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

नारायणगढ-बुटवल सडक विस्तार : ठेकेदारले छक्याइरहने, सरकार पत्याइरहने

भाद्र १९, २०८१
नारायणगढ-बुटवल सडक विस्तार : ठेकेदारले छक्याइरहने, सरकार पत्याइरहने

Highlights

  • निर्माण थालेको ६ वर्षमा तेस्रो पटक म्याद थप भइसक्दा पनि प्रगति ५२.७ प्रतिशत मात्र
  • धूलोले गर्दा दिउँसै ‘हेडलाइट’ बाल्नुपर्ने बाध्यता, हिलोमा सवारीसाधन चिप्लिँदा दुर्घटना बढ्दो

काठमाडौँ — दसैं सुरु हुन एक महिना मात्र बाँकी छ । काठमाडौं छाडेर चाड मनाउन घर जानेको लस्करले राजमार्गमा सवारीसाधनको चाप त बढ्ने नै छ, उनीहरूले खेप्नुपर्ने सास्ती यसपालि पनि गत वर्षजस्तै दोहोरिनेछ । विशेषतः नारायणगढ–बुटवल सडक विस्तारमा खासै प्रगति नभएकाले उक्त राजमार्ग हुँदै यात्रा गर्नेको दुःख खपिनसक्नुको हुनेछ ।

निर्माण थालेको ६ वर्ष भयो, अहिलेसम्म तेस्रो पटक म्याद थप भइसक्यो, तर प्रगति ५२.७ प्रतिशत मात्र छ । बर्खा लागेदेखि खासै काम हुन सकेको छैन । बर्खा होस् या हिउँद, यात्रुले दुवै याममा हिलो र धूलोको सास्ती खेप्दै आएका छन् ।

घाम लाग्दा उड्ने धूलोले नजिकै पनि देख्न सकिन्न । धूलोले गर्दा दिउँसै हेडलाइट बालेर सवारीसाधन चलाउनुपर्ने बाध्यता आइलाग्छ । ठाउँ–ठाउँमा हिलो बगेर सवारीसाधन चिप्लिने गरेका कारण दुर्घटनाको जोखिम पनि उस्तै छ । सडकको हबिगतकै कारण यो खण्डको व्यापार व्यवसाय पनि चौपट छ ।

बर्खाले गर्दा काममा केही ढिलाइ भएको सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख चूडाराज ढकालले बताए । ‘बर्खामा नाली बनाउने, वाल लगाउनेलगायत निर्माणका काम धेरै हुन्थे, यो काम धेरै सकिएको छ,’ उनले भने, ‘निर्माण व्यवसायीले अगस्ट र सेप्टेम्बरमा काम गर्दिनँ भनेपछि केही समय समस्या भयो ।’ तर सबैतिरबाट दबाब भएपछि काम गर्न तयार भएको उनले सुनाए ।

‘हामीले प्रगति बढाउनेबारे समय तोकेका छौं,’ उनले भने, ‘तोकिएको समयभित्र जति प्रगति पुर्‍याउन भनिएको छ, त्यो पुर्‍याउनै पर्छ, नपुर्‍याए ठेक्का तोड्नुको विकल्प छैन ।’ २०२४ डिसेम्बरसम्म एक साइडको काम ८० प्रतिशत सकिसक्नुपर्नेछ । २०२५ को मार्चसम्म अर्को साइडको पूरै काम सक्नुपर्नेछ । ‘२०२५ जुलाईसम्म सबै काम सक्ने गरी म्याद थप गरिएको हो,’ उनले भने, ‘तोकिएको समयभित्र काम पूरा हुनेछ ।’

०७९ साउन २२ भित्र काम सक्ने गरी २०७५ चैत ८ मा ठेक्का सम्झौता भएको थियो । ‘सुरुमा निर्माण थालेको साढे ३ वर्षमा १२ प्रतिशत मात्र प्रगति थियो,’ उनले भने, ‘पछि म्याद थप गर्दा निर्माण व्यवसायीले केही प्रगति बढाएका हुन् ।’ सुरुमा निर्माण व्यवसायीले ठेक्कामा तदारुकता नदेखाउँदा कामले गति लिन नसकेको हो । ‘ठेक्का लिने व्यवसायीले बीचबीचमा घाटा भयो भन्दै काम गर्न नसक्ने कुरा गरे, कामले पनि गति लिन सकेन,’ उनले भने, ‘त्यसैले निर्माण व्यवसायी काम नै छाडेर हिँड्ने हुन कि भन्ने डर थियो, तर भागेकै भने होइन ।’ निर्माण व्यवसायीले काममा ढिलाइ गरेपछि ढकाल नेतृत्वको टोलीले ठेक्का लिने कम्पनीको केन्द्रीय कार्यालय चीनमै पुगेर असारमा समस्याबारे जानकारी गराएका थिए ।

यो सडकको निर्माण समयमै नसकिएपछि प्रतिनिधिसभाका विभिन्न संसदीय समितिमा धेरैपटक छलफल गरियो । समितिहरूले पटक/पटक स्थलगत अनुगमन गरेर छिटो काम सक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री फेरिएपिच्छे यो सडकको अनुगमन गरेर निर्देशन दिन बिर्संदैनन् । तर ठेकेदारले सुने नसुनेझैं गरेर आफ्नो सुस्तगति छाड्दैनन् । तत्कालीन भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले स्थलगत अनुगमनमा जाँदा प्रगति नबढाए ठेक्का तोड्नेसम्मको चेतावनी दिएका थिए । तर अहिले न निर्माण व्यवसायीले काम सके, न ठेक्का तोडियो ।

हालका भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले पनि पुराना मन्त्रीहरूले झैं अनुगमनलाई निरन्तरता दिएका छन् । उनी नागढुंगा–मुग्लिन, मुग्लिन–पोखरा हुँदै आइतबार नारायणगढ–बुटवल सडकको अनुगमनमा पुगेका थिए । उनीसँगै सचिव केशवकुमार शर्मा, आयोजना प्रमुखलगायत थिए । अनुगमनका क्रममा मन्त्री दाहालले तेस्रोपटक थप भएको म्यादभित्र काम नसकिए सम्झौता तोडेर नयाँ ठेक्का प्रक्रिया अघि बढाउने बताए । ‘अब पनि सम्झौताअनुसार काम नगरे ठेक्का तोडिन्छ,’ अनुगमनका क्रममा स्थानीय जनप्रतिनिधिमाझ आइतबार उनले भने, ‘ठेकेदारले नाफा घाटा भनेर काममा आलटाल गर्न पाउने छैनन् ।’

आयोजनाका अनुसार बर्खामा कालोपत्रको काम हुने छैन । सेप्टेम्बर १५ देखि मात्र यसको काम सुरु हुने छ । यसलाई दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ । ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर ४ लेन, २९ किमि ४ लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमि ३ लेनको सडक हुनेछ । बीचमा ६४ वटा पुल र ४६२ वटा कल्भर्टलगायत संरचना निर्माण गर्नुपर्नेछ । अहिलेसम्म २६.५ किमि ४ लेन र २२ किमि २ लेन सडक कालोपत्र भएको छ । ४२ वटा पुल र ३ सय ८० वटा कल्भर्ट बनेका छन् ।

तोकिएको समयमा काम नसकिएपछि दोस्रोपटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । यो अवधिमा पनि काम पूरा नभएपछि गत साउनमै तेस्रोपटक ०८२ साउन ८ सम्मका लागि म्याद थप गरिएको हो । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा ठेक्का भएको हो । यसको दुई खण्ड गरेर ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । अहिलेसम्म पेस्कीसहित साढे ९ अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ ।

‘माघ–फागुनसम्म दिइएको प्रगति पूरा नगरे ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढाउँछौं,’ सचिव शर्माले भने । यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । जुन कम्पनीले काममा प्रगति नबढाउँदा ०७९ असोज पहिलो साता आयोजनाले एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिएको थियो । ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो । अहिलेसम्म काम सकिएको छैन । यही कम्पनीले पाल्पाको १ हजार १ सय २६ मिटरको सिद्धबाबा सुरुङ र काठमाडौं तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) मा ३ हजार ३ सय ५५ मिटरको महादेवटार सुरुङ निर्माणको ठेक्का लिएको छ ।

‘तोकिएको प्रगति पूरा नगरे ठेक्का तोड्ने प्रक्रिया थाल्छौं’

केशवकुमार शर्मा, भौतिक पूर्वाधार सचिव

नारायणगढ–बुटवल सडक कहिलेसम्म बनिसक्छ ?

काम भएको छ/छैन भनेर फिल्डमै पुगेर हेरेका छौं । अबको एक वर्षभित्र नारायणगढ–बुटवल सडक बनिसक्छ । अहिले बर्खाले गर्दा काम भएको छैन । यसको निर्माणमा प्रयोग हुने सामान, क्याम्प, ठूला असपाल्ट प्लान्टहरू तयारी अवस्थामै छन् । गत वर्षभन्दा यो सडक भएर यात्रा गर्न सहज भएको छ ।

ठेक्का लिने निर्माण व्यवसायी बीचैमा काम छाडेर भागेको भन्ने कुरा आइरहेको छ, खास के हो ?

ठेकेदार भागेको होइन । काममा प्रगति कम भएको हो । हामीले विभिन्न माध्यमबाट काम छिटो सक्न दबाब दिइरहेका छौं । कूटनीतिक तहबाट पनि दबाबमा पारेर निर्माण व्यवसायीलाई काम सक्न भनिरहेका छौं ।

कामै नगर्ने ठेकेदारलाई कारबाही किन हुँदैन ?

सुरुका अवधिमा निर्माण व्यवसायीको गल्तीले मात्र ढिलाइ भएको होइन । कोभिड–१९ को प्रभाव पनि निर्माणको क्रममा पर्न गयो । समयमै रुख कटान हुन सकेन । काम हुन नसकेको समयलाई मध्यनजर गर्दै मन्त्रिपरिषद्बाट निर्णय गरेर नै नेपाली निर्माण व्यवसायीको म्याद थप गरिएको थियो ।

त्यहीअनुसार यो सडकको ठेक्का लिने निर्माण व्यवसायीको म्याद थप भएको हो । एकैचोटि म्याद थप गरिएको होइन । एकैचोटि म्याद दिँदा काम नसकिएला भनेर खटाईखटाई म्याद थप गरिएको हो । अहिले पनि विद्युत्का पोल सार्न र निर्माण सामग्री नपाएर काममा केही ढिलाइ भएको छ । माघ–फागुनसम्म दिइएको माइलस्टोन पूरा नगरे ठेक्का तोड्ने प्रक्रिया अघि बढाउँछौं ।

दसैंसम्म यो सडकमा यात्रा कत्तिको सहज हुन्छ ?

मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत जामुने–पोखरा खण्डमा काम नभएर ठेक्का तोड्ने प्रक्रियामा पुगिसकेका थियौं । अहिले त्यहाँको काम सन्तोषजनक छ । आँबुखैरेनी–जामुने खण्डमा राम्रो प्रगति छ । चाडबाड नजिकिएकाले स्तरोन्नति र विस्तार भइरहेका राजमार्गबारे बुझ्न स्थलगत रूपमा समस्या भएकै ठाउँ पुगिरहेका छौं ।

नागढुंगा–मुग्लिन सडकको अवस्था पनि हेरियो । यो झन् मुलुकको ‘लाइफलाइन’ सडक हो । चाडबाड नजिकिएकाले अब सवारी चाप बढ्छ । दसैंसम्म यी सबै सडकलाई सहज बनाउने छौं । राम्रोसँग सवारीसाधन चलाएर यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने वातावरण बनाउने छौं ।

प्रकाशित : भाद्र १९, २०८१ ०५:३४
x
×