कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

संविधान संशोधनको अपव्याख्या गरेर यसैमा राजनीति नगर्नुहोस् : लेखक

भाद्र १९, २०८१
संविधान संशोधनको अपव्याख्या गरेर यसैमा राजनीति नगर्नुहोस् : लेखक

कञ्चनपुर — गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको विषयलाई राजनीतिक रुपले शंकाको घेरामा राखेर अपव्यख्या गर्न नहुने बताएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी चरित्रलाई थप सुदृढ बनाउने गरी नै संशोधन गरीने भएकाले यसमा शंका गर्न नहुने बताए  । 

‘संविधान संशोनको विषयलाई राजनीतिक रुपले शंकाको घेरामा राख्ने, यदाकदा अपव्याख्या गर्ने र यसैमा राजनीति गर्ने उद्देश्य नराख्न अनुरोध गर्दछु,’ बुधबार महेन्द्रनगरमा प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने मन्त्री लेखकले भने, ‘कतिपय साथीहरू र पार्टीहरू संशोधनको कुरा गर्दा झस्किनुहुन्छ, नझस्किनुस, राज्यको समावेशी चरित्रलाई थप समावेशी बनाउने गरी संविधान संशोधन गरीनेछ ।’

उनल संविधान निर्माणपछिका करिब १० वर्षको अवधिमा अभ्यासका क्रममा देखा परेका सवल र दुर्बल पक्षको समीक्षा गरेर संशोधन गरिने बताए । जुन संविधानमै व्यवस्था गरिएको उनले बताए ।

दुई ठूला दल मिलेर सरकार गठन गर्ने अभ्यास बिरलै हुने गरेपनि मुलकमा राजनीतिक स्थिरतासँगै विसंगति र विकृति नियन्त्रणका लागि नेपाली कांग्रेस र एमाले मिलेर सरकार गठन भएको बताए । विगतमा पनि ठूला दलहरू मिलेर एतिहासिक कामहरू भएको बताउँदै उनले जनतामा देखिएका निराशालाई चिर्न समेत अहिलेको गठबन्धन बनेको बताए ।

‘कांग्रेस र कम्युनिष्ट मिल्दा पञ्चायत ढाल्न सफल भयौं, माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधान निर्माण गर्‍यौं,’ मन्त्री लेखकले भने, ‘अहिले पनि विशिष्ट कार्यभार सम्पादन गर्न हामी एक ठाउँमा उभिएका छौं ।’

कांग्रेस र एमालेबीच असार १७ मा भएको सात बुँदे सहमति इमान्दार रुपमा कार्यान्वन गर्न दुवै दल प्रतिबद्ध रहेको बताए । कांग्रेस केन्द्रीय समितिको बैठकले समेत उक्त सहमति कार्यान्वयन गर्ने विषय पारित गरेको उनले बताए ।

मन्त्री लेखकले प्रदेश प्रहरी कार्यालयका नवनिर्मित आधुनिक भवनबाट सुदूरपश्चिमा प्रहरीले दिने सेवा थप विस्तार हुने बताए । समाज परिवर्तनसंगै नयाँ नयाँ खालका अपराधहरू भइरहेकाले त्यसको अनुसन्धान र नियन्त्रणका लागि प्रहरीलाई पनि समयानुकुल आधुनिकीकरण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

उक्त भवन १३ करोड २५ लाखमा निर्माण भएको हो । ०७९ मंसिरमा सम्झौता भई ०८१ जेठ २९ मा निर्माण सम्पन्न भएको हो ।

प्रकाशित : भाद्र १९, २०८१ ११:४४
x
×