कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

कानुनका २८ विद्यार्थीको त्रिविले गरेन रजिस्ट्रेसन, परीक्षाबाट वञ्चित हुने

भाद्र १९, २०८१
कानुनका २८ विद्यार्थीको त्रिविले गरेन रजिस्ट्रेसन, परीक्षाबाट वञ्चित हुने

Highlights

  • प्रवेश परीक्षा उत्तीर्ण गरी पृथ्वीनारायण र नेपाल ल क्याम्पसमा भर्ना भएका विद्यार्थीको परीक्षा फाराम अस्वीकृत

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले रजिस्ट्रेसन नम्बर दर्ता नगर्दा कानुन संकायअन्तर्गत तीनवर्षे एलएलबीका २८ विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुने भएका छन् । नेपाल ल क्याम्पस काठमाडौंका ६ र पृथ्वीनारायण क्याम्पस पोखराका २२ विद्यार्थीको रजिस्ट्रेसन र परीक्षा आवेदन फाराम अस्वीकृत हुँदा उनीहरूले परीक्षा दिन नपाउने भएका हुन् ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र कानुन संकाय डिन कार्यालयले रजिस्ट्रेसन र परीक्षा आवेदन फाराम स्वीकृत गर्न अस्वीकार गरेको विद्यार्थीले गुनासो गरे । फाराम अस्वीकृत भए परीक्षामा सामेल हुन पाइँदैन ।

ती विद्यार्थी डिन कार्यालयले सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेर भर्ना भएका थिए । ११ हजारभन्दा बढी शुल्क बुझाएर भर्ना भएका विद्यार्थीको रजिस्ट्रेसन र परीक्षा आवेदन फाराम कार्यालयले अस्वीकृत गरेको पृथ्वीनारायण क्याम्पसकी छात्रा सञ्चिता दाहालले बताइन् ।

विद्यार्थीका अनुसार पहिलो वर्षको परीक्षा दिन दोब्बर दस्तुर तिरेर आवेदन फाराम भर्ने म्यादसमेत गत साता सकिएको छ । परीक्षा दिन नपाए शुल्क, समय खेर जाने र भविष्यमाथि समेत खेलबाड हुने विद्यार्थीले बताए । परीक्षा आवेदन फाराम बुझाउने बेला रजिस्ट्रेसन नम्बर प्राप्त भएको छैन भन्दै रोकिएको विद्यार्थी इन्द्र भण्डारीले बताए । ‘त्रिविले रजिस्ट्रेसन दर्ता गरेको रहेनछ । क्याम्पसले डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयलाई रजिस्ट्रेसन दर्ता गर्न आग्रह गरेको बताएको छ । तर परीक्षा दिन पाउने/नपाउने कुनै जवाफ आएको छैन,’ उनले भने ।

स्नातक पूरा गर्नुअघि नै एलएलबीको प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीको रजिस्ट्रेसन दर्ता रोकेको जानकारी परीक्षा नियन्त्रण कार्यालयले दिएको क्याम्पसहरूले जनाएका छन् । एलएलबीमा जुनसुकै विषयमा स्नातक पूरा गरेका विद्यार्थीले प्रवेश परीक्षा पास गरेपछि मेरिटका आधारमा भर्ना पाउने व्यवस्था छ । विद्यार्थीले भने स्नातक तह एलएलबीको भर्नाअघि नै पूरा गरेको तर माइग्रेसन पछिल्लो मितिमा मात्र लिएको दाबी गरेका छन् ।

२०७८ सालको एलएलबीमा २०७९ असार मसान्तसम्म जुन कुनै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागी गराउन सकिने व्यवस्था डिन कार्यालयले गरेको थियो । कार्यालयले २०७८ सालको एलएलबी ब्याच सन् २०२१ को भर्ना समूह भएको भन्दै २०२२ र २०२३ मा स्नातक उत्तीर्णलाई रजिस्ट्रेसन गराउन नसकिने जनाएको क्याम्पसका प्रमुखहरूले बताए । विद्यार्थीले भने २०२१ अघि नै स्नातक तह पूरा गरेको तर प्रमाणपत्र मात्रै एलएलबीको भर्नाका बेलामा लिएकाले त्यही बेलाको मिति कायम भएको बताएका छन् । ‘स्नातक तह २०१९ मा नै पूरा गरेको हो । एलएलबीमा भर्ना हुने बेला मूल प्रमाणपत्र मागेपछि त्यति बेला मात्रै लिएको हो,’ भण्डारीले भने ।

रजिस्ट्रेसन दर्ता नहुँदा विद्यार्थीलाई गम्भीर असर परेको जनाउँदै रजिस्ट्रेसन फाराम भर्ने व्यवस्था मिलाइदिन ल क्याम्पसका प्रमुख श्यामबहादुर कार्की र पृथ्वीनारायणका सहायक क्याम्पस प्रमुख शंकरनाथ पौडेलले डिन कार्यालयलाई पत्राचार गरेका छन् ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले एलएलबीको प्रवेश परीक्षाभन्दा पछि स्नातक पास गरेको देखिएपछि विद्यार्थीको रजिस्ट्रेसन दर्ता गर्न रोकिएको बताए । ‘डिन कार्यालयबाट पुनः गुनासो आएपछि परीक्षा शाखाले विद्यार्थीको आवेदन फाराम फेरि रुजु गर्दै छ,’ उनले भने, ‘एलएलबीमा भर्ना हुनुभन्दा अघि स्नातक पास गरेको भए रजिस्ट्रेसन दर्ता गर्न मिल्छ । परीक्षा दिन पनि पाउँछन् ।’ डिन कार्यालयसँग समन्वय गरेर विद्यार्थीको समस्या समाधान गरिनेसमेत उनले बताए । प्रवेश परीक्षाभन्दा पछि स्नातक उत्तीर्ण गरेको भए रजिस्ट्रेसन कायम गर्न नसकिने जोशीले बताए ।

कानुन संकायका डिन कृष्णप्रसाद बस्यालले क्याम्पस र परीक्षा नियन्त्रण कार्यालयले समस्याको समाधान खोज्नुपर्ने बताए । डिन कार्यालयले पनि विद्यार्थीको समस्या समाधान गर्न क्याम्पस र कार्यालयसँग छलफल गरिराखेको उनले जनाए । ‘प्रवेश परीक्षा पास गरेर भर्ना भएका विद्यार्थीले परीक्षा दिन नपाउने कुरा उपयुक्त हुँदैन । सबै निकाय यो समस्याबारे जानकार छन् । केही निर्णय आउँछ होला,’ उनले भने, ‘तत्कालै निर्णय गरेर निकास निकाल्नुपर्छ ।’

प्रकाशित : भाद्र १९, २०८१ ०५:५४
x
×