कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

त्रिविका ८ संकायमा डिन नियुक्ति गर्न छनोट समिति

भाद्र ११, २०८१
त्रिविका ८ संकायमा डिन नियुक्ति गर्न छनोट समिति

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले चिकित्सा र इन्जिनियरिङ अध्ययन संस्थानसहित ८ वटा संकायका डिन नियुक्ति गर्न छुट्टाछुट्टै सिफारिस तथा छनोट समिति गठन गरेको छ ।

कानुनबाहेक अन्य संकायको डिन नियुक्तिका लागि ३/३ सदस्यीय समिति गठन भएको उपकुलपति कार्यालयका प्रमुख निर्मल मिश्रले बताए । त्रिविमा ५ अध्ययन संस्थान र ४ वटा संकाय छन् । तीमध्ये चिकित्सा शिक्षा, इन्जिनियरिङ, मानविकी तथा सामाजिक शास्त्र, कृषि तथा पशु विज्ञान र शिक्षा संकायका डिनको कार्यकाल सकिएर पद रिक्त छ ।

निमित्तलाई डिनको जिम्मेवारी दिइएको छ । छिट्टै डिन रिक्त हुने व्यवस्थापन, वन विज्ञान र विज्ञान तथा प्रविधि संकायमा पनि छनोट समिति गठन गरिएको हो । पुससम्म पद रिक्त हुने डिन कार्यालयका लागि अहिले नै छनोट समिति गठन गरिएको कार्यकारी परिषद्ले जनाएको छ ।

चिकित्सा शिक्षा अध्ययन संस्थानमा प्राध्यापक केके ओलीको संयोजकत्वमा छनोट तथा सिफारिस समिति गठन गरिएको छ । उनी संस्थानका पूर्वप्राध्यापक हुन् । इन्जिनियरिङ अध्ययन संस्थानमा पूर्वडिन जीवराज पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन भएको छ ।

शिक्षाशास्त्र संकायमा सेवा आयोगका पूर्वसदस्य हेमराज ढकाल, मानविकी संकायमा पूर्वडिन नवराज कँडेल र कृषिमा पूर्वडिन कैलाश प्याकुरेलको संयोजकत्वमा छनोट तथा सिफारिस समिति गठन भएको विश्वविद्यालयले जनाएको छ । समितिले नियुक्तिसम्बन्धी कार्यविधिको आधारमा सार्वजनिक दरखास्त आह्वान गरी छनोट र सिफारिसको काम अघि बढाउनेछ । समितिले गरेको सिफारिसअनुसार कार्यकारी परिषद्ले डिन नियुक्त गर्ने व्यवस्था छ ।

त्यस्तै व्यवस्थापन संकायमा पूर्वरेक्टर प्रेमराज पन्त, वन विज्ञानमा अध्ययन संस्थानमा प्राध्यापक पीके झा र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिन सिफारिस गर्न प्राध्यापक तुलसी पाठकको संयोजकत्वमा समिति गठन गरिएको छ । आंगिक क्याम्पसहरूमा क्याम्पस प्रमुख नियुक्तिका लागि प्राध्यापक माधव दाहाल, विभाग र अनुसन्धान केन्द्रहरूमा प्रमुख नियुक्त गर्न प्राध्यापक हेमराज सुवेदीको संयोजकत्वमा समिति गठन भएको रेक्टर कार्यालयले जनाएको छ । शिक्षा विकास तथा अनुसन्धान केन्द्र सेरिडमा निर्देशक पद रिक्त छ ।

त्रिविका उपकुलपति केशरजंग बराल, रेक्टर खड्ग केसी, रजिस्ट्रार केदार रिजालले प्रतिस्पर्धाका आधारमा विश्वविद्यालय मातहतको निकायमा नियुक्ति गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । त्रिविमा २०४६ पछि सुरु भएर २०६२/०६३ पछि झनै बढ्दै गएको राजनीतिक भागबन्डाका आधारमा गरिने नियुक्ति अन्त्य गरिने उनीहरूको भनाइ छ ।

डिन नियुक्तिका लागि कार्यकारी परिषद्ले सिफारिस समिति गठन गर्ने र त्यसको सिफारिसमा मात्र नियुक्ति दिने विनियममा उल्लेख छ । कम्तीमा १० वर्ष प्राध्यापनरत प्राध्यापक वा सहप्राध्यापक मात्र डिन नियुक्त हुन पाउने मापदण्ड तोकिएको छ । एउटै व्यक्ति दुई पटकभन्दा बढी डिन बन्न पाउने छैनन् । अध्ययन संस्थान र संकायमा सहायक डिन सम्बन्धित डिनको सिफारिसमा कार्यकारी परिषद्ले गर्ने व्यवस्था गरिएको छ ।

समाजशास्त्रमा शेर्पा नियुक्त

त्रिवि समाजशास्त्र केन्द्रीय विभागको प्रमुखमा सहप्राध्यापक पासाङ शेर्पा नियुक्त भएका छन् । आइतबार त्रिवि कार्यकारी परिषद्ले समाजशास्त्रमा शेर्पा र भाषा विज्ञान केन्द्रीय विभागको प्रमुखमा डा. करुणाखर खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

समाजशास्त्र विभागको विभागीय प्रमुख नियुक्तिका विषयमा त्रिविमा विवाद देखिए पनि वरिष्ठताकै आधारमा शेर्पालाई नियुक्त गरिएको कार्यकारी परिषद्ले जनाएको छ । विभागीय प्रमुखको कार्यकाल ४ वर्षको हुनेछ ।

यसअघिका विभाग प्रमुख युवराज लुइँटेलको कार्यकाल साउन मसान्तमा सकिएको थियो । विभागले वरिष्ठताका आधारमा एक नम्बरमा शेर्पा, दोस्रोमा टीकाराम गौतम र तेस्रोमा मनहरि ढकाललाई सिफारिस गरेको थियो । तर मानविकी तथा सामाजिक शास्त्र डिन कार्यालयले एक नम्बरमा गौतम र दुई नम्बरमा शेर्पाको नाम राखेर कार्यकारी परिषद्मा पठाएको थियो ।

उक्त सिफारिसपछि कांग्रेस र एमालेनिकट अध्यापक, विद्यार्थीबीच विवाद भएको थियो । केही विद्यार्थीले गौतमलाई नियुक्त गर्न पदाधिकारीलाई धम्की समेत दिएपछि त्रिविका पदाधिकारीले शिक्षा मन्त्रालयसँग सुरक्षाको मागसमेत गरेका थिए ।

प्रकाशित : भाद्र ११, २०८१ ०५:३०
x
×