२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

रास्वपाले मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटायो

भाद्र ११, २०८१
रास्वपाले मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटायो

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीे निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । केन्द्रीय समितिको मंगलबारको बैठकले उनलाई हटाएको हो  ।

पार्टीको अनुशासन आयोगले गरेको सिफारिसअनुसार उनलाई हटाइएको एक नेताले जानकारी दिए । ढकाललाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा दुईपटकसम्म स्पष्टीकरण सोधिएको थियो । ढकालले पार्टी सुदृढीकरणका लागि भन्दै बनाएको प्रतिवेदनमा पार्टी अनुशासन विपरीतका कुराहरू समेटेको, पार्टीका अहित हुने खालका गतिविधि गरेको लगायतका आरोपमा पार्टीले उनलाई यसअघि महामन्त्रीबाट निलम्बन गरेको थियो । निलम्बन गरी उनलाई स्पष्टिकरण सोधिएको थियो ।

ढकालले गरेको समीक्षा यात्राको प्रतिवेदनको स्वामित्व पनि पार्टीले लिएको थिएन । प्रतिवेदन पार्टीमा पेस गरेर छलफल चलाउनु पहिल्यै सार्वजनिक गरेको भन्दै उक्त प्रतिवेदनको स्वामित्व नलिने निर्णय रास्वपाले गरेको थियो ।

ढकालले सभापति रवि लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाएका थिए । जसमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचनासमेत गरिएको थियो । आफ्ना कुरा भन्न नदिएको भन्दै ढकालले पार्टीको बैठकमै कालो टेप लगाएर विरोध गरेका थिए ।प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले महामन्त्री पदबाट निलम्बन गरिएको थियो ।

प्रकाशित : भाद्र ११, २०८१ १२:०४
x
×