कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

विद्यालयमा पनि छाउ, छात्रालाई ६ दिन छेकबार

भाद्र ११, २०८१
विद्यालयमा पनि छाउ, छात्रालाई ६ दिन छेकबार

Highlights

  • २९ वर्षदेखि पढाइरहेकी ५५ वर्षीया प्रधानाध्यापक भन्छिन्, ‘म आफ्नै कारणले बिहे नगरी बसें, तर स्थानीयले छाउ भएका बेला स्कुल गएर पढाउन थाली त्यही भएर यसको बिहे नै भएन भनेर अहिलेसम्म पनि सुनाउँछन्’

अछाम — छाउपडी प्रथालाई कानुनी रूपमा दण्डनीय अपराध घोषणा गरिएको ७ वर्ष बितिसक्दा पनि अछामका गाउँमा यसको प्रभाव यथावत् छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकास्थित सरस्वती आधारभूत विद्यालयमा महिनावारी भएका बेला छात्रा तथा शिक्षिकालाई ‘अघोषित रूपमा’ रोक छ । 

पाँच कक्षासम्म पढाइ हुने यो विद्यालयमा ६६ विद्यार्थी छन्, तीमध्ये ३६ जना छात्रा छन् भने ३० जना छात्र । विद्यालयमा छात्राकै संख्या बढी भए पनि महिनावारीको समयमा भने उनीहरूलाई विद्यालय आउन निषेधजस्तै छ । महिनावारीको समयमा विद्यालय आउन सामाजिक बन्देज रहेको प्रधानाध्यापक दुर्गा बोहोरा स्विकार्छिन् । आफ्नो महिनावारी बन्द भइसकेको तर त्यहाँ पढाउने अर्की एक शिक्षिका भने महिनावारीका बेला आउने गरेको उनको दाबी छ ।

महिनावारीका बेला विद्यालय जान नपाइने समस्या आफूले पनि बेहोर्नुपरेको सरस्वती आधारभूत विद्यालयकी पूर्वछात्रा मनसरा तिमिल्सैनाले बताइन् । ‘महिनावारीका बेला कोही विद्यालय जाँदैनन् । देवता लाग्छ, पछिसम्म दुःख पाइरहिन्छ भन्ने मान्यता छ । समाजका ठूलाबडाले छोरीचेलीको जिन्दगी नै बर्बाद नै हुन्छ भनेपछि डरले कोही पनि जान सक्दैनन्,’ उनले भनिन्, ‘हामीले केही हुँदैन, विद्यालय जान पाउनुपर्छ भन्छौं । समाजका प्रायः सबै एक भएर हाम्रो विरुद्धमा लाग्छन् ।’

कक्षा ५ की छात्रा कमला तिमिल्सैना भन्छिन्, ‘एक जना दिदी त धेरै भयो स्कुल नै आउनुभएको छैन । महिनामा ६ दिन महिनावारी भएकाले नआउने र अरू बेला घरायसी समस्याले होला, उहाँले त स्कुल छोडेजस्तै भएको छ ।’

विद्यालय परिसरको पर्खाल घेराभन्दा बाहिर स्थानीय तिमिल्सैनाले कुलपूजा गर्ने मन्दिर भएकाले महिनावारी भएकालाई यो क्षेत्रमा जान निषेध जस्तै भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद तिमिल्सैनाले बताए । ‘पहिले स्कुल माथि थियो, जग्गा दाताले मन्दिर भएकै ठाउँमा जग्गा दिए, त्यसैले तल सार्‍यौं,’ उनले भने, ‘कसैले महिनावारी भएका बेला यो ठाउँमा जान मिल्छ कि नाइँ भनेर सोध्यो भने हामीले जान मिल्छ भन्न सक्दैनौं ।’ उनले तत्कालका लागि विद्यालय वा मन्दिर सार्ने अवस्था नरहेकाले रीतिथिति मान्नुको विकल्प नभएको जिकिर गरे ।

कुइकास्थित बाल क्लबकी सदस्य रीता ढकालले क्लबका तर्फबाट जनचेतना जगाउन र महिनावारी भएका बेला विद्यालय जाने वातावरण मिलाइदिन वडाध्यक्षलाई आग्रह गरे पनि नमानेको गुनासो गरिन् ।

‘महिनावारीको समयमा छात्राहरूको पढाइ नै छुट्ने भएपछि पटक–पटक वडाध्यक्षलाई पनि यो विषयमा सहजीकरण गरिदिन भन्यौं, तर उहाँले पनि चासो देखाउनुभएन,’ उनले भनिन्, ‘गाउँमा सबैले मानिरहेकै कुरा हो हामीले तोड्न मिल्दैन भनेर वडाध्यक्षले भन्नुभयो । उहाँ पनि महिनावारी भएका बेला स्कुलमा गए देउता लाग्छ भन्नेमा विश्वास गर्नुहुन्छ ।’

वडाध्यक्ष दुर्गाप्रसाद तिमिल्सैना महिनावारी भएका बेला छात्राहरू स्कुल नजाने स्विकार्छन् । ‘पहिलेदेखि नै महिनावारी भएको समयमा छात्राहरू विद्यालय नजाने समस्या रहेछ, म वडाध्यक्ष निर्वाचित भएर आएपछि सबैलाई भेला गरी विद्यालय जानुपर्छ भन्नेबारे एकपल्ट छलफल चलेको हो,’ उनले भने, ‘तर अहिले महिनावारी भएका बेला विद्यालय जान्छन् कि जाँदैनन्, मैले बुझेको छैन ।’

प्रधानाध्यापक रहेकी ५५ वर्षीया बोहोरा २९ वर्षदेखि यही ठाउँमा अध्यापन गराइरहेकी छन् । २९ वर्षअघि कैलालीबाट जागिरको सिलसिलामा अछाम आउँदा लामो समयसम्म आफैं पनि छाउगोठमा बस्नुपरेको अनुभव उनको छ । ‘पहिले यो ठाउँमा महिनावारी भएको समयमा विद्यालयमा पढाउन जान नै वञ्चित गरियो । देवताका कारण जे जे समस्या आउँछ म आफैं जिम्मेवारी लिन्छु भनेर म भने जोखिम मोलेरै पढाउन जान थालें । त्यतिबेला आफूलाई बदल्न सकें । समाजलाई अहिलेसम्म पनि बदल्न सकिएन,’ उनले भनिन्, ‘म आफ्नै कारणले बिहे नगरी बसें, तर यहाँका स्थानीयले छाउ भएका बेला स्कुलमा गएर पढाउन थाली त्यही भएर यसको बिहे भएन भनेर अहिलेसम्म पनि सुनाउँछन् ।’

विद्यालयमा २ जना शिक्षिका भएकाले सुरुवाती दिनमा दुवैले विभिन्न खालका आरोप खेप्नुपरेको उनले बताइन् । ‘अहिले महिनावारी भएका बेला जमुना मेडम पनि विद्यालय आउनुहुन्छ । विद्यार्थी भने आउँदैनन्,’ उनले भनिन्, ‘छात्राहरू महिनावारी भएका बेला विद्यालय नआउने विषयमा सार्वजनिक छलफल हुँदा छात्रालाई विद्यालय जाऊ भन्ने केही हुँदैन । उनीहरू नै आउँदैनन् भनेर दोष देखाउँछन्, तर व्यवहारमा लागू गर्ने आँट कोही अभिभावक र विद्यार्थी गर्दैनन् ।’

छात्राहरू समाज र अभिभावकको डरले नै महिनावारी भएको समयमा विद्यालयमा आउन नसकेको उनको भनाइ छ । ‘छात्राहरूलाई विद्यालय पठाइदिनुस् भन्दा अभिभावकले हाम्रा छोरीलाई केही भयो भने त्यसको जिम्मा तपाईं लिन्छु भन्नुस्, त्यसपछि मात्र पठाउँछौं भन्नुहुन्छ,’ प्रधानाध्यापक बोहोरा भन्छिन्, ‘उनीहरूका छोरीहरू अरू केही कारणले नै बिरामी भए त समुदायले हामीलाई आरोप लगाउँछ । अरूका सन्तानको जिम्मा लिन पनि त सकिँदैन । समुदायले नै महिनावारीका समयमा विद्यालय आउन रोकेको छ ।’

पञ्चदेवल विनायक–२ की १३ वर्षीया धुर्वा अधिकारी विद्यामन्दिर माविको कक्षा ९ मा पढ्छिन् । विद्यालय गएका बेला महिनावारी भएपछि उनी त्यहाँ बसेर पढ्न सक्दिनन् । ‘स्कुलबाट प्याड दिन्छन् तर प्रयोग गरेपछि फाल्ने ठाउँ छैन । कहाँ कसरी फाल्ने भन्ने धेरै तनाव हुन्छ,’ उनले भनिन्, ‘खुला ठाउँमा प्याड फाल्ने स्थान बनाइएको छ, सहज रूपमा त्यता फाल्न सकिँदैन ।’ महिनावारी भएको समयमा छात्राहरूले भोग्नुपरेका समस्याबारे धेरै पटक जानकारी गराउँदा पनि समाधान नभएको बाल क्लबमा आबद्ध भएकी धुर्वाले बताइन् ।

‘बाल क्लबमा जोडिएका छात्राहरू धेरै पटक यस्ता विषयमा बोल्ने गरेका छौं, तर हाम्रा कुराको सुनुवाइ हुँदैन,’ उनले भनिन्, ‘महिनावारीका कुरा, यौन तथा प्रजनन स्वास्थ्य जस्ता विषयमा हामी अन्य ठाउँमा तालिम लिएर बुझ्छौं । तर स्कुलमा यी विषयबारे सामान्य जानकारी पनि दिइँदैन ।’

महिनावारीको समयमा पढाइ प्रभावित हुने गरेको उनले बताइन् । ‘एक महिनामा पाँच दिनसम्म विद्यालयमा कसरी प्याड चेन्ज गर्ने, कहाँ फाल्ने, पेट दुखे के गर्ने भन्ने तनावमा बित्छ,’ उनले भनिन्, ‘पढाइमा ध्यान नै जान सक्दैन, कतिको त पढाइ छुटिरहेको हुन्छ ।’

महिनावारीको समयमा गोठमा बस्नुपर्ने कारणले पनि पढाइबाट वञ्चित हुन परेको विद्यामन्दिर मावि कक्षा १२ मा पढ्ने पञ्चदेवल विनायक–३ की हरिकला अधिकारीले बताइन् । ‘पहिले छाउगोठ भत्काउने अभियान सुरु भयो, त्योबेला घरमा बस्नुको सट्टा त्रिपाल टाँगेर बस्नुपर्‍यो,’ उनले भनिन्, ‘गोठ भत्काउने अभियान रोकियो,

फेरि ती छाउगोठ बने । यसको मारमा हामी नै पर्‍यौं ।’ रातभर गोठमा बस्नुपर्ने, दिनभरि विद्यालयमा पनि वातावरण अनुकूल नभएकाले छात्राहरूको पढाइ प्रभावित हुने गरेको हरिकला बताउँछिन् । ‘रातभर गोठमा बसेर पढ्न जाने छात्रा मानसिक रूपमा पनि कमजोर हुन्छ,’ उनले भनिन् ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रको प्रतिवेदन २०८० अनुसार सुदूरपश्चिममा कक्षा ९ देखि १२ सम्म १ लाख ८९ हजार ८ सय ९५ विद्यार्थी भर्ना भएका छन् । यसमा ९७ हजार २ सय ५ छात्रामध्ये एक वर्षमा ९ देखि १० कक्षाका २.४ प्रतिशत र ११ देखि १२ कक्षाका १.१ प्रतिशत छात्राले पढाइ छोड्ने गरेका छन् । पुनः कक्षा दोहोरिनेमा ९ र १० कक्षाका २.५ प्रतिशत तथा ११ र १२ कक्षाका ५.३ प्रतिशत छात्रा छन् ।

गरिबी, अशिक्षा, अन्धविश्वास र छोरीलाई धेरै पढाउनु नहुने गलत सोचका कारण धेरै छात्राले पढाइबाट वञ्चित हुनुपरेको मंगलसेन नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत रावलले बताए । ‘छात्राहरूको पढाइ प्रभावित मात्र छैन, कमजोर नै हुन पुगेको छ । यसका लागि स्थानीय तहले ठोस योजना नल्याएसम्म अवस्थामा सुधार हुन गाह्रो देखिन्छ,’ उनले भने ।

प्रकाशित : भाद्र ११, २०८१ ०५:१५
x
×