कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

कुर्सी भाँच्ने, प्रणाली भत्काउने शैली माओवादीको होइन : दाहाल

भाद्र ११, २०८१
कुर्सी भाँच्ने, प्रणाली भत्काउने शैली माओवादीको होइन : दाहाल

Highlights

  • माओवादी रचनात्मक र सिर्जनात्मक प्रतिपक्ष

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई राम्रो काम गरेर देखाउन सरकारलाई आग्रह गर्दै कुर्सी भाँच्ने प्रतिपक्षको रुपमा प्रस्तुत नहुने बताएका छन् ।

प्रमुख प्रतिपक्ष दलको हैसियतले प्रतिनिधिसभामा मंगलबार विशेष समय लिएर बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सुशासनले बाटो बिराएको, विद्युत महसुल उठाउन विवाद उन्पन्न गएको आरोप समेत लगाए ।
‘हामी रचनात्मक र सिर्जनात्मक प्रतिपक्ष बन्नेछौं, यो सम्मानित संसदमा जनताको आवाज बन्नेछौं । आफू बस्न नपाएपछि कुर्सी नै भाँच्ने, प्रणाली नै भत्काउने शैली र चरित्र हाम्रो होइन,’ उनले भने,'देशको हितमा राम्रो गर्नोस्, हामी साथ दिन्छौं । संविधान निर्माणका बेला म प्रमुख प्रतिपक्षी दलकै नेता थिएँ तर कतिपय अवस्थामा मैले सत्ता पक्षबीचमै पनि संयोजनकारी भूमिका निर्वाह गरेँ । त्यो भूमिका यो संसद र इतिहासमा लिपिबद्ध छ । शान्तिप्रक्रियाको तार्किक निरुपणमा सरकारको सकारात्मक भूमिकालाई मैले रोस्टमबाटै खुला प्रशंसा र समर्थन गरिसकेको छु ।’
उनले विश्वविद्यालयहरुमा सकारात्मक परिवर्तनका लागि अग्रसरता लिन, उद्यमशीलताका लागि आवश्यक नीतिगत र व्यवहारिक सुधारमा गर्न सुझाव दिँदै सरकारलाई अहंकार त्याग्न आग्रह गरे ।
‘सरकारका प्राथमिकताहरु विवेक होइन, अहंकार, इगो र स्वार्थसमूहको प्रभावले तय भइरहेका छन्, जनतासाग क्षमायाचनासहित सच्याउनोस् । विद्युत प्राधिकरणमा जे गर्न खोज्नुभयो र खोज्दै हुनुहुन्छ, रोक्नोस्’ दाहालको आग्रह थियो, ‘भुटानी शरणार्थी काण्डलाई जता पुर्‍याउन र इमान्दार प्रहरीलाई जसरी दण्डित गर्न खोज्दै हुनुहुन्छ, त्यो नगर्नोस् । विश्वविद्यालयमा मेरिटोक्रेसी मिच्दै हुनुहुन्छ, रोकिनोस् । गिरीबन्धुलगायतका नीतिगत भ्रष्टाचारहरुमा रफु भर्दै हुनुहुन्छ, सुध्रिनोस् । हिजो आफैं प्रधानमन्त्री हुादा बनाएका वैदेशिक श्रमका मापदण्ड मानवतस्करका लागि उल्ट्याउँदै हुनुहुन्छ, त्यता नलाग्नोस् । अझै पनि सुध्रिनोस् र सच्चिनोस् ।’

प्रकाशित : भाद्र ११, २०८१ १५:१२
x
×