कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

बाघको निसानामा केटो

भाद्र ११, २०८१
बाघको निसानामा केटो

(चितवन) — कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघले गैंडाको बच्चा (केटो)लाई लखेटेको र माउ गैंडाले जोगाउन खोजेको भिडियो हालै सामाजिक सञ्जालमा भाइरल भयो । साउन २३ गते बाघले आक्रमण गरेको गैंडाको उक्त बच्चा अन्दाजी एक महिना जतिको थियो । आक्रमणमा घाइते पछि उद्धार गरेर उपचार गरे पनि तीन दिनपछि साउन २६ मा केटो मर्‍यो । कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठ यो घटनापछि चिन्तित भए ।

‘विश्वमै गैंडा र बाघ दुर्लभ वन्यजन्तु हुन् । एउटा दुर्लभ प्राणीको बच्चा अर्को दुर्लभ प्राणीको सिकार हुँदा यसै बस्न हुँदैन झै लाग्छ । उपाए छ भने बाघबाट गैंडाको बच्चा जोगाउनु पर्छ,’ अध्यक्ष श्रेष्ठले भने । त्यसैले उनले निकुञ्जका प्रमुखलाई पनि भेटेर कुरा राखे । उनलाई लाग्छ वनभित्र घाँसे मैदान राम्रो भए बाघले गैंडाका बच्चा मार्ने घटना हुँदैन थियो ।

‘रुख र झाडीहरु भएको ठाउँमा गैंडाले मेसो नपाउँदा बच्चा जोगाउन गाह्रो हुन्छ । खुला घाँसे मैदान भए बाघ आएको झट्टै मेसो पाएर माउले खेदिहाल्छ, बच्चा जोगिन्छ,’ अध्यक्ष श्रेष्ठले भने । घाँसे मैदान व्यवस्थापनका लागि वन समितिसँग बजेट र औजार भए पनि निकुञ्जको स्वीकृति कुरेर बसेको उनले बताए ।

बाघले गैंडाको बच्चालाई आक्रमण गरेको यो नौलो घटना हैन । सौराहा आडको बाघमारा मध्यवर्ती सामुदायिक वन गैंडाको राम्रो बासस्थल हो । यो वनमा बच्चासहितको माउ गैंडा बस्ने गरेको वन समितिका अध्यक्ष जितु तमाङ बताउँछन् । हालसालै पनि बच्चा साथ लिएर हिँड्ने ६ वटा माउ गैंडा त्यहाँ छन् । यो वनमा पनि बाघले गैंडाको बच्चालाई आक्रमण गरेको छ । आक्रमणमा परेको बच्चा उद्धार र उपचारपछि धन्न जोगियो । २०८० असार १ गते बाघमारा वनमा बाघले आक्रमण गरेको अन्दाजी १५/२० दिनको गैंडाको भाले बच्चा भेटियो । ‘मैले सुनेको र थाहा पाए अनुसार बाघमारामा गैंडाको बच्चा बाघले आक्रमण गरेको यो पहिलो घटना हो,’ अध्यक्ष तमाङले भने । तत्काल उद्धार र उपचार पाएका कारण यो घाइते बच्चा बच्यो ।

सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा स्याहार भइरहेको यो बच्चाले नाम पाएको छ ‘राम’ । रामका अन्य दुई साथी पनि छन् त्यहाँ । यी सबैको कथा एउटै हो । बाघले आक्रमण गर्दा घाइते भएका कारण उनीहरुलाई उद्धार गरेर उपचार गरियो र निको भएपछि कोषको कार्यालय वरपर रमाइरहेका भेटिन्छन् ।

‘राम’लाई उद्धार गरेको एक महिनाअघि २०८० जेठ ३० मा भरतपुर देवनगर बाटुलीपोखरी नजिकको वनमा १५/२० दिनको गैंडाको भाले बच्चा भेटियो । त्यसलाई पनि बाघले आक्रमण गरेर घाइते बनाएको थियो । देवनगरमा फेला परेका कारण उपचारपछि निको भएको उक्त बच्चा गैंडालाई ‘देव’ भन्न थालियो । ‘राम’ र ‘देव’भन्दा अघि नै त्यहाँ अर्को त्यस्तै गैंडाको बच्चा आइसकेको थियो । विस २०७९ कात्तिक १७ गते सौराहा राप्तीघाट नजिक अन्दाजी तीन महिना जतिको गैंडाको पोथी बच्चा बाघले आक्रमण गरेर घाइते भएको अवस्थामा भेटियो ।
बाघमारा मध्यवर्ती सामुदायिक वनमा चित्तलको बथान आडमा चर्दै गरेको गैंडा र आडमा रहेको गैंडाको बच्चा । चित्तल बाघको मुख्य आहारा हो । गैंडाको बच्चालाई पनि बाघले मार्ने गरेको छ । तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर ।

उपचारले निको भएको त्यसले ‘पूजा’ नाम पाएको छ । बाघले आक्रमण गरे पनि उद्धार भएर उपचारपछि निको भएका ‘पूजा’ ‘राम’ र ‘देव’ सौराहामा रमाइरहेका छन् । उद्धार भए पनि बचाउन नसकेको र उद्धारनै नभइ मरेका घटना पनि उत्तिकै छन् । चितवन निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा बाघले आक्रमण गर्दा गैंडाका चार बच्चा मरेका छन् । त्यसअघि गैंडाका सातवटा बच्चालाई बाघले मारेको थियो ।

आर्थिक वर्ष ०७२/७३ देखि ०८०/८१ का नौ वर्षमा चितवन निकुञ्ज र यस आसपासमा विभिन्न कारणले २ सय ४७ गैंडा मरेका छन् । तीमध्ये बाघको आक्रमणमा परेर मरेका गैंडाका बच्चाको संख्या १६ रहेको निकुञ्ज कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालय प्रमुखसमेत भएर हाल अवकाश पाएका चितवनका संरक्षणकर्मी रामकुमार अर्याल बाघबाट बच्चा जोगाउन गर्भवती गैंडा निकुञ्जमा नबसेर बाहिरी क्षेत्रका वनमा निस्कने गरेको अनुभव सुनाउँछन् ।

‘निकुञ्जभित्र घनाजंगल हुने हुँदा बाघको आक्रमणबाट बच्चालाई जोगाउन माउ गैंडा निकुञ्ज बाहिरका जंगलमा निस्कन्छन् । बाहिरका जंगलमा पहिला चरिचरन पनि हुन्थ्यो । मान्छेको गतिविधि बढी हुन्थ्यो । मान्छे धेरै भएका ठाउँमा बाघ बस्ने गर्दैन । यस्ता जंगल गैंडाका लागि बच्चा हुर्काउन उपयुक्त हुन्थर्,’ अर्यालले भने । तर अहिले निकुञ्ज आसपासका जंगल पनि घना हुँदै आए ।

तीन तर्फबाट मानव बस्ती भएको बाघमारा जंगलमा बाघ खासै नबस्ने र अरु जंगली जनावर धेरैनै पाइने वनका अध्यक्ष जितु तमाङले बताए । त्यसैले यो वनमा गर्भवती र सुत्केरी गैंडा भेटिने गरेको उनले बताए । तर अचेल बच्चा जोगाउन गैंडा निकुञ्ज बाहिर निस्के पनि बाहिरका जंगल पनि बोटबिरुवाले ढाकेर घना हुँदै जाँदा ती वनमा पनि बाघ बस्न थालेको छ । त्यस्ता वन केटोलाई पहिलाको जस्तो सुरक्षित भएनन् । ‘बाघ बढेसँगै त्यसको प्रभाव के कस्तो छ ? बाघको बासस्थल कसरी फैलने या खुम्चने गरेको छ ? यसको प्रभाव अन्य प्रजातिमा कस्तो परेको छ भनेर अध्ययन गर्ने र त्यही अनुसारको निकुञ्ज व्यवस्थापन नीति ल्याउनु पर्ने देखिन्छ,’ अर्यालले भने । गैंडाको बच्चा तीन वर्षसम्म माउसँगै रहन्छ । पहिलो वर्षसम्म बाघले झम्टने खतरा धेरै हुन्छ । अझ गोहीले पनि गैंडाको बच्चा मार्छ ।

चितवन निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारी बाघको आक्रमणमा गैंडाको बच्चा परेको विषयलाई समस्याका रुपमा लिन नहुने धारणा राख्छन् । बाघको मुख्य आहारा मृग प्रजातिका चित्तल, जरायो, लगुना तथा गौर हुन् । सहायक आहारामा बँदेल र ठूला जनावरका बच्चा पनि पर्छन् ।

‘त्यसैले यो जंगलभित्र हुने एउटा प्राकृतिक गतिविधि नै हो । कहिलेकाँही गैंडाका बच्चा पनि बाघको आहारा बन्छन्,’ तिवारीले भने । गैंडाविज्ञ नरेश सुवेदी पनि बाघले गैंडाका बच्चालाई गर्ने आक्रमणको विषय चिन्ताजनक नभएको बताउँछन् । गैंडाको विषयमा विद्यावारिधी (पिएचडी) गरेका सुवेदी हाल राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव छन् ।

‘मैले अध्ययन गर्दा जन्मेका मध्ये १५ प्रतिशत गैंडाका बच्चा बाघको आक्रमणमा पर्ने देखिएको थियो, त्यो अहिले केही बढेको पनि हुन सक्छ । तर यसैका कारणले ठूलो समस्या आएको छैन,’ उनले भने । चितवन निकुञ्ज स्थापना भएको ५१ वर्ष भएको छ । सामुदायिक वनहरु विकास भएको पनि ३० वर्ष भएको छ । अहिले निकुञ्ज र त्यसआडका मध्यवर्ती सामुदायिक वन एकै खालका भएका छन् ।

‘निकुञ्जभन्दा अलि कमजोर, कम घना वन जहाँ पशु चौपाया चर्थे, मान्छेले घाँस दाउरा गर्थे ती वनमा बच्चा जोगाउन गैंडा पनि आउँथे । अहिले त निकुञ्ज र अन्य वन बराबर भए । यस्तो बेलामा गैंडाका बच्चा कसरी जोगाउने ? यसमा ध्यान दिन आवश्यक छ झै लाग्छ,’ संरक्षणकर्मी रामकुमार अर्यालको मत छ ।

प्रकाशित : भाद्र ११, २०८१ १६:५०
x
×