कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

लेखा समिति सभापति परिवर्तन गर्न माग

भाद्र १०, २०८१
लेखा समिति सभापति परिवर्तन गर्न माग

काठमाडौँ — सार्वजनिक लेखा समितिको सभापति पद विपक्षी दललाई दिनुपर्ने माग उठेको छ । समितिको आइतबारको बैठकमा माओवादीले लेखा समितिको सभापति विपक्षी दलबाट हुने संसदीय अभ्यास स्मरण गराएको छ । त्यसलाई एमालेले प्रतिवाद गरेको छ भने कांग्रेसले राजनीतिक सहमति गर्नुपर्ने जनाएको छ ।

लेखा समितिको सभापतिमा अहिले एमालेका ऋषिकेश पोखरेल छन् । सभापति चयन हुँदा एमाले प्रमुख प्रतिपक्षी दल थियो, असार अन्तिमदेखि भने सत्ताको नेतृत्व गरिरहेको छ । आइतबारको बैठकमा माओवादी सांसद लेखनाथ दाहालले लेखा समितिको सभापति प्रतिपक्षी दललाई दिन आग्रह गरेका थिए ।

त्यसपछि एमालेका सांसद योगेश भट्टराईले लेखा समितिको सभापति पद प्रतिपक्षले माग्नुलाई ‘बेतुकका कुरा’ भनी टिप्पणी गरे । शीर्ष नेताहरूबीच सहमति भए सभापति पोखरेलले राजीनामा गर्ने उनको भनाइ थियो । ‘सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलको हुन्छ भन्ने विदित छ । त्यो कुरा एमालेलाई पनि थाहा छ । हामीले कतिपय परम्परा मिच्दै आएका छौं र अन्य ढंगले पनि आएका छौं । २०७९ सालको निर्वाचनपछि समितिहरूको सभापतिमा कुनै निर्वाचन भएको होइन, सहमतिपूर्वक आएको हो,’ भट्टराईले भने, ‘यसमा राजनीतिक दलको नेतृत्वको बीचमा पुनः अर्को केही सहमति हुन्छ भने सभापति एक मिनेट पनि बस्नुपर्छ भन्ने लाग्दैन ।’

माओवादी सांसद अमनलाल मोदीले पनि लेखा समिति सभापति विपक्षी दललाई दिनुपर्ने तर्क राखे । उनले भने, ‘विगतमा कसैले गरेको कुनै किसिमको गल्ती दोहोर्‍याउने कि सच्याउने ?’ उनले भने, ‘सार्वजनिक लेखा समिति सभापति प्रतिपक्षलाई दिनुपर्छ, यसमा किन्तु परन्तु केही छैन ।’ एमाले सांसद गोकुल बाँस्कोटाले लेखा समिति सभापति माग्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि परिवर्तन गर्नुपर्ने तर्क गरे । ‘फेर्ने कुरा सहमति बनाएर फेर्नुस्, अनि कुरा गरौंला,’ उनले भने । राष्ट्रिय सभा अध्यक्षमा राष्ट्रपतिबाट मनोनीत नारायणप्रसाद दाहाल छन् । उनी माओवादी केन्द्रका नेता थिए भने उपसभामुखमा रास्वपामा आबद्ध इन्दिरा राना छिन् ।

कांग्रेस सांसद अर्जुननरसिंह केसीले भने माओवादी सांसदहरूले उठाएको विषय सैद्धान्तिक रूपमा सही भएको बताए । संसदीय अभ्यासमा लेखा समितिको सभापति विपक्षी दलको हुने उल्लेख गर्दै उनले अघिल्लो संसद्मा कांग्रेसका सभापति हुँदा एमालेले समितिको बैठक बहिष्कार गरेको स्मरण गराएका थिए ।

पोखरेलले भने सभापति परिवर्तनको कुरा नउठाउन माओवादी र कांग्रेसका सांसदहरूलाई आग्रह गरेका थिए । ‘सभापति चाहिने भए आफ्ना अध्यक्षहरू प्रचण्ड र देउवाका अगाडि भाषण गर्नुहोला । पार्टीका अध्यक्षहरू अगाडि १ घण्टा भाषण गर्नुहोला, समितिमा फेरि यो विषय नउठाइदिनुहोला,’ उनले भनेका थिए ।

आफ्नो राजीनामाका विषयमा माओवादी सांसदले अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सांसदले सभापति शेरबहादुर देउवासँग कुरा गर्नुपर्ने पोखरेलको भनाइ थियो । आफूले कुनै दलमा निवेदन हालेर सभापति नमागेकाले फिर्ता बोलाउने अधिकार एमालेसँग मात्रै रहेको उल्लेख गर्दै उनले राजीनामा माग्न कांग्रेस र माओवादीलाई नैतिकताले नमिल्ने बताए । लेखा समितिको बैठकमा यसअघि सभापति पदलाई लिएर विवाद उठेको थिएन ।

प्रकाशित : भाद्र १०, २०८१ ०५:२३
x
×