कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

नारायणगढ-मुग्लिन सडक : पहिरोबिनै खसिरहन्छ ढुंगा

भाद्र १०, २०८१
नारायणगढ-मुग्लिन सडक : पहिरोबिनै खसिरहन्छ ढुंगा

चितवन — नारायणगढ–मुग्लिन सडकमा पहिरोबिनै ढुंगा खसेर गुडिरहेको गाडीमा बज्रने समस्या देखिएको छ । यो बर्खामा पहिरोबिनै खसेका ढुंगा गाडीमा लागेर ज्यानै जानेसम्मका घटना भएका छन् । विशेषगरी सत्रकिलोमा ढुंगा खसेर गाडीमा लाग्ने समस्या छ । अन्यत्र पनि ढुंगा खसेर गाडी र मोटरसाइकललाई लागेका घटना धेरै छन् । 

नारायणगढ–मुग्लिन खण्डको खोरखोलामा सडकमाथिबाट खसेको ढुंगाले आइतबार बिहान नारायणगढबाट काठमाडौं जाँदै गरेको मोटरसाइकललाई लाग्यो ।

मोटरसाइकल चालक रत्ननगर नगरपालिका–२ का आशिक मियाँको बायाँ हातमा सामान्य चोट लागेको छ । चोट ठूलो नभएकाले केही बेरपछि उनी गन्तव्यतर्फ लागेको चितवन प्रहरीले जनाएको छ ।

सडकमाथिबाट खसेको ढुंगा लागेर शुक्रबार ठूलै दुर्घटना भयो । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा अचानक खसेको ढुंगाले लाग्दा अनियन्त्रित भई बस सडकमै पल्टिएको थियो । रौतहटको गौरबाट पोखरा जान लागेको बस पल्टिँदा २५ यात्रु घाइते भए । सत्रकिलोमै यही भदौ ५ मा यस्तै प्रकृतिको घटना भएको थियो । काठमाडौंबाट भरतपुर आउँदै गरेको माइक्रोमाथि ढुंगा खस्दा अगाडिको सिसा चर्कियो ।

दुई बालबालिका सामान्य घाइते भए । भदौ ४ मा इच्छाकामना गाउँपालिका–५ स्थित यही सडकको तीन नम्बर पुलनजिक गुडिरहेको कारमाथि ढुंगा खस्दा चालक सामान्य घाइते भएका थिए ।

सिमलतालमा पहिरोमा परेर त्रिशूली नदीमा दुईवटा बस खसेकै दिन गत असार २८ बिहान सत्रकिलोमा माथिबाट खसेको ढुंगाले लागेर बुटवलबाट काठमाडौं जाँदै गरेको बसका चालकको ज्यानै गएको थियो । चालकको मृत्यु भए पनि बस रोकिएका कारण अन्य यात्रु भने जोगिए । बस अनियन्त्रित भएको भए त्रिशूलीमा खस्ने खतरा थियो ।

‘सत्रकिलो वरपर ढुंगा खस्ने समस्या अलि बढी छ । लगातार जस्तो घटना भएका कारण मैले समस्या बुझ्न सडक डिभिजनमा भनेको छु,’ चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने । प्रजिअको निर्देशनपछि आफूहरूले सत्रकिलो क्षेत्रमा पहाडको माथिल्लो खण्डमा गएर हेरेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले बताए । ‘त्यहाँ माथि न पहिरो छ, न त ग्रामीण सडक नै खनेको छ । त्यो ठाउँ घाँस र झाडीले छोपेको छ,’ उनले भने । तत्कालै खस्न लागेको या छिट्टै खस्लान् भन्ने खालका ढुंगा नदेखिएको पौडेलले बताए ।

तर, सानाठूला ढुंगा सडकमा खस्ने घटना भने बढेका छन् । पानी परेर रोकिएपछि चर्को घाम लागेका बेला ढुंगा खस्ने गरेको डिभिजन सडकका इन्जिनियर सागर कार्कीले बताए । अरू बेला सुक्खायाममा डढेलो लागेपछि पहाडबाट ढुंगा खस्ने गरेको छ । नारायणगढ–मुग्लिन सडक (३६ किलोमिटर) को १५ ठाउँमा ढुंगा खस्ने समस्या रहेको र सजग रहन सूचना बोर्डहरू राखेको कार्कीले बताए ।

चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र ओलीले सडकलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले ध्यान दिनुपर्ने बताए । ‘ज्यान नै जोखिममा परेपछि मान्छेले यात्रा कम गर्छ, जसले व्यापार व्यवसाय, पर्यटन जस्ता आर्थिक क्रियाकलाप बढाउने क्षेत्रमा असर पर्छ,’ उनले भने, ‘ समस्या बर्खामा आउँछ । सबै चिन्तित हुन्छन् । यस्ता समस्या हल गर्न तत्कालै केही गर्न सकिँदैन, ठोस योजना बनाउनुपर्छ । बर्खा सकिएपछि समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्छ ।’

प्रकाशित : भाद्र १०, २०८१ ०५:४३
x
×