कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

रामेछापको पहिरोमा ६ जनाको मृत्यु, ४ बेपत्ता

भाद्र १०, २०८१
रामेछापको पहिरोमा ६ जनाको मृत्यु, ४ बेपत्ता

Highlights

  • ६५ परिवारका १८० जना विस्थापितलाई विद्यालय र पालिकाको खाली कोठामा व्यवस्थापन

दोलखा — शनिबार राति आएको पहिरोमा परी रामेछापको पश्चिमी क्षेत्रमा पर्ने दोरम्बा शैलुङ गाउँपालिका–३ स्थित लेखर्क गाउँका ६ जनाको मृत्यु भएको छ भने ४ बेपत्ता छन् । पहिरोले ६ घर बगाएको छ ।

मृत्यु हुनेमा ३२ वर्षीया चण्डिका थापामगर र उनका डेढ वर्षीय छोरा आमुस, ४० वर्षीया उर्मिला पहरी, उनका छोराहरू १८ वर्षीय विज्ञान, १७ वर्षीय सन्दीप र १४ वर्षका सन्तोष रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा ७५ वर्षीय फड्के पहरी, ५५ वर्षीय काले पहरी, ५४ वर्षीया झ्याँउकिरी पहरी र २३ वर्षीय विन्दा पहरी छन् । चण्डिकाको घरमा बस्दै आएकी छिमेकी १० वर्षीया अन्जना पहरीको उद्धार गरिएको छ । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । आइतबार बिहानैदेखि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बेपत्ताहरूको खोजी गरे पनि फेला पर्न सकेका छैनन् । पहिरोमा परी एक सयभन्दा बढी चौयापा र पशुपन्छी मरेको पालिकाले जनाएको छ ।

पहिरोका कारण लेखर्क गाउँ नै विस्थापित भएको छ । गाउँका ६५ परिवारका १ सय ८० जनाभन्दा बढीलाई गाउँपालिका नजिकैको कण्ठेश्वर मावि र पालिकाको खाली कोठामा व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले बताए । पहिरोले गाउँ पुग्ने सबै सडक सञ्जाल क्षतिग्रस्त बनाएको छ । वडा–२ र ३ जोड्ने ढाइगाउँको मोटरेबल पुल पहिरोसँगै आएको बाढीले बगाएको छ । बाढीले छाङ खोला र घट्टे खोलाको पुल पनि बगाएको छ ।

‘पहिरोले लेखर्कका सबै घरमा चिरा परेको छ । कतिपय घर बग्ने अवस्थामा छन्,’ अध्यक्ष मोक्तानले भने, ‘तत्कालका लागि गाउँका सबै पीडितलाई विद्यालय र पालिकामा राखेका छौं । उनीहरूको खानपानको व्यवस्था पालिकाले गर्नेछ ।’ अधिकांश घर र जमिन चिरा परेकाले स्थानीयलाई स्थान्तरणबाहेक विकल्प नरहेको उनले बताए । पहिरोले वडा–२ स्थित भँडारे गाउँमा पनि ६० परिवार विस्थापित भएका छन् । अध्यक्ष मोक्तानका अनुसार उनीहरूलाई तत्कालका लागि नजिकैको विद्यालय र चौरमा अस्थायी छाप्रो बनाएर सारिएको छ । ‘दोरम्बाका सडक र पक्की पुल बाढीपहिरोले क्षतविक्षत बनाएको छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले सोमबारदेखि पहिरोपीडितलाई अस्थायी आवास र खाद्यान्नलगायत व्यवस्थापन गर्ने बताइन् । लेखर्क गाउँको भौगोलिक अवस्था अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम व्यवस्थापन प्राधिकरणलाई आग्रह गर्ने उनले जानकारी दिइन् ।

‘गाउँ चारैतिर पहिरोले घेरिएको छ, जमिन चिरा परेका छन् । स्थलगत अध्ययनका क्रममा तत्काल बस्न नमिल्ने देखिएकाले सबैलाई तल झारेका हौं,’ उनले भनिन् । सोही स्थान हुँदै आएको बाढीले रामेछाप र दोलखा जोड्ने पुष्पलाल मार्गको मोटरेबल पुलमा पनि क्षति गरेको छ । यस्तै मिल्तीका ५ वटा पसलमा बाढीले क्षति गरेको उनले बताइन् । पुल मर्मत र आवागमन सहज बनाउन काम सुरु भएको प्रजिअ निरौलाले जानकारी दिइन् ।

प्रकाशित : भाद्र १०, २०८१ ०५:१९
x
×