कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

शीर्ष नेताबीच सहमति भए लेखा समिति सभापति एक मिनेटमै राजीनामा गर्नुहुन्छ : भट्टराई

शीर्ष नेताबीच सहमति भए लेखा समिति सभापति एक मिनेटमै राजीनामा गर्नुहुन्छ : भट्टराई

Highlights

  • प्रतिपक्षी दलका सांसदहरूलाई सभापतिका विषयमा 'बेतुकका कुरा' नगर्न भट्टराईको आग्रह

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका विषयमा शीर्ष नेताहरूबीच सहमति भएमा अहिलेका सभापति ऋषिकेश पोखरेलले राजीनामा गर्ने बताएका छन् । 

एमाले सांसद लेखा समिति सभापति रहेको र एमालेकै नेतृत्वमा सरकार चलिरहेको सम्बन्धमा संसदीय समितिको आइतबारको बैठकमा कुरा उठेपछि एमाले सचिव भट्टराईले शीर्ष तहमा सहमति भए तत्काल राजीनामा दिने बताए ।

'सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलको हुन्छ भन्ने विदित छ । त्यो कुरा एमालेलाई पनि थाहा छ । हामीले कतिपय परम्परा मिच्दै आएका छौं र अन्य ढंगले पनि आएका छौं । २०७९ सालको निर्वाचनपछि समितिहरूको सभापतिमा कुनै निर्वाचन भएको होइन सहमतिपूर्वक आएको हो,' भट्टराईले भने, 'यो सहमतिबाट भएको हो । यसमा राजनीतिक दलको नेतृत्वको बीचमा पुनः अर्को केही सहमति हुन्छ भने सभापति एक मिनेट पनि बस्नुपर्छ भन्ने लाग्दैन । उहाँ राजीनामा गर्नहुन्छ ।'

समिति सभापति पोखरेलले राजनीतिक दलका नेताहरूबीच सहमति भएमा पद हस्तान्तरण गर्ने र पार्टीले पनि तत्काल छोड्न भन्ने भट्टराईले बताए ।

प्रतिपक्षका सांसदहरूले सभापतिका विषयमा प्रश्न उठाएर दबाब बढाउने नीति लिनु सही नहुने पनि भट्टराईको भनाइ थियो । 'पटक-पटक यस्तो कुरा उठाएर सभापतिलाई दबाबमा राख्नुको औचित्य छैन । सम्बन्धित पार्टी नेतृत्वले कांग्रेस र एमालेको नेतासँग बसेर यो कुरा सेटल गरे हुन्छ । पटकपटक चिमोटिरहनुको औचित्य छैन ।'

सार्वजनिक लेखा समितिको सभापति सत्तापक्षको हुनु हुँदैन भन्ने प्रतिपक्षी दलका सांसदहरूको कुरा 'बेतुकको' भएको पनि सांसद भट्टराईको आरोप थियो । प्रतिपक्षी दलका सांसदहरूलाई संसदीय समितिका सभापतिका विषयमा 'बेतुकका कुरा'नगर्न पनि भट्टराईले भनेका थिए । उनले प्रतिपक्षी दलका सांसदहरूलाई भने, 'पार्टीको माथिल्लो नेतृत्वमा सहमति गर्नुस्, हामी त्यो निर्णय पालना गर्न तयार छौं ।'

प्रकाशित : भाद्र ९, २०८१ १४:३५
x
×