कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

लेखा समिति सभापति चाहिने भए प्रचण्ड र देउवासामु गएर १ घण्टा भाषण गर्नुहोस् : पोखरेल

लेखा समिति सभापति चाहिने भए प्रचण्ड र देउवासामु गएर १ घण्टा भाषण गर्नुहोस् : पोखरेल

काठमाडौँ — सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्नो पदमाथि प्रश्न उठाएकोमा आपत्ति जनाएका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदले सार्वजनिक लेखा समिति सभापति विपक्षी दलको हुनुपर्ने माग गरेका थिए भने कांग्रेसका सांसदले संसदीय अभ्यासमा लेखा समितिको नेतृत्व प्रतिपक्षले पाउने स्मरण गराएका थिए ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा सभापतिबाट पोखरेलले राजीनामा गर्नुपर्ने बताएका थिए । सभापति पोखरेलले भने यस्तो विषय फेरि नउठाउन भनेका थिए । 'सभापतिको विषय फेरिदेखि नउठाइदिनुहोला । सभापति चाहिने भए आफ्ना अध्यक्षहरू प्रचण्ड र देउवा अगाडि भाषण गर्नुहोला । आफ्ना पार्टीका अध्यक्षहरू अगाडि १ घण्टा भाषण गर्नुहोला, समितिमा फेरि यो विषय नउठाइदिनुहोला भन्ने आग्रह गर्दछु,' उनले भने ।

आफूले कुनै पार्टीमा निवेदन हालेर लेखा समितिको सभापति पद नमागेको पनि पोखरेलको भनाइ थियो । उनले राजनीतिक पार्टीमा जे निर्णय र सहमति हुन्छ त्यो मान्ने तर समितिमा उठाएकै भरमा राजीनामा नदिने अडान राखे । सभापतिमा सत्ताको छाया पर्न नहुनेमा आफू सचेत रहेको पनि पोखरेलको भनाइ थियो । 'सभापतिको कुर्सीबाट निर्णय दिने कुरामा सत्ताको कुनै छाया पर्नु हुँदैन भन्ने कुरामा म सचेत छु । त्यो छाया पर्न आजका मितिसम्म दिएको छैन होला भन्ने विश्वस्त छु,' उनले भने ।

समितिमा माओवादी केन्द्रका सांसदहरू अमनलाल मोदी र लेखनाथ दाहालले विषक्षलाई सार्वजनिक लेखा समितिको सभापति दिनुपर्ने विषय राखेका थिए । एमालेका सांसद गोकुल बास्कोटा र योगेश भट्टराईले भने प्रतिपक्षलाई समिति सभापति दिन नसकिने अडान राखेका थिए । बास्कोटाले सार्वनिक लेखा समिति सभापति माग्ने भए उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष पनि परिवर्तन गर्नुपर्ने भनेका थिए भने भट्टराईले सार्वजनिक लेखा समिति सभापति माग्नु प्रतिपक्षको 'बेतुकको कुरा' भएको बताएका थिए ।

कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भने सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षलाई दिने संसदीय अभ्यास रहेकाले माओवादीका सांसदहरूले उठाएको विषय सही भएको बताएका थिए । यसअघीको प्रतिनिधिसभामा एमालेले संसदीय समिति बैठक बहिष्कार गरेको कुरा केसीले स्मरण गराएका थिए ।

प्रकाशित : भाद्र ९, २०८१ १६:१४
x
×