कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

एमालेसँग सहकार्य गर्नु नै गलत : दाहाल

एमालेसँग सहकार्य गर्नु नै गलत : दाहाल

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतमा एमालेसँग सहकार्य गर्नु गलत भएको बताएका छन् । कांग्रेससँगको सहकार्य लामो समय जान नसक्ने देखेरै आफूले वाम एकताका लागि एमालेसँग गठबन्धन गरे पनि त्यो सहकार्य गर्नु गलत भएको बताएका हुन् ।

वाग्मती प्रदेशका केन्द्रीय सदस्य र पदाधिकारीबीच बुधबारबाट सुरु दुईदिने परामर्श बैठकमा दाहालले एमालेसँग गठबन्धन गर्नु गलत भएको स्विकार गरेका हुन् । ‘कांग्रेससँग लामो समय जाँदैन भन्ने लागेर एमालेसँग सहकार्य सुरु भयो । मित्रहरूले केपी शर्मा ओलीको जिम्मा लिन्छौं, वामहरू मिलौं भनेपछि मैले पनि पत्याएँ,’ उनले भने, ‘त्यतिबेला एमालेसँग गठबन्धन गर्नु गल्ती भएछ । उसको नियत नै बुझ्न सकिएन ।’

प्रधानमन्त्री ओलीले धोका दिए पनि वामपन्थी एकताका लागि आफूले निरन्तर जोड दिइरहने उनले बताए । ‘मुद्दा मिल्नेसँग मोर्चा गरेर जाने हो । विचार मिल्नेसँग वाम एकता गर्ने हो,’ दाहालले भने ।

२०७९ को आमनिर्वाचनपछि कांग्रेसले प्रधानमन्त्री बनाउन नमानेपछि एमालेको सहयोगमा आफू प्रधानमन्त्री बनेको र त्यही कारणले पछिल्लो समय कांग्रेसले एमालेसँग गठबन्धन गरेको पनि दाहालको बुझाइ छ । ‘मैले त राम्रै नियतले एमालेसँग गठबन्धन गरेको थिएँ । तर त्यो धोका भयो,’ उनको भनाइ थियो ।

अब माओवादी आफैं सरकार बनाउन नलाग्ने र सरकार बनाउन माओवादीको खोजी गर्नुपर्ने दिन आउन धेरै समय पनि नलाग्ने उनको भनाइ थियो । ‘सरकारमा छैनौं तर सदनमा छौं । तत्काल सरकारमा जानतिर लाग्नु हुँदैन । तर सरकारमा जानै हुँदैन भन्ने कुरा पनि सही होइन,’ दाहालले भने, ‘सरकारमा जान हतार गर्दैनौं, तर यस्तो दिन आउन पनि समय लाग्ने छैन, जुन दिन सरकार आफैं हामीसँग आउनेछ ।’

उनले माओवादी पार्टी फुट्ने हल्ला अब खारेज भइसकेको पनि बताए । ‘पार्टी फुट्दैछ भन्ने हल्ला वा फुटाइँदैछ भन्ने कुरा खारेज गरिएको छ,’ उनको भनाइ छ । उनले दक्षिण एसियामा भूराजनीतिक ध्रुवीकरण भएको उल्लेख गर्दै माओवादीलाई प्रयोग गरी बर्बाद गर्ने जोखिम भएको बताए ।

‘अमेरिका चीन र रुससँगका अनेक द्वन्द्वमा अल्झिएको छ । अबको विश्व बहुध्रुवीय भइसक्यो । यसले अर्को युद्धको खतरा देखिन्छ । यता दक्षिण एसियामा भने नयाँ खाले भूराजनीतिक ध्रुवीकरणमा गएको छ,’ दाहालको भनाइ थियो, ‘साम्राज्यवादीहरूले हामीलाई प्रयोग र बर्बाद गर्ने खतरा छ । त्यसलाई रोक्ने तागत हाम्रो पार्टीमा मात्र छ ।’

उनले आफ्नो दल सरकारमा बसेर गरेको राम्रो काम रोक्न कांग्रेस–एमाले गठबन्धन बनेको दाबी पनि गरे । ‘१९ महिना सरकारमा बस्दा हामीले गरेका कामबाट तर्सिएर कांग्रेस, एमालेले अब माओवादीलाई यहाँभन्दा अगाडि जान दिन हुँदैन भनेर सरकार गिराएका हुन्,’ दाहालको दाबी छ, ‘सरकारबाट बाहिरिँदा पनि हामी उच्च मनोबलसहित बाहिरियौं । जनताका बीचमा हाम्रो राम्रो छाप छ ।’

उनले कुनै देशको नाम नलिई पश्चिमा शक्तिले केही वर्षअघि श्रीलंका र यसपटक बंगलादेशमा आन्दोलन गराएको टिप्पणी पनि गरे ।

वाग्मती प्रदेश बैठकमा ४० केन्द्रीय सदस्यले पार्टीभित्र प्रणाली नहुँदा समस्या भएको बताएका थिए । सांसद राजन दाहालले पार्टी संगठनहरू समस्यामा परेको उल्लेख गर्दै पदाधिकारी र स्थायी समितिमा खास निकास ननिस्किएको बताए । वाग्मतीका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलले पार्टी नेतृत्व बलियो बनाएर जानुपर्ने बताए भने केन्द्रीय सदस्य युवराज चौलागाईंले पार्टीको संगठन स्वचालित प्रणालीबाट चलाउनु उपयुक्त हुने बताएका थिए । बैठकमा बोल्ने अधिकांश नेताले रूपान्तरणसहितको माओवादी आवश्यक भएको पनि बताए ।

माओवादी केन्द्र किन बिग्रियो ?, आगामी दिनमा कस्तो नीति लिनुपर्छ ?, पार्टीको नेतृत्व युवामा हस्तान्तरण गर्नुपर्छ कि पर्दैन ?, समाजवादी क्रान्तिको आधार कसरी तयार हुन्छ र सत्ताका लागि कांग्रेस, एमालेसँग पालैपालो गठबन्धन गर्नु ठिक कि बेठिक थियो भन्नेजस्ता प्रश्नको सुझाव लिन माओवादीले प्रदेश स्तरीय परामर्श छलफल सुरु गरेको हो । बैठक बिहीबार पनि जारी रहनेछ ।

बुधबारदेखि वाग्मती प्रदेशका पदाधिकारी, केन्द्रीय सदस्यबाट सुझाव लिने क्रम सुरु भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिव जनार्दन शर्मालगायत पदाधिकारी उपस्थित थिए । सातै प्रदेश, विभाग र मोर्चाबाट सुझाव लिएर दाहालले राजनीतिक प्रतिवेदन लेख्ने स्थायी समितिले निर्णय गरिसकेको छ । कांग्रेस एमाले गठबन्धन बनेपछि सरकारबाट बाहिरिएको माओवादीले निरन्तर सरकारमा सहभागी भएपछि संगठनमा पुगेको क्षतिको समीक्षा गरी पार्टीको नीति र कार्यक्रम बनाउने तयारी गरेको छ ।

स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित, सचिव राम कार्कीलगायतले मौखिक रूपमा अध्यक्ष दाहालको नीति र नेतृत्वमाथि प्रश्न उठाएका थिए । दाहालले स्थायी समिति सदस्यहरूले उठाएका विषयलाई प्रदेश र केन्द्रीय समितिमा छलफल गरी राजनीतिक प्रतिवेदनमा समेट्ने प्रतिबद्धता पनि जनाएका थिए ।

स्थायी समितिले सदन र सडकबाट सरकारलाई दबाब दिन र पार्टी सुदृढीकरणका लागि कार्यक्रम बनाउन केन्द्रीय समितिको बैठक असोज पहिलो साता बोलाएको छ ।

प्रकाशित : भाद्र ५, २०८१ २०:४९
x
×