कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

परीक्षा हलमै अध्यापकमाथि हातपात

भाद्र २, २०८१
परीक्षा हलमै अध्यापकमाथि हातपात

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको परीक्षा हलमा गैरपरीक्षार्थी छिरेर अध्यापकमाथि हातपात गरेपछि ठमेलस्थित सरस्वती क्याम्पसको परीक्षा केन्द्र रद्द गरिएको छ । सत्तारूढ एमालेनिकट अनेरास्ववियुका केन्द्रीय सदस्य किङ्गा शेर्पाले परीक्षा निरीक्षक रहेका अध्यापक भीम सुवेदीलाई हातपात गरेको प्रत्यक्षदर्शीहरूले बताए ।

घटनाको सीसीटीभी फुजेटसमेत सार्वजनिक भइसकेको छ । मानविकी संकाय स्नातकोत्तर तहको परीक्षा हलमा प्रवेश गरी शर्माले छातीमा समातेर लछारपछार गरेको एक प्राध्यापकले जनाए ।

‘क्याम्पस प्रमुख पनि सँगै हुनुहुन्थ्यो । दुई तीन जना परीक्षा हलमा छिरे । हाम्रा मान्छेलाई किन सहयोग नगरेको भनेर शेर्पाले दुर्व्यवहार गरे,’ ती अध्यापकले भने, ‘सुवेदी सरको घडीसमेत फुट्यो । उहाँको हातमा रहेको कागजातसमेत खोसेर भुइँमा फालिदिए । साउन १५ को घटना भए पनि अहिलेसम्म गुपचुप राखिएको छ ।’

क्याम्पस प्रमुख गोलमान गुरुङले नै संरक्षण गरेर घटना गुपचुप राखिएको अध्यापकहरूले गुनासो गरे । शेर्पा सरस्वती क्याम्पसमा भर्ना भए पनि उक्त संकायको परीक्षार्थी भने नभएको क्याम्पसले जनाएको छ । ‘गैरपरीक्षार्थी परीक्षा हलमा छिर्न नै पाइँदैन । सबै गतिविधि क्याम्पस प्रमुखले देख्नुभएको छ,’ क्याम्पसकी अर्की अध्यापकले भनिन्, ‘यस्तो गतिविधि गर्नेलाई कारबाही गरिएको छैन ।’

क्याम्पस प्रमुख गुरुङले दोषीहरूलाई माफी मगाएर छाडिएको दाबी गरे । ‘मसँग प्रहरी छैन । कोही भनेको पनि मान्दैन । हामी पीडित छौं,’ उनले भने, ‘यस्तो लफडा सधैं भइराख्छ ।’ परीक्षा हलमा गैरविद्यार्थीलाई प्रवेश रोक्दा उक्त घटना हुन पुगेको उनले सुनाए । ‘मैले परीक्षार्थीबाहेकलाई परीक्षा हलमा छिर्न नदिन निर्देशन दिएको थिएँ । भीम सुवेदी सरले पहिलेदेखि नै परीक्षामा कडाइ गर्नुहुन्थ्यो,’ गुरुङले भने, ‘परीक्षार्थी नै नभएका बेलामा ३–४ जना हलमा छिरेर उहाँलाई हातपात गरे ।’ घटनाको प्रत्यक्षदर्शी हुँदा पनि प्रहरीले जाहेरी मागेर कारबाही अघि नबढाएको उनले बताए ।

अध्यापकमाथि हातपात भएपछि गत सातादेखि सञ्चालित विज्ञान, प्रविधि संकायको परीक्षामा सरस्वती क्याम्पसमा केन्द्र तोकिएको छैन । क्याम्पसले भवनसमेत कमी भएकाले यसअघिदेखि नै केन्द्र नराख्न त्रिविलाई आग्रह गर्दै आएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले आगामी दिनमा सञ्चालन गर्ने परीक्षामा पनि केन्द्र नराख्न आग्रह आएको सहपरीक्षा नियन्त्रक पवन बरालले जनाए । ‘क्याम्पसबाट परीक्षा सञ्चालन गर्ने वातावरण नभएको खबर आएको छ,’ उनले भने, ‘त्यहाँ परीक्षा केन्द्र तोक्ने नतोक्ने विषयमा निर्णय चाहिँ भइसकेको छैन ।’

प्राध्यापक संघ सरस्वती क्याम्पस इकाई अध्यक्ष कल्पना लुइँटेलले विश्वविद्यालय र क्याम्पसले अध्यापकहरूको सुरक्षा गर्न सक्नुपर्ने बताइन् । ‘पहिलेदेखि नै विद्यार्थी परीक्षा हलमा चहार्दै आएका थिए,’ उनले भनिन्, ‘अहिले नियन्त्रण गर्न खोज्दा घटना हुन पुग्यो ।’ सुरक्षाको वातावरण नभए शिक्षकहरूलाई निरीक्षक नबस्न प्राध्यापक संघले ह्विप जारी गर्ने उनले बताइन् । दोषीलाई कारबाही गरेर सहज वातावरण बनाउन संघले माग गरेको उनले जनाइन् ।

अध्यापक सुवेदीले उक्त घटना व्यक्तिगतभन्दा पनि क्याम्पस र विश्वविद्यालयसँग सम्बन्धित रहेकाले त्यहींबाट समाधान गर्नुपर्ने बताए । अनेरास्ववियुका अध्यक्ष समिक बडालले शेर्पालाई संगठनले स्पष्टीकरण सोधेको बताए । ‘प्रक्रिया पूरा गरेर निलम्बन गरिन्छ,’ उनले भने ।

प्रकाशित : भाद्र २, २०८१ ०५:३३
×