कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

दुई दलीय शासन व्यवस्था नेपाली जनतालाई स्वीकार्य छैन : अध्यक्ष नेपाल

श्रावण ३०, २०८१
दुई दलीय शासन व्यवस्था नेपाली जनतालाई स्वीकार्य छैन : अध्यक्ष नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दुई दलीय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बुधबार बोल्दै अध्यक्ष नेपालले दुई दलीय व्यवस्था नेपाली जनताका लागि स्वीकार्य नहुने बताएका हुन् । उनले संविधान संशोधनमार्फत देशमा दुई दलीय व्यवस्था ल्याउन खोजिएको भन्दै दुई दलीय शासनको कुराले देशलाई नोक्सान पुर्‍याउने दाबी गरे ।

‘प्रधानमन्त्रीले के कुरा ल्याउनुभयो भनेदेखि अहिले त हामीले संविधान संशोधन गर्न खोजिरहेका छौँ । क्या मिठा कुरा छ । अनि मध्यरातमा हस्ताक्षर गर्ने हो ? दुई दलीय शासन ल्याउन खोजेको हो ? दुई दलीय शासन नेपालमा आउन सक्दैन । हामी आउन दिँदैनौँ ख्याल गर्नुस्, दुई दलीय शासनको कुराले देशलाई नोक्सान पुर्‍याउँछ । कोही सहनेवाला छैनन् । । बहुदलीय व्यवस्था हामीले ल्याएका हौँ । बहुदलीय व्यवस्था यहाँ रहन्छ । बहुदलीय लोकतन्त्र, गणतन्त्रलाई, संघीय लोकतन्त्रलाई, हामी अझै समृद्ध बनाउन चाहन्छौँ’ उनले भने ।

उनले बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको भन्दै कुनै किसिमको तानाशाही नेपालमा चल्न नसक्ने उनको भनाइ छ । उनले नेपाली जनतालाई प्रतिगमन र अधिनायकवाद स्वीकार्य नभएको स्पष्ट पारे । 'बंगलादेशको घटनाले सबैलाई सचेत बनाएको छ । कुनै किसिमको तानाशाही नेपालमा चल्न सक्दैन । टिक्न सक्दैन । प्रतिगमनको, अधिनायकवादको, दुई दलीय शासनको, दुई दलीय नाममा एक दलीय शासनमा जाने कुरा नेपाली जनतालाई स्वीकार्य छैन,’ उनले भने ।

अध्यक्ष नेपालले नेपाललाई शान्ति प्रक्रियामा ल्याउन आफूले महत्वपूर्ण भूमिका खेलेको भन्दै त्यसको चर्चा समेत गर्नुभयो । उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने नाममा प्रमुख तीन राजनीतिक दलहरुले मात्रै चोचोमोचो नमिलाउन आग्रह गरे ।

प्रकाशित : श्रावण ३०, २०८१ १६:३१
×