कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

नेपालको शान्ति प्रक्रिया मौलिक संस्कृति र परम्पराअनुकूल हुर्किएको हो : दाहाल

श्रावण ३०, २०८१
नेपालको शान्ति प्रक्रिया मौलिक संस्कृति र परम्पराअनुकूल हुर्किएको हो : दाहाल

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया नेपाली मौलिकतामा हुर्किएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा आफ्नो धारणा राख्दै दाहालले नेपालको शान्ति प्रक्रिया मौलिक रहेको बताएका हुन् । 

नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय रहेको बताए । 'संसारभर चल्ने यसप्रकारका युद्धहरू कि त हारमा परिणत भएका छन् कि सम्पूर्ण रूपले जितमा तर, नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको छ र हाम्रा अनुभव निकै मौलिक छन्,' पूर्वप्रधानमन्त्री दाहालले भने, 'हाम्रै गृह, जलवायु, माटो, संस्कृति र परम्परा अनुकूल हुर्किएको शान्ति प्रक्रियाको रूपमा यो रहेको छ । अरु देशको नक्कल यसमा छैन ।'

शान्ति प्रक्रिया थालनीका मूलभूत दुई पक्ष सफल भएका पनि दाहालको भनाइ थियो । 'राजनीतिक रूपमा राजतन्त्रात्मक निरंकुश व्यवस्थाको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था स्थापना भएको छ भने संविधानसभाबाट नयाँ संविधान बनि नयाँ संविधानमा राजनीतिक उपलब्धिहरू संस्थगागत पनि भएका छन्,' उनले भने ।

दाहालले नेपालको हतियार व्यवस्थापन र सेना समायोजन पनि सरल र सहज ढंगले भएको स्मरण गरे । सेना समायोजनन र हतियार व्यवस्थापन जटिल विषय भएपनि नेपालमा आधुनिक हतियार व्यवस्थापन र ठूलो संख्याको सेना समायोजना जटिल रहेपनि सहजै सम्पन्न भएको बताए । उनले राजनीतिक नेतृत्वले जोखिम उठाएर सेना समायोजन गरिएको उनले बताए । सेना समायोजन गर्दा माओवादी पार्टी विभाजन भएर आफूलाई क्षति भएपनि देश बाचेको र शान्ति स्थापना भएको दाहालले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना शान्ति प्रक्रिया रहेको कुरामा आफ्नो समर्थन रहेको बताउँदै दाहालले भने, 'यही शान्ति प्रक्रिया युरोप या पश्चिमा देशहरूमा भएको भए सायद यसको मान्यता स्थापित गर्ने काम ठूलो स्केलमा हुने थियो होला ।'

संसद्मा ल्याइएको विधेयक पीडितका पक्षमा रहेको दाहालले बताए । उनले अन्तर्राष्ट्रिय समुदायमा पनि विधेयकमाथि सहमति रहेको जानकारी उनले बताए ।

प्रकाशित : श्रावण ३०, २०८१ १४:२४
×