कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

मन्त्रिपरिषद् बैठक : नागरिक उड्डयन क्षेत्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत

श्रावण २९, २०८१
मन्त्रिपरिषद् बैठक : नागरिक उड्डयन क्षेत्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत

काठमाडौँ — सरकारले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ । यही साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उक्त बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महाप्रबन्धकमा धादिङका रमेश आचार्य र नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा इलामका प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्ले संघीय भूउपयोग परिषद् सदस्यमा डा रेवतीरमण पौडेल, डा यमुना घले, डा रेश्मा श्रेष्ठ र जगतबहादुर देउजालाई मनोनयन गर्ने निर्णय गरेको छ । बैठकले नेपाल सरकारका नाममा दर्ता रहेको सिरहाको नवराजपुर गाउँपालिका-४ को ०-१९-० विघा जग्गा इलाका प्रहरी कार्यालय, झाँझपट्टीलाई प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले यही साउन २९ देखि ३२ सम्म भुटानमा आयोजना हुने दक्षिण एसियाली निर्वाचन व्यवस्थापनसम्बन्धी निकायको बाह्रौं सम्मेलन सहभागी हुन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद्ले एसियाली विकास बैंकबाट सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन (अनुमानित १४ अर्ब ६३ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर (अनुमानित एक अर्ब ९९ करोड रुपैयाँ) अनुदान स्वीकारका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गरेको छ ।

बैठकले निजामती सेवाका राजपत्रांकित प्रथम श्रेणीका सहसचिव इन्दुविक्रम जोशी र कोमलप्रसाद धमलाले दिएको राजीनामा स्वीकृत गरेको छ ।

प्रकाशित : श्रावण २९, २०८१ १७:२६
×