कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

सिमलताल दुर्घटनाको महिना दिन : जारी छ खोजी कार्य

श्रावण २८, २०८१
सिमलताल दुर्घटनाको महिना दिन : जारी छ खोजी कार्य

काठमाडौँ — पहिरोमा परेर दुईवटा बस र त्यसमा रहेका यात्रुहरू त्रिशूलीमा बगेको आज सोमबार महिना दिन पूरा भएको छ । नदीमा हराइरहेका दुईवटै बस र फेला नपरेका यात्रुहरूको खोजी कार्य अझै पनि जारी नै छ । त्रिशूलीमा बेपत्ता बस र त्यसका यात्रु खोज्न भारतबाट समेत प्राविधिकहरूको टोली आएको थियो । साउन १३ मा भारतीय टोली फर्केसँगै पहिलो चरणको खोजी कार्य सकिएको घोषणा भएको थियो ।

नेपाली सुरक्षाकर्मीहरूको टोलीले सोही दिनबाट दोस्रो चरणको खोजी जारी राखेको छ । ‘हामीले दुर्घटनास्थल सिमलतालभन्दा केही तल घुमाउने केराबारीदेखि भोर्ले क्षेत्रमा त्रिशूली नदीमा नियमित निगरानी गरिरहेका छौं । ११ जनाको टोली यसमा खटेको छ,’ सशस्त्र प्रहरीको चितवन कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) माधव पौडेलले भने ।

नारायणगढ आँपटारीमा रहेको सशस्त्र प्रहरीको १७ नम्बर गणमा गोताखोर टोलीलाई तायरी अवस्थामा राखेको उनले बताए । नवलपरासीको टोलीले नारायणी क्षेत्रको त्रिवेणीसम्म निगरानी गरेको उनले जानकारी दिए । ‘भेल बाढी आएसँगै नदीको धार केही परिवर्तन हुँदो रहेछ । यस्तो बेला बालुवाको ढिस्कोहरु देखिन्छ । बसका केही अवशेषहरु फेला पर्दछन् कि भनेर दुर्घटनास्थलभन्दा केही तल हामीले हेरि रहेका छौं,’ एसएसपी पौडेलले भने ।

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल क्षेत्रको सिँदुरेगैरामा आएको लेदोसहितको पहिरोमा परी असार २८ गते शुक्रबार बिहानपख साढे तीन बजेतिर दुईवटा यात्रु बस सडकदेखि तल त्रिशूली नदीमा खसेका थिए । दुई बसमध्ये एउटा बसका तीनजना यात्रुले नदीमा पुगे पनि आफैं पौडेर ज्यान जोगाएका थिए । दुईवटै बस र बाँकी यात्रु त्रिशूलीमा बगेर बेपत्ता भएका थिए ।

खोजीमा क्रममा नारायणी नदीको तट र त्रिवेणी अनि त्योभन्दा पनि तल भारतीय क्षेत्रबाट २५ वटा शव भेटिएका थिए । दुर्घटनास्थलभन्दा १०७ किलो मिटर तलबाट पनि शव भेटिएका थिए । तर भेटिएकामध्ये १९ वटा शव मात्रै दुर्घटनामा परेका दुईवटा बसका यात्रु भएको पुष्टि भएको छ । सिमलताल दुर्घटनाका विषयमा अध्ययन गर्न सरकारले गृहमन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

कार्यदलले साउन २२ गते मंगलबार प्रतिवेदन बुझाएको छ । बसमा कति यात्रु थिए भन्ने विवरण पटक-पटक परिवर्तन हुने गरेको छ । घटना भएको दुई दिनपछि असार ३० गते आइतबार चितवन जिल्ला प्रशासन कार्यालयले जारी गरेको विवरणमा बसमा ६५ जना यात्रु रहेको, तीनजना सकुशल रहेको र अरु यात्रु बससँगै बगेको उल्लेख थियो । अध्ययन कार्यदलको प्रतिवेदनमा बसमा कुल ६२ जना यात्रु रहेको उल्लेख छ ।

दुर्घटनामा परेकामध्ये काठमाडौंबाट गौर जान भरतपुरतर्फ आउँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बसमा ३६जना र वीगञ्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल बसमा २६ जना करी कुल ६२ जना यात्रु रहेको विवरण अध्ययन कार्यदलको प्रतिवेदनमा छ । यीमध्ये गणपति यातायातको बसका तीनजना यात्रु मात्रै सकुशल रहेका हुन् ।

अध्ययन कार्यदलले नारायणगढ-मुग्लिन सडकभन्दा माथि बनेको ग्रामिण सडकका कारण सिँदुरेगैरामा थुप्रिएको लेदो र ग्रेगान अत्यधिक पानी परेपछि सडकमा बग्दै आएर बस खसालेको निष्कर्ष निकालेको थियो । ग्रामीण सडक बनाउँदा भरतपुर महानगरपालिकाले समग्र वातावरणीय पक्षमा ध्यान नदिएको, पहिरोले थुनिएको कल्भर्ट सफा गर्न भरतपुरको डिभिजन सडक कार्यालयले पनि ध्यान नदिएको कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी सडकको जोखिमका बारेमा सूचना प्रणाली नहुँदा चालकले जोखिमको आकलन नगरेको, सुरक्षाकर्मीले पनि गाडी रोक्न आवश्यक नठानेको प्रतिवेदनमा उल्लेख छ । जोखिमयुक्त सडकमा रातको समयमा ठूलो वर्षा भइरहँदा गाडी चलाउने चालकले सुरक्षा पहिलो विषय हो भन्ने मूल कुरा ध्यान दिनु पर्नेमा त्यसो हुन नसकेको पनि प्रतिवेदनमा लेखिएको छ ।

कार्यदलले राजमार्गभन्दा माथिबाट जाने सहायक मार्गहरूको ट्रयाक खोल्दा सार्वजनिक सडक ऐन २०३१ मा भएको सडक विभागसँग सहमति लिनुपर्ने विषयलाई कार्यन्वयन गर्न सिफरिस गरेको छ । खोजी तथा उद्धारलाई समय अनुकूल बनाउन विभिन्न औजार, उपकणहरू र आधुनिक प्रविधि उपलब्ध हुनुपर्ने पनि सुझाव दिएको छ ।

वर्षा सकिएपछि नदीहरुको राम्रोसँग नक्साङ्कन गर्न आवश्यक रहेको समितिको सिफारिस छ । दुर्घटनापछि खोजी गर्न भारतको ‘राष्ट्रिय आपदा मोचन बल’ (एनडीआरएफ)का प्राविधिकहरू प्रविधिसहित आएका थिए । साउन ५ मा चितवन आएको भारतीय टोलीले भोलिपल्टबाट खोजी सुरु गरेको थियो । तर केही पत्ता पाउन नसकी साउन १३ मा भारतीय टोली फिर्ता हुँदा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दोस्रो चरणको खोजी कार्य अर्को निर्णय नहुँदासम्म जारी रहने बताएका थिए ।

प्रकाशित : श्रावण २८, २०८१ ०९:४९
x
×