कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

सिमलताल दुर्घटनाबारे कार्यदलको निष्कर्ष : जथाभावी सडक खन्दा आएको लेदोले दुर्घटना

श्रावण २३, २०८१
सिमलताल दुर्घटनाबारे कार्यदलको निष्कर्ष : जथाभावी सडक खन्दा आएको लेदोले दुर्घटना

चितवन — जथाभावी खनिएका ग्रामीण सडकका कारण आएको लेदोले दुइटा बस र यात्रु त्रिशूली नदीमा बगाएको सरकारले गठन गरेको कार्यदलले निष्कर्ष निकालेको छ । कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको हो ।गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।

कार्यदलले दुर्घटनास्थलभन्दा माथि पहाडी क्षेत्रमा हालसालै ग्रामीण सडक (सिमलताल–बाङ्गेसाल–डुम्रे गाउँ) खनिएको, सो क्षेत्रमा कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको तथा उचित इन्जिनियरिङ डिजाइनबिना सडक खनिएको प्रतिवेदनमा उल्लेख गरेको छ । सडक बनाउँदा अत्यधिक मात्रामा निस्केको माटो छेउमा त्यसै फालेको पनि प्रतिवेदनमा उल्लेख छ ।

सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा अत्यधिक वर्षामा त्यहाँ पहिरो गएको, त्यही पहिरो नै डेब्रिज बहाबको स्रोत बनेको र सोही डेब्रिज बग्दै सिन्दुरे खोल्सा हुँदै तल झर्दा तल्लो भागमा पहिरो खसेको प्रतिवेदनमा उल्लेख छ । खोल्सामा केही वर्ष पहिला बनेका चेकड्याम तथा ग्याबिन बालले पहिरोको दबाब थाम्न नसकेको र बाढीसँगै ठूलो परिणाममा आएको लेदो, गेग्रान र डेब्रिजले सडक पार गर्दै गरेका दुइटा सवारीसाधनलाई धकेलेर त्रिशूली नदीमा खसालेको देखिने प्रतिवेदनमा भनिएको छ ।

‘भरतपुर–२९ अन्तर्गत सिमलताल बाङ्गेसाल डुम्रेगाउँ सडक खण्डको निर्माण गर्दा समग्र वातावरणीय पक्षमा ध्यान दिएको देखिँदैन,’ प्रतिवेदनमा भनिएको छ । त्यसैगरी पहिरो आएर सडक सफा गर्दा भरतपुरको डिभिजन सडक कार्यालयले पनि सडक माथि थुप्रिएको डेब्रिज बगेर सडकमै आउँछ भनेर ख्याल नगरेको प्रतिवेदनले औंलाएको छ । जोखिमअनुरूप कल्भर्ट र क्याचपिटहरू सफा नगरेको देखिएको छ ।

सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणाली विकास नभएका कारण सडकको अवस्थाबारे सवारी चालकले पूर्वानुमान गर्न नसकेको र सुरक्षाकर्मीले सवारी रोक्न आवश्यक नठानेको देखिने प्रतिवेदनमा उल्लेख छ । गत असार २८ मा शुक्रबार बिहानपख साढे तीन बजेतिर काठमाडौंबाट गौर आउँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल नामको बस नारायणगढदेखि करिब २३ किलोमिटर पूर्वोत्तर सिमलताल सिँदुरेगैरामा झरेको लेदोसहितको पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएका थिए ।

चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार दुवै बसमा ६५ जना यात्रु थिए । एञ्जल बसका तीन यात्रुले पौडिएर ज्यान जोगाएका थिए । खोजी टोलीले घटनास्थलदेखि लगभग १ सय ३ किलोमिटर तल नारायणी नदी तट र त्रिवेणी बाँध क्षेत्रबाट २५ वटा शव फेला पारेको थियो । अध्ययन कार्यदलले सडक सुरक्षा, उद्धार टोलीको क्षमता वृद्धि, मृतक र बेपत्ताका परिवारलाई दिने राहतलगायत विषयमा पनि सिफारिस गरेको छ ।

प्रकाशित : श्रावण २३, २०८१ ०५:१३
x
×