कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

एमाले-कांग्रेस गठबन्धन कुन स्वार्थले बन्यो भन्ने घटनाक्रमले पुष्टि हुँदैछ : पुन

श्रावण १९, २०८१
एमाले-कांग्रेस गठबन्धन कुन स्वार्थले बन्यो भन्ने घटनाक्रमले पुष्टि हुँदैछ : पुन

Highlights

  • ‘जनतालाई १८ घण्टा लोडसेडिङमा राखेर उद्योग चलाउनेहरूले विद्युत् महसुल तिर्दिनँ भनेर चुनौती दिइरहेका छन्, ठूला दल, प्रधानमन्त्री र मन्त्रीहरू तिर्नुपर्दैन भन्दै हिँडेका छन् ।

काठमाडौँ — माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले एमाले-कांग्रेस गठबन्धन कुन स्वार्थले बनेको रहेछ भन्ने घटनाक्रमले पुष्टि हुँदै गएको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा पुनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासन कायम गर्न चालेको भ्रष्टाचारविरोधी अभियानबाट तर्सिएकाहरूले राजनीतिक समीकरण परिवर्तन गरेको घटनाक्रमले पुष्टि हुँदै गएको बताए ।

नेपालमा बिचौलियाहरूले प्रधानमन्त्री र मन्त्रीहरूको नियुक्ति तथा सचिव सरुवा गर्ने हैसियत बनाएको भन्दै उनले यो अवस्था अब लामो समयसम्म रहन दिन नहुने बताए । ‘अध्यक्ष प्रचण्डले डेढ वर्ष सरकारमा रहँदा भ्रष्टाचार, अनियमिताता र बिचौलिया प्रवृत्तिविरुद्ध संघर्ष गर्नुभयो । बाहिर आउँदा पनि माओवादीले सरकार चलाउँदा गलत काम गरेन भनेर मानिसहरूले भनिरहेका छन्,' पुनले भने, ‘आफ्नो स्वार्थमा काम नगरेका कारण बिचौलिया र दलाल पुँजीपति वर्गले हामीलाई मन पराएन । थप एक दिन सरकारमा बस्न दिँदा पनि आफ्नो बर्बाद हुने भयो भनेर कांग्रेस र एमालेलाई मिलाउने काम उनीहरूले गरे ।’

सरकार कसले र केका लागि बनाएको थियो भन्ने विषयको पटाक्षेप ट्रंक लाइन र डेडिकेटेड लाइनको विद्युत महसुल सरकारलाई नतिर्ने व्यवसायीहरूलाई सरकारले संरक्षण गरिरहेबाटै भएको पुनको भनाइ थियो । लाल आयोगले न्यायोचित ढंगले ८ अर्ब तिर्नुपर्छ भनेकामा सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले नै तिर्न नपर्ने भन्दै हिँडेको पुनको दाबी थियो । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विद्युत महसुल नतिर्ने उद्योगीलाई बोलाएर छलफल गर्नु गम्भीर विषय भएको पनि पुनको भनाइ थियो ।

‘जनतालाई १८ घण्टा लोडसेडिङमा राखेर उद्योग चलाउनेहरूले विद्युत महसुल तिर्दिनँ भनेर चुनौती दिइरहेका छन् । ठूला दल, प्रधानमन्त्री र मन्त्रीहरू तिर्नुपर्दैन भन्दै हिँडेका छन् । यसैले पुष्टि हुन्छ कि यो कसले, कुन स्वार्थले बनाएको गठबन्धन रहेछ र सरकार कसको रहेछ ?,' पुनले भने, ‘संसद्को लेखा समितिले उनीहरूलाई ल्याएर बैठक बसाइएको छ, यो गम्भीर कुरा हो ।’

पुनले दुई ठुला दलले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकार खोस्ने र मुलुकलाई पछाडि फर्काउने गरी संशोधनको सहमति गरेको भन्दै त्यो सफल हुन नदिइने बताए ।

प्रकाशित : श्रावण १९, २०८१ १७:४९
×