कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

बस खोज्ने क्रममा त्रिशूलीमा हराएको चुम्बक भेटियो

श्रावण १४, २०८१
बस खोज्ने क्रममा त्रिशूलीमा हराएको चुम्बक भेटियो

चितवन — सिमलतालमा बेपत्ता बस खोज्ने क्रममा त्रिशूली नदीमा हराएको चुम्बक  भेटिएको छ । सिँदुरेगैरामा आएको पहिरोमा परेर त्रिशूलीमा हराएका दुईवटा बस खोज्न आएका भारतीय प्राविधिकहरूले प्रयोग गर्दा नदीमा बगेर हराएको १९ किलोको चुम्बक भेटिएको हो । 

बगेको चुम्बक र लाइफ ट्युब नारायणगढदेखि तल शिवघाटनजिकको काब्रेघाट नारायणी नदीमा भेटिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । भारतीयले शनिबार १९ र १४ किलाका दुईवटा चुम्बक प्रयोग गरेर सिमलताल क्षेत्रमा बसको खोजी गरेका थिए । शनिबार नै एउटा चुम्बक बगेको थियो ।

असार २८ गते शुक्रबार बिहानपख साढे ३ बजेतिर नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सिमलताल क्षेत्रबाट पहिरोमा परेर दुई यात्रु बस र ती बसमा रहेका ६५ मध्ये ६२ यात्रु त्रिशूलीमा बगेका थिए । बसको खोजीमा चारजना गोताखोर र तीनवटा सोनार क्यामेरासहित आएको भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ)को १२ सदस्यीय टोलीले साउन ६ गतेदेखि सिमलताल क्षेत्रबाट खोजी सुरू गरेको थियो ।

एक हप्ता खोज्दा पनि बस पत्ता नलागेपछि हिजो आइतबार भारतीय टोली फर्किइसकेको छ । हराएका यात्रुको खोजीमा रहेको सुरक्षा टोलीले २५ वटा शव फेला पारेको थियो । तीमध्ये १९ वटा शव मात्र हराएका बसको यात्रुको भएको पुष्टि भएको छ ।

प्रकाशित : श्रावण १४, २०८१ ०९:४१
x
×