कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

ओलीसँग जन्मथलोका जनप्रतिनिधिको भेट : अलपत्र योजनाहरुमा बजेट उपलब्ध गराउन माग

श्रावण १४, २०८१
ओलीसँग जन्मथलोका जनप्रतिनिधिको भेट : अलपत्र योजनाहरुमा बजेट उपलब्ध गराउन माग

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको जन्मथलो तेह्रथुमका बासिन्दाले चौँथोपटक मुलुकको कार्यकारी प्रमुख भएकोमा बधाई ज्ञापन गर्दै अलपत्र बनेका योजनाहरुमा बजेट उपलब्ध गराउन माग गरेका छन् । जिल्लाबाट निर्वाचित सांसद, स्थानीय तहका जनप्रतिनिधि र सर्वसाधारणहरु समेतको प्रतिनिधिमण्डलले सोमबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई सम्मान गर्दै बधाई तथा शुभकामना अर्पण गरे।

ओलीलाई बधाई ज्ञापन गर्दै तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सीता गुरुङले भनिन्, 'तपाई तेह्रथुममा जन्मिएर त्यहाँको धुलोमाटोमा हुर्किएर आज चौँथोपटक देशको प्रधानमन्त्री बन्नुभएको छ । तपाईप्रति सिंगो तेह्रथुम खुसी छ, सबै तेह्रथुमबासी बालुवाटार आउन सक्दैनन्, उनीहरुको तर्फबाट मैलै एकमुष्ट बधाई र शुभकामना अर्पण गर्दैछु । र उहाँहरुको आशा, अपेक्षा र दुख तपाईसमक्ष राख्दैछु ।'

सांसद गुरुङले प्रधानमन्त्री ओलीले कखरा छिचोलेका विद्यालयहरु अत्यावश्यक पूर्वाधारविहीन अवस्थामा रहेको, गाउँमा सडक भरपर्दो नरहेको, अस्पताल र पुल निर्माणका कामहरु बजेट अभावका कारण हुन नसकेको सुनाइन् । 'दशकौँदेखि चुहानडाँडा विमानस्थल बनाउने योजना अलपत्र छ । अहिलेसम्म पनि त्यसको प्राविधिक पक्षकै कामहरु टुंगो लागेका छैनन् । हिजो तपाई आफैँ माग लिएर डेलिगेसन दिँदै हिड्नुभएको यो योजनामा अब आफैँ प्रधानमन्त्री हुँदा सहजीकरण गरिदिनुहुन्छ भनेर जिल्लाबासी आशावादी छौँ,' उनले भनिन् ।

सांसद गुरुङसहित जनप्रतिनिधि र स्थानीयहरुले प्रधानमन्त्रीकै रुपमा एकपटक जन्मथलो पुगेर भ्रमण गरिदिन र स्थानीयबासीका दुखलाई नजिकबाट नियाल्न समेत प्रधानमन्त्रीलाई निम्तो दिएका छन् ।

सांसद गुरुङले सुनाउँदै गर्दा चाख दिएर सुनेका प्रधानमन्त्री ओलीले जन्मथलो तेह्रथुमको विकासमा आफ्नो विशेष चासो रहेको बताए । २००८ साल फागुन ११ गते आठराई गाउँपालिका-४ साविक इवा-२ खानीगाउँमा जन्मिएका ओलीले तेह्रथुममा १२ वर्ष बिताएका थिए । उनको परिवार २०२० सालमा झापा बसाइँ सरेको थियो ।

दोश्रो पटक प्रधानमन्त्री भएपछि जन्मथलो सम्झिएका ओलीले तीन वर्षअघि गाउँमै पुगेर आफू जन्मिएको घरमै जन्मदिन मनाएका थिए । त्यसयता ओली पटक-पटक इवा पुगेका छन् । छिमेकी, सहपाठी र साथीभाइसँग भेटेर खुसी साँटेका छन् ।

तर त्यही गाउँसम्म पुग्ने सुकेपोखरी-प्रणामी मा.बि.-ढुंगेसांधु सडक बजेट अभावले विस्तार र कालोपत्रेको काम नभएको भन्दै स्थानीय जनप्रतिनिधिले ओलीको ध्यानाकर्षण गराएका छन् ।

आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले आठराईको माटोमा जन्मिएका थुप्रै व्यक्तिहरु राज्यका उच्च तहमा पुगेर नेतृत्व गर्दा पनि गाउँको विकासमा भने फड्को मार्न नसकेको बताए । 'संघीय सरकारको प्रधानमन्त्री नै हाम्रो गाउँले हुनुहुन्छ । अब केही अपुरा अधुरा योजनाहरु पूरा हुन्छन् र हुनुपर्छ भन्ने आशा बढेको छ, गाउँमा खुसीयाली छ,' उनले भने ।

सांसद गुरुङले तमोर जलाशययुक्त जलविद्युत आयोजना निर्माणको काम अघि बढाउन सरकारले पहल लिनुपर्ने माग गरिन् । जिल्लाबासीका तर्फबाट संयुक्त मागपत्र पेश गरिएकोमा उनीहरुले आठराईमा १५ शैयाको अस्पताल निर्माण, जिरिखिम्ती-मोराहाङ-सम्दु सडक, लुम्बुघाटको मोटरेवल पुल निर्माण, लिम्वुनी मोटरेवल पुल, हाक्पाराघाट मारेरेवल पुल लगायत पूर्वाधार निर्माणमा प्रधानमन्त्रीले निर्देशन गरिदिन माग गरे ।त्यस्तै, मध्यपहाडी लोकमार्गको बाँकी रहेको खण्डको कालोपत्रे र अन्य सडकहरुको स्तरोन्नतिमा समेत ध्यानाकर्षण गराए ।

प्रकाशित : श्रावण १४, २०८१ १८:११
×