कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

सिमलताल दुर्घटना : बेपत्ता बस र शव खोज्न आएको भारतीय प्राविधिकको टोली फर्कियो

श्रावण १३, २०८१
सिमलताल दुर्घटना : बेपत्ता बस र शव खोज्न आएको भारतीय प्राविधिकको टोली फर्कियो

काठमाडौँ — सिमलताल पहिरोमा बगेका बस र यात्रुको शव खोज्न आएको भारतीय प्राविधिकको टोली आइतबार फर्किएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्ला प्रशासन कार्यालयमा आइतबार भारतीय प्राविधिकहरूको टोलीलाई बिदाइ गरेका हुन् ।

असार २८ गते शुक्रबार बिहान साढे तीन बजेतिर काठमाडौंबाट गौर आउँदै गरेको प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल नामको यात्रुबस नारायणगढदेखि करिब २३ किलो मिटरपूर्व उत्तर सिमलताल सिँदुरेगैरामा झरेको लेदोसहितको पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएका थिए ।

प्रशासनका अनुसार दुवै बसमा ६५ यात्रु थिए भने बस त्रिशूलीमै पुगे पनि एञ्जल बसका तीनजना यात्रुले आफैं पौडिएर ज्यान जोगाएका थिए । बाँकी ६२ जना र दुई बस त्रिशूलीमा बेपत्ता भएकोमा हालसम्म २५ वटा शव फेला परेका छन् । तीमध्ये १९ जनाको शव मात्रै पहिरोमा परेको बसका यात्रु भएको पुष्टि भएको छ भने बस अझैसम्म पनि भेटिएको छैन ।

बेपत्ता यात्रु र बसको खोजीका लागि सरकारले दुर्घटनाको अर्कोदिनदेखि निरन्तर विशेषज्ञसहितको टोली परिचालन गरेको छ भने गत आइतबार भारतको 'राष्ट्रिय आपदा मोचन बल' (एनडीआरएफ)का प्राविधिकहरू प्रविधिसहित खोजीमा आएका थिए । एक सातासम्म आफ्नो प्रविधि र सीप उपयोग गरेर खोजीमा सहयोग गरेका प्राविधिकहरुले सिमलतालदेखि केराबारीसम्मको दुई ठाउँलाई शंकास्पद क्षेत्र भनेका छन् ।

भारतीय टोलीलाई बिदाइ गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी यादवले बेपत्ता बस र शवको खोजीमा अब नेपाली प्राविधिकहरुको टोली मात्रै परिचालन हुने बताए । चार गोताखोरसहित आएका १२ जना प्राविधिकहरूले अघिल्लो आइतबारदेखि खोजीमा सघाएका थिए । भारतीय टोलीले पानीभित्र रहेका वस्तुहरूको आकार र आकृति संकेत गर्ने उपकरण सोनारसहित खोजी गरेका थिए ।

नेपाली टोलीले पनि गोताखोर र सोनार तथा पानीभित्रका वस्तु हेर्न मिल्ने क्यामेरासहित खोजी गरेको थियो । भारतीयसँग भएको तीनवटा सोनार नेपालीले प्रयोग गरेको भन्दा परिष्कृत र प्राविधिकहरू अनुभवी रहेका कारण खोजी कार्य उपलब्धिमूलक हुने अपेक्षा गरिएको थियो । तर त्यस्तो भने हुन सकेन । 'भारतीय र हाम्रो संयुक्त टोलीले हालसम्म गरेको कामको समीक्षा गरेर धन्यवाद ज्ञापनसहित भारतीय टोलीलाई फिर्ता पठाइएको छ,' प्रमुख जिल्ला अधिकारी यादवले भने ।

उनका अनुसार आइतबार नै जिल्ला सुरक्षा समितिको बैठक बसेर दोश्रो चरणको खोजी कार्यलाई अघि बढाउने तयारी गरेको छ । हालसम्म शव फेला परी सनाखत भएका र शव पनि फेला पर्न नसकेका बेपत्तालाई सरकारको निर्णय बमोजिम मृतक मानेर राहत वितरणको प्रक्रिया समेत अघि बढाइने प्रजिअ यादवले जानकारी दिए ।

उनका अनुसार हालसम्म परिवारले सनाखत गरेका ती १९ शवमध्ये तीनजना महिला र १६ पुरुष छन् । एउटा बसमा सात र अर्कोमा दुई गरेर नौजना भारतीय नागरिक पनि बससँगै नदीमा बेपत्ता भएका थिए । जसमध्ये पाँचजना भारतीयको शव फेला परेको छ । सकुशल रहेका तीनजना र शव भेटिएर सनाखत भएका १९ जनाबाहेक बाँकी ४३ यात्रुको अवस्था अज्ञात छ । साउन चार गतेयता शव पनि भेटिएको छैन ।

भारतीय टोलीको खोजी बस खसेको स्थान वरपर त्रिशूली नदीमा केन्द्रित थियो । उनीहरूले शनिबार १९ किलो र १४ किलोका दुईवटा शक्तिशाली चुम्बक प्रयोग गरेर बसको खोजी गरेका थिए । एउटा १९ किलोको चुम्बक नै त्रिशूलीमा बगेर हराएको छ । त्रिशूली नदीको उर्लँदो भेल र उच्च बहाबले खोजी कार्यमा बाधा भएको भारतीय प्राविधिकहरूले बताएका थिए ।

प्रकाशित : श्रावण १३, २०८१ १४:४८
x
×