कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

नारायणीमा बन्यो पुल, हट्यो सुस्तावासीको सकस

श्रावण १०, २०८१
नारायणीमा बन्यो पुल, हट्यो सुस्तावासीको सकस

परासी — नारायणी नदीमा पुल बनेपछि सुस्तावासीलाई केही राहत भएको छ । तीनतिरबाट नारायणी र एकतिरबाट भारतीय भूमिले घेरिएको सुस्तामा झोलुंगे पुल सञ्चालनमा आएको हो ।

पुल बनेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, सुस्तागाउँका स्थानीय बासिन्दा खुसी भएका हुन् । यसअघि सुस्ता जानका लागि डुंगामा जोखिमपूर्ण यात्रा गर्नुपर्थ्यो । त्यस्तै भारतीय भूमि हुँदै भारतीय सीमा सशस्त्र सीमा बल(एसएसबी) को कडा निगरानीमा सुस्ता जानुपर्थ्यो ।

नारायणी नदीमा पुल बनेपछि सुस्तावासीलाई आवतजावतका लागि सहज भएको छ । भारतीय अतिक्रमणको चपेटामा परेको सुस्ताका स्थानीयले आफ्नै भूमि रक्षाका लागि भारतीयसँग संर्घष गर्नुपर्ने र सामान्य कामका लागि पनि भारतको भर पर्नु अवस्था पुल बनेपछि अन्त्य भएको छ ।

उक्त पुलको निर्माण कार्य २०७२ असोजमा सुरु भएको हो । २०७५ पुसमा सम्पन्न हुनुपर्ने पुल ६ वर्षपछि मात्र बनेको हो । ठेकेदार कम्पनीले पटक–पटक काम अलपत्र पारेर सम्पर्कविहीन हुँदा पुल निमार्णमा ढिलाइ भएको हो । सुस्तावासी झोलुंगे पुलमार्फत जोडिँदा हर्षित भएको स्थानीय रवीन्द्र जयसवालले बताए ।

‘नारायणी नदीमा पुल बन्नु भनेको सुस्ताका बासिन्दाका लागि ठूलो उपलब्धि हो । आफ्नै भूमि जानका लागि विदेशीको भर पर्नुपर्ने बाध्यता हटेको छ,’ जयसवालले भने,‘अतिक्रमणको चपेटामा परेको सुस्ता र मुलुकका लागि नै यो पुलले आफ्नो नागरिकलाई राज्यसँग प्रत्यक्ष जोडेको छ ।’

पुल बनेसँगै सुस्तामा आन्तरिक पर्यटन बढ्ने पनि स्थानीय वृजेन्द्र यादवले बताए । ‘मानिसहरू टाढाटाढाबाट सुस्ताको भ्रमणका लागि आउन थालेका छन् । पुलमा टिकटक बनाउनेको भीड नै लाग्ने गरेको छ,’ उनले भने ।

सुस्ता गाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, होमस्टे सञ्चालन गर्नेलगायतका योजना बनाउदै गरेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताए ।

९ वर्ष लगाएर त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सन कम्पनीले २९ करोड रुपैयाँको लागतमा पुल निमार्ण गरेको हो ।

प्रकाशित : श्रावण १०, २०८१ १६:०५
×