कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

लाइन काटिएका ६ वटा उद्योगमा मंगलबारबाट बिजुली जोडिने

श्रावण ८, २०८१
लाइन काटिएका ६ वटा उद्योगमा मंगलबारबाट बिजुली जोडिने

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका ६ वटा उद्योगहरुको बिजुली आज मंगलबार साँझबाट जोडिदिने भएको छ । विद्युत् नियमन आयोगको निर्देशनअनुसार लाइन काटिएका ६ वटा उद्योगहरुको विद्युत् मंगलबार साँझबाट क्रमिक रुपमा जडान गर्ने प्राधिकरणले आजै निर्णय गरेको हो । 

'तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत् महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुलउपर गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरुको विद्युत् लाइन जोड्ने,' प्राधिकरणको निर्णयमा भनिएको छ, 'लाइन काटिएका ६(छ) वटा उद्योगहरुको विद्युत् मंगलबार साँझबाट क्रमिक रुपमा जडान गरिनेछ ।'

प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यको असहमतिका बाबजुद बहुमतका आधारमा बिजुली जोड्ने निर्णय गरेको हो । सञ्चालकद्धय कपिल आचार्य र भक्तबहादुर पुन बक्यौता नउठाई लाइन जोड्ने नहुने अडानमा छन् । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा बिजुली काटिएकाले बक्यौता असुल नगरी फेरि लाइन जोड्न नहुने भन्दै ती सञ्चालकद्वयले असहमति जनाएका हुन् । ‘सरकारको निर्देशनअनुरूप बक्यौता उठाउन लाइन काटिएको हो, त्यसैले मन्त्रिपरिषद्को निर्णय काट्न मन्त्रिपरिषद्बाटै पत्र आउनुपर्थ्यो, त्यो अवस्था छैन,’ ती सञ्चालकको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । प्राधिकरणले बहुमतका आधारमा बिजुली जाेड्ने निर्णय गरेकाे हाे ।

गत २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो । प्राधिकरणले गत असार १० मा ६१ वटा उद्योगलाई १५ दिनभित्र बक्यौता तिर्न भन्दै पत्र पठाएको थियो । उद्योगीले प्राधिकरणलाई तिर्नुपर्ने कुल बक्यौता रकम ६ अर्ब ६० करोड रुपैयाँ हो । तर विद्युत्‌को बिल तिर्न ६० दिन कटिसकेकाले त्यसमा २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न प्राधिकरणले उद्योगीलाई भनेको थियो ।

प्रकाशित : श्रावण ८, २०८१ १६:४७
×