कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

प्रहरीका ८०२ युनिटमा छैन शौचालय

श्रावण ६, २०८१
प्रहरीका ८०२ युनिटमा छैन शौचालय

काठमाडौँ — नेपाल प्रहरीका ८ सयभन्दा बढी युनिट शौचालयविहीन रहेको पाइएको छ । करिब ८० हजार जनशक्ति कार्यरत प्रहरीमा देशभर २ हजार ६ सय ६० वटा स्थायी युनिट छन् । जसमा ३० प्रतिशतभन्दा बढी युनिटमा शौचालय नै छैन ।

२४ सैँ घण्टा नागरिकको सुरक्षामा तैनाथ रहनुपर्ने सुरक्षाकर्मीकै बासस्थान शौचालयविहीन हुँदा यसको असर स्वभाविक रुपमा कार्यसम्पादनमा पर्न जान्छ ।

प्रहरी प्रवक्ता डीआइजी दानबहादुर कार्कीले २०८० साउनदेखि २०८१ असार मसान्तसम्मको १ वर्षमा भए/गरेका शान्तिसुरक्षा, अपराध रोकथाम तथा नियन्त्रण, प्रशासनिक तहमा गरिएका काम, समग्र प्रहरी प्रशासन सुधारका लागि गरिएका प्रयास, र आगामी योजनाबारे पत्रकार सम्मेलन गर्दै प्रहरीका ८ सय २ युनिट शौचालयविहीन रहेको बताए । बजेट अभावका कारण आफ्नै स्वामित्वमा प्रहरीका ब्यारेक तथा कार्यालय बन्न नसकेका कारण थुप्रै ब्यारेहरुमा शौचालय बनाउन नसकिएको बताए ।

प्रहरी कार्कीका अनुसार नेपाल प्रहरी प्रधान कार्यालय तथा त्यस अन्तर्गत ८२ युनिट, सातवटै प्रदेश प्रहरी र अन्तर्गतका २ हजार ४ सय २६ युनिट र काठमाडौं उपत्यका प्रहरी कार्यालय र मातहत १ सय ७२ युनिट स्थायी प्रकृतिका छन् ।

यी युनिट प्रहरीको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षणमा समेटिएका छन् । तर, ओएण्डएममै समेटिएका युनिटहरुमै शौचालयसमेत नहुदा सरकारले सुरक्षा संयन्त्रलाई कुन अवस्थामा राखेको छ भन्ने उजागर गर्छ ।

प्रहरी अभिलेखअनुसार १ हजार ४२ युनिटको आफ्नै जग्गा छैन । जग्गा भएर पनि आफ्नै कार्यालय भवन नभएका युनिटको संख्या ७ सय ७१ वटा छन् । ८ सय ४३ युनिटमा त ब्यारेक नै छैन । ब्यारेक भएरपनि ८ सय ३३ युनिटमा सुरक्षाकर्मीले खाना खाने मेस नै छैन ।

प्रहरी प्रधान कार्यालयसहित विभिन्न युनिटको आन्तरिक व्यवस्थापन, महत्वपूर्ण संरचना तथा विशिष्ट व्यक्तिहरुको सुरक्षा, तालिम र ब्यारेकीकृत संरचना अन्तर्गत करिब करिब २० हजार जनशक्ति छन् । यसबाहेक हेडक्वार्टरदेखि स्थानीय तहसम्म शान्ति सुरक्षा र अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण, विपद व्यवस्थापन, सबारी/ट्राफिक व्यवस्थापन, नागरिक–प्रहरी सम्बन्ध बिस्तारलगायत काममा करिब ६० हजार जनशक्ति खटिएका छन् ।


संघीय राजधानी काठमाडौंमै राष्ट्रपतिदेखि प्रधानमन्त्री र अरु अतिविशिष्ट व्यक्तिहरू दैनिक ओहोरदोहोर गर्ने सडक चोकमै प्रविधि र पूर्वाधारको अभावमा प्रहरीले सकस खेप्दै आएका छन् । उपत्यकासहित विभिन्न जिल्लामा शौचालय नभएका ब्यारेक तथा कार्यालयमा कार्यरत प्रहरी अरु सार्वजनिक निकायका कार्यालय र सर्वसाधारण/छिमेक र नजिकैका होटल/रेस्टुराँका शौचालयलगायतमा जान बाध्य छन् ।

‘भवन नै नभएका ठाउमा शौचालय हुने कुरा पनि भएन । कतिपय ठाउँमा शौचालय नै नहुने, भएका ठाउमा पनि महिला–पुरुषको एउटै शौचालय हुदा त्यसले असजिलो, दुःखजिलो बनाउने नै भयो,’ प्रहरी प्रवक्ता कार्कीले भने, ‘यसलाई व्यवस्थित बनाउन एउटा त, हाम्रो परिकल्पना र सबैभन्दा ठूलो चलायमान संस्थाभित्र तिनले काम गर्ने एउटा कार्यालय भवन होस, त्यो कार्यालय सञ्चालन गर्ने मान्छे बस्ने आवास होस, तिनले खाने एउटा मेस (भान्सा घर) होस र तिनले शौच गर्न पनि एउटा व्यवस्थित शौचालय होस । शौचालय भन्ने बितिक्कै त्यो एक किसिमको आराम गर्ने थलोपनि पनि हो । हाम्रो यो परिकल्पना हो ।’

प्रकाशित : श्रावण ६, २०८१ १८:२७
×