कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

नेता र पार्टीहरूले देश चलाइदिनुस्, बिचौलियाले होइन : पुन

श्रावण ६, २०८१
नेता र पार्टीहरूले देश चलाइदिनुस्, बिचौलियाले होइन : पुन

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले देश नेताहरूले नभई बिचौलियाहरूले चलाउने खतरा बढेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै पुनले नेता र राजनीतिक दलले देश चलाउनुपर्ने बताए ।

संविधानको जुन धारामा टेकेर प्रधानमन्त्री बनेको हो र जुन परिस्थिति तथा परिवेशमा जस्तो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएको अपारदर्शी रहेको पुनको भनाइ थियो । अर्थतन्त्रले लय पक्रिइरहेको अवस्थामा प्रधानमन्त्री ओलीले संसद्मा निराशा बाँडेको पुनले बताए । विदेशी ऋण ल्याएर प्रधानमन्त्री रोजगारका नाममा झार उखेल्ने काम गर्नु सही नभएको पुनको भनाइ थियो । विगतमा ओलीले विकासको कस्तो मोडेल लिएका थिए भन्ने उल्लेख गर्दै पुनले भने, 'विकासको मोडेल कस्तो छ प्रधानमन्त्रीले फर्किएर हेर्नुस्, दमकको भ्यू टावर कति अर्बको हो ? प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा भ्यू टावर सुरु गरेपछि देशैभरीका ७५३ पालिकाहरूमा भ्यू टावर सुरु भएको होइन ? नेतृत्वले उत्पादनमा लगानी गरेको हो कि रोजगारी सिर्जना गर्नेमा लगानी गरेको हो ?'

निवर्तमान अर्थमन्त्री पुनले आफूभन्दा अघि अर्थमन्त्री भएका कांग्रस नेता डा. प्रकाशशरण महत र आफूले बिचौलियाको चलखेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेको भन्दै उनले नयाँ अर्थमन्त्री विष्णु पौडेलले के गर्छन् भन्ने हेर्ने बताए । ‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नलाई मभन्दा अगाडिको अर्थमन्त्रीले कोसिस गर्नुभयो । मैले पनि सकिनँ । अब अहिलेको अर्थमन्त्रीलाई त्यो जिम्मेवारी आएको छ,' पुनले भने, 'म यहाँ नढाँटीकन आमजनताका अगाडि भन्न चाहन्छु कि यो देश राजनीतिक दलले र नेताहरूले चलाउने हो कि बिचौलियाहरूले ?’

उक्त प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिनुपर्ने पुनको भनाइ थियो । ‘यो जवाफ छिट्टै प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मेरो अपेक्षा नेताहरूले त्याग गर्नुभएको छ, बलिदान गर्नुभएको छ, जेल पर्नुभएको छ, युद्धबाट आउनुभएको छ । नेताहरूले देश चलाइदिनुस, पार्टीहरूले देश चलाइदिनुस्, बिचौलियाहरूले होइन,’ पुनले भने ।

दाहाल नेतृत्वको सरकारले सुशासन र भष्टाचारका मुद्धामा छानबिन र कारबाही अगाडि बढाएपछि कांग्रेस–एमाले मिलेको पुनको भनाइ थियो । उनले गिरिबन्धु टी इस्टेट र भुटानी शरणार्थी प्रकरणका विषयमा कारबाही अगाडि बढाएपछि सरकार ढलेको बताए । प्रतिपक्षमा रहँदा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गिरीबन्धुको विषय उठाएको र परिवर्तित सन्दर्भमा पनि एजेण्डा छाड्दैनौं भनेको उल्लेख गर्दै पुनले अब के हुन्छ भन्नेमा कांग्रेसतर्फ पनि प्रश्न उठाइने बताए । ‘कमरेड प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको विभिन्न फाइल खोल्ने, छानबिन गर्ने गर्दा, त्यसैगरी नक्कली भुटानी शरणार्थीलगायत गिरिबन्धु टी इस्टेटसम्मका कुरा उठ्दै गर्दा नेपाली कांग्रेसका महामन्त्रीहरूले हाम्रा एजेण्डाहरू छाड्दैनौं भन्नुभएको छ,' पुनले भने, 'कांग्रसलाई पनि प्रश्न हुन्छ, हिजो यही हाउसमा प्रतिपक्षमा हुँदा गिरिबन्धु टी इस्टेट, गिरीबन्धु टी इस्टेट भन्नुभएको थियो । यसमा के हुन्छ ? हामीले र नेपाली जनताले सही जवाफको अपेक्षा गरेका छन् ।’

प्रकाशित : श्रावण ६, २०८१ १६:१५
×