कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

कांग्रेस-एमालेलाई लामिछानेले भने : त्याग र बलिदानको बदलामा देशको हुर्मत नलिनुहोला

श्रावण ६, २०८१
कांग्रेस-एमालेलाई लामिछानेले भने : त्याग र बलिदानको बदलामा देशको हुर्मत नलिनुहोला

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्र र त्यसका मूल्य तथा मान्यता जोगाउनका लागि गरेको त्याग र बलिदानको बदलामा देशको हुर्मत नलिन सुझाएका छन् । 

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमा आफ्ना धारणा राख्दै लामिछानेले कांग्रेस र एमालेबीचको गठबन्धनले काम गर्न नसके के सन्देश जान्छ भन्ने कुराको हेक्का राख्न पनि सुझाए ।

'एमाले र कांग्रेस गठबन्धनले पनि काम गरेन भने के हुन्छ भन्ने कुराको अन्दाज छ तपाईंहरूलाई ? यो समाजमा कुन सन्देश जान्छ भनेर ?,' लामिछानेले भने, 'लोकतन्त्रका मूल्य र मान्यताहरू, त्यसलाई जोगाउनको निमित्त जति पनि त्याग र बलिदान दिनुभएको छ, त्यो त्याग र बलिदानको बदलामा यो देशको हुर्मत नलिनुहोला ।'

कांग्रेस र एमालेले विगतमा एक्लाएक्लै गरेको काम देखिसकेको र अब मिलेर गर्ने काम हेर्न पाइने पनि लामिछानेको भनाइ थियो । 'तपाईंहरूले काम गरेको त ३४ वर्षमा देखिसकेका छौं, तपाईंहरूको कुन नयाँ रूप देख्न बाँकी छ र ? अब जे बाँकी रहेको छ मिलेर देखाउनुहोला, हेर्न तयार छौं,' लामिछानेले भने ।

लामिछानेले वर्तमान कांग्रेस र एमालेको गठबन्धनबारे पनि प्रश्न उठाएका छन् । यसअघिको सरकारले जुन जुन व्यक्तिमाथि प्रश्न उठाएको र छानबिन गरिएको थियो उनीहरूलाई मन्त्रिपरिषद्मा राखिएको लामिछानेले बताए । ओली नेतृत्वको सरकारले सुरुमा जुन संकेत गरेको छ त्यसले झस्काएको लामिछानेले बताए ।

'सरकार सुरु हुनेबित्तिकै हामीले अनुसन्धान गरिरहेको विषय कोही हाजिरी जमानीमा छुट्नुभएको मान्छे बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो, बाँसबारी छालाजुत्ताको विषय चलिरहँदारहँदै गीतको आवाज आयो बालकोटबाट, त्यहाँ शंकाको विषय बन्यो,' लामिछानेले भने, 'त्यसपछि मन्त्रिपरिषद् बन्यो, जहाँ-जहाँ हामीले विषय उठायौं त्यहाँत्यहाँ पुरस्कार देखियो । नक्कली भुटानी शरणार्थीको विषयमा कुन अनुसन्धान सुरु भयो मन्त्रिपरिषद्मा को गयो संसद् र देशलाई थाहा छ । अनि प्रश्न उठ्यो । हामीले बालमन्दिरको प्रश्न उठायौं त्यहाँ पनि पुरुस्कार । स्काउटको विपषय उठायौं फेरि पनि मन्त्रिपरिषद् हेर्‍यौं ।'

प्रधानमन्त्री ओ‌लीले विश्वासको मत माग्दै गर्दा मुलुकमा निराशाको वातावरण देखेको भनेका थिए । त्यसको जवाफमा लामिछानेले भने, 'प्रधानमन्त्रीले देश यति निराश भएको देखेकै थिएन भन्नुभएको छ, त्यो निराशाको कारक को रहेछ ?'

प्रकाशित : श्रावण ६, २०८१ १६:३६
×