कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

सत्ता प्राप्तिका लागि खेलोफड्को गर्नु उचित होइन : नेपाल 

श्रावण ६, २०८१
सत्ता प्राप्तिका लागि खेलोफड्को गर्नु उचित होइन : नेपाल 

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ कांग्रेस–एमाले गठबन्धनको औचित्य पुष्टि हुने कुनै आधार नभएको बताएका छन् । 

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि आफ्ना धारणा राख्दै अध्यक्ष नेपालले मध्यरातमा दुई दलले अपारदर्शी ढंगबाट बनाएको नयाँ गठबन्धनको संकेत राम्रो नभएको बताए ।

प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै सत्ता प्राप्तिका लागि अनेकौं खेलोफड्को गर्ने काम किमार्थ स्वीकार्य नहुने नेपालको भनाइ थियो । अध्यक्ष नेपालले संसदीय व्यवस्थामा दुई ठूला दलमध्ये एउटा दलले सरकारको नेतृत्व गर्ने र अर्को दलले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा दुवै दल मिलेर सरकार बनाउने कुरा उचित नभएको बताए ।

‘सत्ता प्राप्तिका लागि अनेकौं खेलोफड्को गर्ने अनि राजनीतिक अस्थिरताको दोष व्यवस्थालाई दिनेकुरा किमार्थ उचित होइन । फ्रान्सको एक मिडियाले नेपाललाई राजनीतिक अस्थिरताको विश्व च्याम्पियन भनेर समाचार छापेको छ । सो मिडियाले भनेजस्तै हामी पछिल्लो १४ वर्षमा १५ औं प्रधानमन्त्रीले राख्नु भएको विश्वासको मत सम्बन्धि प्रश्तावमा छलफल गर्दैछौं । तर मनसुन, बाढी, पहिरो र डुवानले हार गुहार गरिरहेका जनताप्रति बेखवर जस्तै छौं,' नेपालले भने, 'पीडितको उद्दार, राहतमा अहोरात्र खटिनुपर्नेमा आज हामी के गरिरहेका छौं ? ठिक यस्तो बेला सरकारको परिवर्तन गर्नु आवश्यक थियो कि थिएन ? जनताले प्रश्न गरेका छन– संसदीय लोकतन्त्रमा प्रतिनिधि सभाको पहिलो र दोस्रो दलको सरकार विरलै देख्न पाईन्छ । एउटाले सरकारमा रहँदा अर्कोले प्रमुख प्रतिपक्षको रुपमा सरकारको खवरदारी गर्नुपर्ने हुन्छ । मध्यरातको अपारदर्शी सम्झौताबाट बनेको यो अप्राकृतिक गठबन्धनको उद्देश्य र औचित्यलाई कसरी पुष्टि गर्न सकिन्छ ? पक्कै पनि यो कुनै राम्रो संकेत देखिँदैन ।’

अध्यक्ष नेपालले जनता विपदमा हारगुहार गरिरहेका बेला नयाँ सरकार बनाउनुपर्ने आवश्यकता किन पर्‍यो भनि प्रधानमन्त्री ओलीलाई प्रश्न पनि गरेका थिए ।

प्रकाशित : श्रावण ६, २०८१ १७:३४
×