कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

त्रिशूलीमा बेपत्ता बस र यात्रु खाेज्न चितवन आइपुग्यो भारतीय उद्धार टोली

श्रावण ५, २०८१
त्रिशूलीमा बेपत्ता बस र यात्रु खाेज्न चितवन आइपुग्यो भारतीय उद्धार टोली

Highlights

  • सो दुर्घटनापछि नारायणी नदी किनारबाट २४ वटा शव भेटिएका छन् । तीमध्ये १५ वटा शवमात्रै उक्त बसका यात्रुकाे भएकाे पुष्टि भएकाे छ ।

काठमाडौँ — नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिका-२९ सिमलताल सिँदुरेगैराकाे लेदाे पहिराेमा बगेर सडकदेखि तल त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई वटा बस र त्यसमा रहेका यात्रुहरूकाे खाेजीका लागि भारतीय उद्वार टाेली चितवन आइपुगेकाे छ ।

चितवन जिल्ला प्रशासन कार्यालयमा घटना बारेकाे विवरण सुनेपछि टाेली तत्काल कुरिनटार लागेकाे छ । त्यसपछि नारायणगढदेखि लगभग २३ किलाे मिटर पर रहेकाे घटनास्थल सिमलताल फर्कने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

असार २८ गते शुक्रबार बिहानपख ६५ जना यात्रु रहेका दुई वटा बस पहिराेमा परेका हुन् । सेना, प्रहरी र सशस्त्र प्रहरीकाे गाेताखाेरसहितकाे टाेलीले उसै दिनबाट खाेजी सुरू गरे पनि हालसम्म बस पत्ता लागेका छैनन् । बसमा रहेका तीनजना यात्रु मात्रै सकुशल छन् । बससँगै बगेका ६२ यात्रुमध्ये खाेजीका क्रममा त्रिशूलीभन्दा तल नारायणी नदी किनार र भारतीय क्षेत्रबाट समेत २४ वटा शव भेटिएका छन् । तर तीमध्ये १५ वटा शवमात्रै उक्त बसका यात्रुकाे भएकाे पुष्टि भएकाे छ ।

भारतकाे राष्ट्रिय आपदा माेचन बल (एनडिआरएफ)का १२ जना प्राविधिक टाेली प्रविधिसहित खाेजीमा आएका हुन् । भारतीय टाेलीमा कुनाल तिवारी, ललित कुमार, रविशंकर सराेज, सुधिरकुमार सिंह, बहादुर नाथ, संदिपकुमार दुवे, बिक्रान्त कुमार, अबध किशाेर, हेमन्तकुमार यादव, मनाेजकुमार यादव, सुनिलकुमार सिंह यादव र लाेकेश कुमार रहेका छन् ।

टाेलीमा चारजना गाेताखाेर छन् । त्य्यसै गरि तीनवटा साेनार क्यामेरा छन् । भारतीय टाेली सात दिनसम्म खाेजीमा खट्ने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यदवले बताए । चितवन प्रशासनकाे छलफल सकिएकाेप छ । भारतीय टाेली कुरिनटार सशस्त्र प्रहरीकाे विपद् व्यवस्थापन तालिम शिक्षालय गएकाे छ । कुरिनटारपछि सिमलताल फर्केर टाेली आजैदेखि खाेजीमा जुट्ने छ ।

दुर्घटनाग्रस्त बसमा एउटामा सात र अर्काेमा दुई गरेर नाैजना भारतीय यात्रु पनि थिए । उनीहरूमध्ये चारजनाकाे शव फेला परेकाे छ ।

प्रकाशित : श्रावण ५, २०८१ १४:२६
x
×