कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

सिमलताल दुर्घटनाको एक साता : त्रिशूलीमा हराएका दुई बस र ४८ यात्रुको अवस्था अझै अज्ञात

श्रावण ४, २०८१
सिमलताल दुर्घटनाको एक साता : त्रिशूलीमा हराएका दुई बस र ४८ यात्रुको अवस्था अझै अज्ञात

चितवन — नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैराको पहिरोमा परेर दुईवटा यात्रु बस त्रिशूली नदीमा बगेको आज शुक्रबार एक हप्ता पूरा भएको छ ।

तर त्रिशूलीमा हराएका दुईवटै बस अझै पत्ता लागेका छैनन् । दुवै बसमा गरेर ६५ जना यात्रुहरू रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । तीमध्ये एउटा बसका तीनजना यात्रुहरू नदीमा पुगे पनि आफैं पौडेर निस्केका थिए ।

यी तीनजना यात्रु मात्रै सकुशल रहेको यो दुर्घटनामा अरु यात्रीको खोजी कार्य जारी नै छ । दुर्घटनास्थल भन्दा निकै तल तल नारायणी नदी तटबाट खोजी टोलीले बिहीबार साँझसम्म २० वटा शव भेट्टाएको छ । जसमध्ये १४ वटा मात्रै दुर्घटनाग्रस्त बसका यात्रीहरूको शव भएको पुष्टि भएर आफन्तले सनाखत गरेका छन् । खोजी टोलीले फेला पारे पनि बाँकी ६ शव कस्को हो भन्ने खुलेको छैन । त्यसैले ४८ यात्रुको अवस्था अज्ञात नै छ ।

दुर्घटनाका बारेमा अध्ययन गर्न सरकारले असार ३१ मा कार्यदल बनाएको थियो । गृह मन्त्रालयका सहसचिव छबिलाल रिजाल संयोजक रहेको नौ सदस्यीय सो कार्यदल बुधबार चितवन आएर फर्केको छ । सो कार्यदलसँग बुधबार दिउँसो चितवन जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुर्घटना भएको समय बित्दै जाँदा शव पत्ता लगाउन र सनाखत गर्न गाह्रो हुने बताएका थिए ।

‘दुर्घटना भएको दिन नदीको बहाब उच्च थियो । शवहरू बगेर भारतीय क्षेत्रसम्म पुगेको अनुमान छ । १०३ किलो मिटर पर त्रिवेणी क्षेत्रबाट पनि शव ल्याएका छौं । तर अब शव भेटाउन गाह्रो छ । भेट्टाए पनि सनाखतमा समस्या हुने अवस्था आउन सक्छ,’ प्रमुख जिल्ला अधिकारी यादवले छलफलमा भनेका थिए । दुर्घटना भएको दिन लम्बिदै जाँदा शव सड्न/गल्न सुरु हुन्छ ।

‘अब शव भेटिए पनि चिन्न लुगा या साथमा परिचय खुल्ने अन्य वस्तु छन् भने अलि सजिलो होला नभए गाह्रो हुन्छ,’ चितवनका प्रमुख जिल्ला अधिकारी यादवको भनाइ थियो । कुनै कुनै शवहरू बालुवामा ९५ प्रतिशत पुरिएको अवस्थामा पनि फेला परेको उनले बताए । भेटिएको मध्ये एउटा शव हराइरहेका बसको यात्रुको हो भन्ने पक्का भए पनि सनाखतमा दुविधा भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी गराए ।

गत शुक्रबार बिहानपख साढे तीन बजे तिर काठमाडौंबाट गौर आउँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल नामको यात्रुबस नारायणगढदेखि करिब २३ किलो मिटर पूर्व उत्तर सिमलताल सिँदुरेगैरामा झरेको लेदोसहितको पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएका छन् ।

सबै यात्रुसहित बस लगभग सय मिटर तल बर्खामा भेल आएर उर्लेको त्रिशूली नदीमै पुगे पनि गणपति यातायातका तीनजना यात्रु पौडेर माथि आएका थिए । अरु सबै बससँगै बगेका थिए । वीरगन्जबाट काठमाडौं जाँदै गरेको बसमा सातजना र अर्कोमा दुईजना गरेर बसमा नौजना भारतीय यात्रुहरू पनि थिए । तीमध्ये चारजना भारतीयको मात्रै शव फेला परेर सनाखत भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।

शवहरू बगेर त्रिवेणी बाँध नागेर भारतीय क्षेत्रसम्म पुगेको आशंकामा बिहार राज्यको पश्चिम चम्पारण र उत्तरप्रदेश राज्यको महाराजगञ्जका जिल्ला अधिकारीहरूसँग पनि समन्वय भएको यादवले बताए ।

बस र हराइरहेका यात्रुको खोजीमा सरकारको सामर्थ्यले भ्याउने सबै जनशक्ति र उपकरणहरू प्रयोग गरेको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ । पानीभित्र गएर खोजतलास गर्ने जनशक्ति गोताखोर र पानीभित्र खोजी गर्ने सोनार जस्ता उपकरणहरू प्रयोग गरे पनि नदीमा हराएको बसको कुनै संकेत पाइएको छैन ।

प्रकाशित : श्रावण ४, २०८१ १०:१५
x
×