कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२
सिमलताल दुर्घटना

हराएका बस र यात्रु खोज्न ‘सोनार’ क्यामरा

श्रावण १, २०८१
हराएका बस र यात्रु खोज्न ‘सोनार’ क्यामरा

Highlights

  • यस क्यामराले ३ सय मिटर गहिराइसम्मको वस्तुको आकार र आकृतिको सूचना दिने

चितवन — पानीभित्रका वस्तुहरूको संकेत दिने उपकरण ‘सोनार क्यामरा’ प्रयोग गरेर त्रिशूलीमा शुक्रबारदेखि हराइरहेका दुई बससँगै यात्रुको खोजी सुरु भएको छ । सोमबारदेखि प्रयोगमा ल्याइएको ‘सोनार’ उच्च क्षमताको भएको सशस्त्र प्रहरीको चितवन कुरिनटारस्थित विपद् व्यवस्थपन तालिम शिक्षालयका सहसमादेशक एसपी जनक पुरीले बताए ।

बेपत्ताको खोजीका लागि सशस्त्रको मुख्यालयबाट इन्जिनियरसहित प्राविधिक टोली आएको हो । ‘सोनार क्यामरा’ले तीन सय मिटर गहिराइसम्मको सूचना दिने एसपी पुरीले बताए । ‘यसअघि प्रयोग भएको सोनार क्यामराले पानीभित्र वस्तु छ या छैन भन्नेसम्म संकेत दिन्थ्यो । अहिलेको क्यामराले वस्तुको आकार, आकृति नै देखाउँछ,’ उनले भने ।

पुरानो ‘सोनार’ले गरेको संकेतका आधारमा शनिबार गोताखोरहरू त्रिशूलीभित्र गएका थिए । ‘तर पानीको सतहमा कंक्रिटको अलि ठूलो ब्लक रहेछ । यो नयाँ सोनारले ढुंगा भए त्यहीअनुसारको आकृति संकेत गर्छ । बस नै देखिएमा त्यही किसिमको आकृति देखाउनेछ । यसले हामीलाई खोजीकार्यमा निकै सहज हुनेछ,’ एसपी पुरीले भने ।

नदीको पानी धमिलो भए पनि ‘सोनार’ले गर्ने काममा केही फरक नपर्ने उनले बताए । तर, बहाव उच्च भएमा मोटरबोट अड्याएर काम गर्न गाह्रो हुन्छ । उद्धार टोली मोटरबोटमाथि नै ‘स्क्रिन’ राखेर खोज्दै घटनास्थलबाट अगाडि बढेको छ । टोलीले देवघाटमा पनि आएर खोजेको थियो । घटनास्थलबाट ५० किलोमिटर परको गोलाघाटसम्म खोज्दै जाने एसपी पुरीले बताए ।

‘सोनार’ले खोज्न सुरु गरेपछि घटनास्थलमा टोली नै बसेर गर्ने खोजतलास स्थगित गरिएको छ । सोमबार साँझसम्म ‘सोनार’ले घटनास्थलदेखि तल दुई किमिसम्म खोजी गरे पनि केही फेला पारेको भने छैन ।

सशस्त्रका सई रमेशबहादुर थापाले कुरिनटारमै गोताखोरका रूपमा १२ वर्ष बिताइसके । सिमलताल दुर्घटनापछि उनी बेपत्ता यात्रु र बसको खोजीमा निरन्तर जुटिरहेका छन् । ‘हामीलाई खोजीकार्यमा गहिराइसँग समस्या छैन । तर पानी निकै धमिलो भएकाले भिजिबिलिटी शून्य जस्तै छ । बहाव निकै उच्च भएकाले जोखिम पनि धेरै छ,’ थापाले भने । चुनौतीका बाबजुद पनि गोताखोरहरू निरन्तर खोजीमा लागेको उनले बताए ।

‘दुई नटभन्दा बढीको वेगमा ड्राइभिङ गर्न उपयुक्त हुँदैन भन्ने मान्यता छ । दुई नट भनेको पानीको वेग प्रतिघण्टा चार किमि रहनु हो । तर हामी प्रतिघण्टा २० देखि ३० किमि गतिको बहावमा पनि पसेर काम गरिसकेका छौं,’ थापाले भने । बर्खाको पानीमा लेदो, मुढा, दाउरा जस्ता अनेकौं बाधा पुर्‍याउने वस्तुको सामना गर्नुपर्ने उनले बताए ।

आइतबार घटनास्थलभन्दा एक किमि तल सम्भावित स्थलमा लगातार आधा घण्टा पानीभित्र खोजेको उनले बताए । उनका अनुसार पानीले निकै हुत्याउने र जान खोजेको ठाउँमा पुग्न पटक–पटक प्रयास गर्नुपरिरहेको छ । सशस्त्रका अर्का गोताखोर नारायण काउछा पनि खोजीमा लगातार खटिएका छन् ।

‘स्कुपा सेट र औजारको वजन २०–२५ किलो हुन्छ । पानीको बहाव तीव्र भएका बेलामा पानीभित्र टार्गेट गरेको ठाउँमा पुग्नै गाह्रो हुन्छ,’ उनले भने । सशस्त्रका १२ र सेनाका पाँच जना गोताखोर खोजीमा खटिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

शुक्रबार बिहानीपख काठमाडौंबाट गौर आउँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस नारायणगढदेखि २२ किमि पूर्वोत्तर भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको हो । बस नदीमै पुगे पनि गणपति यातायातका तीन यात्रुले पौडेर ज्यान जोगाएका थिए भने बाँकी यात्रु बससँगै बगेका थिए ।

चितवन प्रशासनले गौर आउँदै गरेको बसमा ३८ र काठमाडौं जाँदै गरेको बसमा २७ गरी ६५ यात्रु रहेको जानकारी दिएको छ । सोमबारसम्म नारायणी नदीका विभिन्न ठाउँमा भेटिएका १३ शवमध्ये सातवटा शव सिमलताल दुर्घटनामा बेपत्ताको रहेको पुष्टि भएको छ । अन्य ५५ यात्रुको अवस्था सोमबारसम्म अज्ञात छ ।

प्रकाशित : श्रावण १, २०८१ १३:५४
x
×