कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

आउँदा जुन उत्साह छ, बिदा हुँदा पनि कायम राख्नेछु : स्वास्थ्यमन्त्री पौडेल

आउँदा जुन उत्साह छ, बिदा हुँदा पनि कायम राख्नेछु : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमा राष्ट्रिय क्यान्सर रणनीति (२०२४–२०३०) स्वीकृत गरेका छन् । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसमा उदाएका मन्त्री पौडेलको यो नै मन्त्रीका रुपमा पहिलो कार्यकाल हो ।

स्वास्थ्यमन्त्री पौडेल मन्त्रीका रुपमा आफ्नो पहिलो कार्यकाल भएकाले धेरै कुरा आफूले सिक्नु र बुझ्नुपर्ने अवस्था रहेकाले पनि कर्मचारीहरूको साथ र साहयोग आवश्यक पर्ने बताएका छन् । आफू मन्त्री भएर मन्त्रालय छिर्दा अधिकांश कर्मचारीहरूको मुखमा उत्साह देखेको बताउँदै उनले भने, ‘म बिदा भएर जाँदा पनि सबैले ‘केही गरेर गयो’ भन्न सक्ने अवस्था बनोस् भन्ने चाहेको छु ।’

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट विजयी भएका मन्त्री पौडेलले आफूले कम बोलेर धेरै काम गरेर देखाउने प्रतिबद्धता गरेका छन् । तर, आम नेपाली जनतामाझ सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्राप्त हुने सेवालाई असन्तुष्टी रहेका बेला कांग्रेस पार्टीमा युवा नेताका छवि बनाएका मन्त्री पौडेलका सामु पार गर्नका लागि चुनौतीका पहाड नै छन् ।

नेपाली कांग्रेसमा शेखर कोइराला र महामन्त्री गगन थापा समूहबाट मन्त्री बनेका प्रदीप पौडेललाई पूर्व स्वास्थ्यमन्त्री थापाकै अनुभव, सल्लाह र सुझावले केही सहयोग मिल्न सक्छ । तर, विगतका मन्त्रीहरूले पूर्वाधार निर्माण, उपकरण खरिद तथा सरुवा बढुवामा गरेको भाँडभैलोले उनको मन्त्रीको यात्रा सहज हुनलाई चुनौतीहरू थपिन पनि सक्छन् ।

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पूर्ण रुपमा प्राविधिक विषय भएकाले त्यहाँ लामो समयदेखि कार्यरत कर्मचारीकै सुझाव लिएर अगाडि बढ्न आफू प्रतिबद्ध रहेको बताए । ‘नयाँ हुँदै सबै राम्रो लागे पनि चिनजान हुँदै गएपछि एकअर्काको कमजोरीहरू पनि थाह हुँदै जान्छ । सँगै हिँडेपछि कहिले काँही खुट्टा पनि लाग्न सक्छ । तर त्यसलाई अन्यथा मान्नु हुँदैन,’ उनले भने, ‘मन्त्रालयलाई सुधार्नका लागि के गर्न सकिन्छ आफ्नो बुद्धि, विवेक र अनुभवका आधारमा खुला रुपमा पनि भन्नुहोस्, सुटुक्क पनि भन्नुहोस् । स्वास्थ्य सेवामा आमनागरिकले सहजता महसुस गर्ने गरी काम गरौं ।’

मन्त्री पौडेलले पदभार ग्रहण गर्दै आफूले तत्कालीन र दीर्घकालीन रुपमा गरिनुपर्ने कामहरूका बारेमा छिट्टै नै घोषणा गर्ने पनि बताए । उनले आफ्नो पहिलो दायित्व सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा सेवा लिनका लागि लामो लाइन लाग्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने हुने पनि दाबी गरे । यसका साथै, कतै पूर्वाधार हुने उपकरण र जनशक्ति नहुने, कहीँ उपकरण हुने जनशक्ति नहुने र कहीँ जनशक्ति हुने पूर्वाधार र उपकरण नहुने परिपाटी अन्त्य गर्नु पनि आफ्नो लक्ष्य रहेको उनले बताए ।

‘म कुरा गर्नेभन्दा काम गर्ने ठाउँमा आएको छु । म काम गर्ने कोशिस गर्नेछु । म पहिलोपटक मन्त्री भएको हुँ । स्वास्थ्य मन्त्रालयको प्राविधिक र सैद्धान्तिक पक्षका बारेमा मलाई प्रशस्त ज्ञान नहुन सक्छ,’ उनले भने, ‘त्यसकारण म यहाँ काम गरिरहनुभएका, काम गरिसक्नुभएका र यहाँको कामका बारेमा आवश्यक राय र सुझाव दिनसक्ने विज्ञहरूसँग परामर्श गरेर तात्कालिन र दीर्घकालिन दुई खाले कार्यक्रमहरू ल्याउने छु ।’

उनले स्वास्थ्य मन्त्रालयले अबको एक साता भित्र सात दिन, एक महिना, तीन महिना, छ महिना तथा वर्ष दिनभित्र गर्ने कामका बारे जानकारी दिइने पनि बताए । यसका साथै उनले स्वास्थ्य बीमा कार्यक्रममा सम्पूर्ण नेपालीलाई कसरी समेट्न सकिन्छ भन्ने बारे पनि सबै सरोकारवालाहरूसँग आवश्यक सल्लाह गरेर त्यस बारे निर्णय गरिने पनि बताए ।

धेरै ठूला कामहरू गरेरभन्दा पनि साना–साना काम गरेर परिवर्तन सम्भव छ भनेर देखाउन आफू मन्त्रीका रुपमा लाग्ने पनि उनले बताए । मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयमा खरिदको विषयमा मात्रै नभएर सबै विषयलाई पारदर्शी र जवाफदेही बनाउनका लागि आफू लाग्ने पनि प्रतिबद्धता जनाए ।
‘मन्त्रालयको एउटामात्रै विषय होइन सबै विषय पारदर्शी र जवाफदेही हुनुपर्छ,’ उनले भने, ‘राज्यले गरेको लगानी अनुसार प्रतिफल दिन सकेको छैन । पूर्ण प्रतिफल दिन सक्ने स्थिति निर्माण गर्ने हाम्रो कोशिस हुने छ ।’ यसका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गरेर स्वास्थ्यमा लगानीलाई बढाउनुका साथै क्षेत्र विस्तार गर्ने कोशिस पनि आफूले गर्ने उनले बताए ।

यस्तै स्वास्थ्य मन्त्रालयमा मन्त्री परिवर्तन हुने बित्तिकै विभिन्न सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुखहरूको फेरबदल गर्ने खराब परिपाटी रहेपनि आफ्नो प्राथमिकतामा भने त्यस्तो काम नराखेको पनि उनले दाबी गरे । ‘सबै कर्मचारीले काम गर्ने वातावरण पाउनुपर्छ । मन्त्रालयको र देशको काम गर्ने हो, कुनै व्यक्तिको काम गर्ने होइन,’ उनले भने, ‘व्यक्तिको स्वार्थ पुरा गर्ने गरी लिगेसी जोडिनु पर्दैन । मन्त्रालयको काम प्रभावकारी ढंगबाट गर्ने हो । त्यो एक्लैले गर्न पनि सम्भव छैन । त्यसैले कर्मचारीलाई काखापाखा गर्ने काम हुँदैन ।’

राजनीतिक यात्रा
प्रदीप पौडेललाई स्कुले जीवनदेखि नै राजनीतिकमा चासो थियो । २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाउँदा पौडेल सिद्धार्थ वनस्थलीमा ९ कक्षामा अध्ययनरत थिए । १५ वर्षका विद्यार्थीको प्रजातन्त्रिक आन्दोलन प्रतिको आस्थालाई दबाउनका लागि पञ्चायती शासकले उनलाई केही समय हिरासतमा समेत राखेको थियो ।

२०५३ सालको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अमृत साइन्स कलेजको सभापतिमा विजयी भएर उनले विद्यार्थी राजनीतिको औपचारिक यात्रा सुरु गरेका थिए । कांग्रेसको विद्यार्थी संगठन नेविसंघबाट पौडेल सभापतिमा विजयी हुँदा अन्य सबै पदमा भने अखिलका विद्यार्थी नेताहरू विजयी भएका थिए । अखिलको किल्ला भनेर चिनिने अमृत साइन्स कलेजमा प्रदीपको विजय उनका राजनीतिक यात्राकै कोशेढुंगा हो । २०५७ सालदेखि २ वर्ष नेवि संघको केन्द्रीय समितिमा सदस्य रहेर काम गरेका उनी २०५९ सालदेखि २०६४ सालसम्म तीन पटक नेविसंघको उपाध्यक्षसमेत भएका थिए ।

२०६२–६३ सालको जनआन्दोलनमा आफूमात्र सक्रिय रुपमा सहभागी भएका पौडेल त्यतिबेला ११ महिना जेलसमेत परेका थिए । चितवनमा २०६५ सालमा भएको नेविसंघको महाधिवेशनबाट प्रदीप अध्यक्षमा निर्वाचित भएका थिए ।

नेविसंघलाई अध्यक्षका रुपमा ३ वर्ष ७ महिना चुस्तदुस्त, क्रियाशिल, सांगठनिक रुपमा बलियो बनाएका प्रदीपलाई तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टीको केन्द्रीय समितिमा सदस्यका रुपमा मनोनित गरेका थिए । त्यसपछि अनवरत रुपमा पार्टीको सांगठनिक, वैचारिक, परिवर्तनकारी भूमिकामा उल्लेख्य योगदान गर्दै आएका प्रदीप पौडेल १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

१४ औं महाधिवेशनमा उनी शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीका उम्मेदवारसमेत थिए । उनी महामन्त्री पदमा गगन थापासँग पराजित भएका थिए । त्यसपछि केन्द्रीय सदस्य मनोनित भएका उनी २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट विजयी भएका हुन् ।

प्रकाशित : असार ३१, २०८१ १८:४३
x
×