कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

संसद्मा नेताहरूले एकअर्कालाई पढाए नैतिकताको पाठ

असार २९, २०८१
संसद्मा नेताहरूले एकअर्कालाई पढाए नैतिकताको पाठ

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार संसद्मा पाँचौं पटक विश्वासको मत लिइरहँदा नेताहरूबीच नैतिकतालाई लिएर आरोपप्रत्यारोप चलेको छ । प्रधानमन्त्री दाहालले कांग्रेस र एमालेबीच भएको नयाँ राजनीतिक समीकरणलाई कटाक्ष गर्दै अल्पमतमा परेपछि संसद् नै विघटन गर्ने बानी परेकाहरूले आफूलाई नैतिकताको पाठ पढाउने प्रयास गरेको बताएका थिए । कांग्रेस र एमालेका नेताहरूले भने दाहालले आफ्नो गल्ती महसुस नगरेको र अरूमै समस्या देख्ने गरेको टिप्पणी गरेका थिए ।

‘एमालेले विश्वासको मत फिर्ता लिएपछि दीर्घकालीन असरका निर्णय त परको कुरा, एउटा पनि नियुक्ति गरेको छैन । तपार्इंहरूले कहिल्यै देखाउनुभएको छ यो नैतिकता ?’ उनको प्रश्न थियो, ‘अल्पमतमा परेपछि पनि विगतमा एमाले नेतृत्वले कस्ता कस्तासम्म निर्णय गर्नुभएको छ, त्यो रेकर्ड इतिहासमा सुरक्षित छ ।’ प्रधानमन्त्री दाहालले संसद्को पहिलो र दोस्रो ठूलो दललाई विश्वास र आदर्शले भन्दा डरले जोडेको दाबीसमेत गरे । उनले दुई पार्टीका शीर्ष नेताहरूले आफ्नै पार्टी पंक्तिलाई समेत अन्धकारमा राखेर नयाँ सत्ता समीकरण निर्माण गरेकाले पनि नियत सफा नभएको प्रस्ट भएको बताए । ‘नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अध्यारोबन्द कोठा चाहिन्छ ? झूटमुट र कुतर्कको सहारा र मध्यरात चाहिन्छ ?,’ उनले भने ।

प्रधानमन्त्री दाहालले आफूले लोकतन्त्रको गोडमेल र विधिको शासन सुरु गरेकै कारण कांग्रेस र एमाले डराएर एक ठाउँमा उभिएको दाबीसमेत गरे । ‘नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही संसद्मा सुरु गर्न सकिन्थ्यो । तपाईंहरू विमर्श होइन, षड्यन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईंहरूले सहमति गरेको ठाउँ र समयबाट पुष्टि हुन्छ,’ उनले भने, ‘जुन समूहहरूले तपाईंहरूलाई जोडेका छन्, तिनीहरूको सेवा नै तपाईंहरूको कर्तव्य भएपछि लोकतन्त्रको प्रतिष्ठा र जनसमर्थन अझ गिर्नेछ भन्ने मेरो ठूलो चिन्ता छ ।’

उनले आफ्नो सरकारले जनतालाई सुशासनको ठोस अनुभूति दिने प्रयास गरेको दाबीसमेत गरे । ‘देशको एउटा विशेष वर्ग कानुनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास गर्‍यो । कुनै यती, कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको बोझ र कलंक नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण पेस गर्‍यो,’ उनले भने ।

सरकारको सुशासन अभियानले हिजोसम्म कानुनमाथि नै शासन गरिरहेको वर्ग सरकारसँग डराएका कारण त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलाएको उनको तर्क थियो । उनले आफूमाथि लगाइएको अस्थिरताको आरोपको पनि ‘रोस्टम’बाटै खण्डन गरे । निर्वाचनअघि गरिएको सहमतिको पालना नभएपछि आफू बाध्य भएर एमाले, रास्वपा, राप्रपा र जसपालगायत दलहरूको समर्थनमा प्रधानमन्त्री बनेको उनले बताए ।

‘प्रधानमन्त्रीका रूपमा म राष्ट्रिय सहमति र सहकार्यतिर अग्रसर थिएँ । मैले पहिल्यै पनि भनें सभामुख दोस्रो ठूलो दलबाट भइसकेपछि संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रपति दिँदा जनमतको सम्मान हुन्छ र शक्तिको पनि न्यायपूर्ण वितरण हुन्छ,’ उनले भने, ‘मेरो यही अडानमा असहमत भएर एमाले सरकार र गठबन्धनबाट बाहिरिएपछि फेरि निर्वाचनपूर्वकै गठबन्धन बन्ने अवस्था आएको हो । यसमा अस्थिरताको आरोप न विवेकपूर्ण छ न न्यायपूर्ण ।’

उनले निर्वाचनपूर्वकै गठबन्धन अर्थात् कांग्रेससहितको सत्ता समीकरणमा आफू प्रधानमन्त्रीका रूपमा सुरक्षित भए पनि आफ्नो अपेक्षाअनुसार सरकारले गति लिन नसकिरहेको बेलामा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बहकाएर नयाँ समीकरण तयार पारेको बताए । ‘वास्तवमा तेज गतिमा सरकार चलाएर लोकतन्त्रप्रति जनताको भरोसा बढाउने हुटहुटी र अलिअलि वामपन्थी आन्दोलनको भावुक बहकाउले नै मलाई एमालेसहितको गठबन्धनमा लगेको हो,’ उनले भने, ‘जसलाई मैले वाम ‘सेन्टिमेन्ट’ ठानेको थिएँ, त्यो षड्यन्त्र थियो भन्ने थाहा पाउन म ढिलो भएँ ।’

प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीले आफूलाई लामालामा मीठा र भरोसापूर्ण संवादहरूबाट अल्मल्याएको आरोपसमेत लगाए । ‘स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ । म यसको नैतिक जिम्मेवारी लिन तयार छु,’ उनले भने, ‘नयाँ सत्ता समीकरण बनाइरहेका साथीहरूलाई मेरो यत्ति भन्नु छ, तपाईंहरूको आपसी अनुभव अप्रिय नहोस् । कसैमाथि धोका नहोस् ।’

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले जे जति बिग्रिएको छ, त्यो कांग्रेस र एमालेले बिगारेको हो भन्ने भाष्य निर्माण गर्न खोजेकोप्रति प्रतिवाद गरे । उनले प्रधानमन्त्रीको प्रतिउत्तर उर्दू सायर गालिबको सायरी पढेर दिए । ‘उम्रभर गालिब यही भूल कर्ता रहा, धुल चेहेरे पे थि, ऐना साफ कर्ता रहा,’ उनले भने, ‘सबै कांग्रेसले मात्रै हो बिगारेको, एमालेले मात्रै हो बिगारेको ? अर्कोमा मात्रै समस्या देख्ने, दोष देख्ने कुराले पनि ठीक गर्दैन ।’ एमाले नेता योगेश भट्टराईले प्रधानमन्त्री दाहालले संसद्मा बोलेका विषयमा आजीवन जवाफ दिनुपर्ने अवस्था रहने बताउँदै कुतर्कको सहारा लिन नहुने धारणा राखे । ‘एउटा नेताले जब बोल्छ उसले जीवनभर त्यसको जवाफ दिनुपर्छ,’ उनले भने, ‘आज प्रधानमन्त्री दाहालले जे बोल्नुभयो त्यसको जवाफ जीवनको अन्तिमसम्म दिनुपर्छ ।’

सांसद भट्टराईले एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै’ भनेको विषयलाई उनले नबुझेको बताए । ‘देशलाई प्रयोगको थलो बनाइरहनु उचित हुँदैन । हामी सबै यही संसद्को हलमा भित्रै हो । हाम्रो पार्टी अध्यक्षको स्वर्ग गए पनि सँगै, नर्क गए पनि सँगै भन्नुको अर्थ त्यो हो । त्यो तपाईंको पदको लागि भनेको होइन,’ उनले भने ।

एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउँदै गर्दा सचेत रहन कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाए । ‘कांग्रेस सभापतिलाई आग्रह गर्न चाहन्छु, नेपालको लोकतान्त्रिक व्यवस्थालाई कमजोर हुने गरी, संसद् विघटन हुने गरी साक्षी नबस्नुहोला । यो १०० प्रतिशत त्यो ठाउँमा पुग्छ,’ चौधरीले भने, ‘चार महिनापछि बहालवाला प्रधानमन्त्रीको जस्तो हालत नहोस् । यो ‘छल ग‍र्‍यो मायाले...’ भन्ने गीत छ, त्यो गुनगुनाउन नपरोस् ।’ कांग्रेस र एमालेको सरकार धेरै नटिक्ने पनि चौधरीको भनाइ थियो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले फाइल खोलेर काम थाल्दा सरकार ढालिएको आरोप दोहोर्‍याएका थिए । कांग्रेस र एमालेका सांसदले फाइल खोल्ने भनेर ‘स्टन्ट’ गरिएको भनी लगाएको आरोपको जवाफ दिँदै लामिछानेले काम गर्न लाग्दा सरकार ढालिएको दाबी गरे । ‘यही सदनमा उभिएर एक जना माननीयले भन्नुभएको थियो फाइल खोल्छु, फाइल खोल्यो भने यो गर्छु, त्यो गर्छु भन्नुभएको, खोइ खोल्नुभएको भन्नुभएको थियो,’ लामिछानेले भने, ‘फाइल खोलेको २४ घण्टामा सरकार ढाल्नुभयो, कसरी खोल्ने फाइल ?’

कांग्रेस र एमालेले के कारणले सहमति गरेका हुन् भन्ने आजसम्म पनि सार्वजनिक रूपमा नभनेको लामिछानेको भनाइ थियो । उनले सहमति केही नेताहरूबाहेकलाई जानकारी नरहेको बताए । कांग्रेस र एमालेका सांसदलाई पनि सहमतिमा के लेखिएको छ भन्ने जानकारी नभएको लामिछानेको भनाइ थियो । ‘यो सहमति न राष्ट्रलाई थाहा छ, न सहमति गर्ने दलका सांसदहरूलाई थाहा छ । के सहमति होला, यो कस्तो सहमति होला मध्यरातमा कुनै व्यापारीको घरमा गर्नुपर्ने ?’ उनले भने, ‘त्यसलाई राष्ट्रिय सहमतिको नाम दिनुपर्ने ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले उपप्रधान तथा गृहमन्त्रीको पदबाट लामिछानेको बिदाइ कामै नगरी हुन लागेको आरोप लगाए । शाहीले गृहमन्त्रीलाई सरकार ढल्नुको गलत भाष्य बनाउने प्रयास नगर्नसमेत सुझाव दिए । गृहमन्त्री लामिछानेले सुशासन भन्ने गरेको तर काम भने नगरेको शाहीले बताए । ‘अर्कालाई आरोप लगाउँदै गर्दा आफूले ऐना हेर्ने कि ?’ उनले भने । लामिछानेको भाषण सुनेपछि अझै जीबी राई पक्राउ पर्ने आशा राखेको शाहीको भनाइ थियो । लामिछानेले संसद्को ‘रोस्टम’ झूटो बोल्नका लागि प्रयोग गरेको पनि शाहीले बताए ।

‘संसद्को ‘रोस्टम’ झूटका लागि प्रयोग नगरौं । सत्य बोल्नुस्, काम गर्न सकेनौं, समय भएन, फेरि पक्राउ गरौंला भन्नुस्,’ शाहीले भने । ठूला दलहरूबीच समीकरण र सर्त नमिल्दा सरकार ढलेको कुरा भन्न शाहीले लामिछानेलाई आग्रह गरे । ‘फाइल खोलेर एक जना मान्छे जेल हाल्या छैन । न निर्मलाका हत्यारा पत्ता लागेको छ, न जीबी राई पक्राउ गरेको छ, न सहकारी ठगीका दोषी जेल गएका छन्, न भुटानी शरणार्थी प्रकरणका दोषी जेल गएका छन्,’ उनले भने, ‘ठूला नेता मिले, कुर्सीको लडाइँ मिलेन भनौं, फाइल खोल्दा सरकार ढल्यो नभनौं ।’

प्रकाशित : असार २९, २०८१ ०५:५३
x
×