कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

लामिछानेले भने- 'फाइल खोलेको २४ घण्टामा सरकार ढाल्नुभयो'

लामिछानेले भने- 'फाइल खोलेको २४ घण्टामा सरकार ढाल्नुभयो'

Highlights

  • 'रातारात संविधान, व्यवस्थाको चिन्ता कसरी भयो ? जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढकाउन पुग्यो तब तपाईंहरूलाई संविधानको याद आयो ?'

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले फाइल खोलेर काम थाल्दा सरकार ढालिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतको प्रस्तावमाथि धारणा राख्दै फाइल खोलेको २४ घण्टामा सरकार ढालिएको बताएका हुन् । 

कांग्रेस र एमालेका सांसदहरूले फाइल खोल्ने भनेर स्टन्ट गरिएको भनी लगाएको आरोपको जवाफ दिँदै लामिछानेले काम गर्न लाग्दा सरकार ढालिएको बताए । 'यहि सदनमा उभिएर एकजना माननीयले भन्नुभएको थियो फाइल खोल्छु, फाइल खोल्यो भने यो गर्छु, त्यो गर्छु भन्नुभएको, खोइ खोल्नुभएको भन्नुभएको थियो,' लामिछानेले भने, 'फाइल खोलेको २४ घण्टामा सरकार ढाल्नुभयो, कसरी खोल्ने फाइल ?'

कांग्रेस र एमालेले सरकार किन ढालियो भन्नेबारे ढाँटेको लामिछानेको भनाइ थियो । उनले भने, 'सरकार के कारणले ढल्यो ? हाम्रो सहमति के भयो ? भनेर तपाईंले सदनलाई ढाँट्नुभयो । यो देशको बच्चाबच्चालाई थाहा छ, सरकार किन ढल्यो । '

कांग्रेस र एमालेले सहमति के कारणले गरेका हुन् भन्ने आजसम्म पनि सार्वजनिक रूपमा नभनेको लामिछानेको भनाइ थियो । उनले सहमति केही नेताहरू बाहेकलाई जानकारी नरहेको बताए । कांग्रेस र एमालेका सांसदहरूलाई पनि सहमतिमा के लेखिएको छ भन्ने जानकारी नभएको लामिछानेले बताए ।

'यो सहमति न राष्ट्रलाई थाहा छ, न सहमति गर्ने दलका सांसदहरूलाई थाहा छ । के सहमति होला, यो कस्तो सहमति होला मध्यरातमा कुनै व्यापारीको घरमा गर्नुपर्ने ?,' उनले भने, 'त्यसलाई राष्ट्रिय सहमतिको नाम दिनुपर्ने ? राष्ट्रिय जस्ता गहन शब्दहरू यसको परिभाषा कुनै एउटा व्यापारीको घरमा आजसम्म देश, जनता, दलका नेता कसैलाई थाहा नदिइएको सहमतिलाई राष्ट्रिय भनेर लेपन लगाउँदा राष्ट्र र राष्ट्रिय शब्दको मानमर्दन भएको छ । यो सहमति हुन सक्ला तर यो राष्ट्रिय सहमति होइन ।'

सहमतिमा कांग्रेस र एमाले कसरी पुगे भन्ने विषय शंकास्पद रहेको लामिछानेको भनाइ थियो । 'एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी पुग्यो ? रातारात संविधान, व्यवस्थाको चिन्ता कसरी भयो ? जब अनुसन्धानको सुई कसैको घरको ढोकामा ढकढकाउन पुग्यो तब तपाईंहरूलाई संविधानको याद आयो ?,' उनले भने ।

प्रकाशित : असार २८, २०८१ १५:३५
x
×