कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रवि लामिछानेको पासपोर्ट छानबिन समिति पनि बनाउनुपर्छ : मुकुल ढकाल

रवि लामिछानेको पासपोर्ट छानबिन समिति पनि बनाउनुपर्छ : मुकुल ढकाल

Highlights

  • 'कानुनअनुसार पार्टीको महामन्त्री र प्रवक्ताबाट निलम्बित भएको छैन । रवि लामिछाने क्लबबाट मात्र म निलम्बित र निस्कासित हो'

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका निष्कासित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेको पार्टपोर्टको विषयमा पनि अब छानबिन समिति बनाउन माग गरेका छन् ।

ढकालले पत्रकार सम्मेलन गर्दै सहकारी ठगीको विषयमा पनि अब पार्टीभित्र पनि उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक परेको बताए । उनले पार्टीको जीवनसँग जोडिएकाले अब रविको पासपोर्ट लगायतका विषय पनि टुंगोमा पुग्नुपर्ने बताए ।

उनले सहकारीको विषयमा छानबिन अघि बढाउन सर्वोच्च अदालतले समेत ठहर गरेकोले अब पार्टीभित्रै स्वतन्त्र छानबिन समिति आवश्यक परेको बताए । 'पहिले उहाँले विधि प्रक्रिया नबुझ्दा दुइटा पासपोर्टको समस्यमा पर्नुभयो भनेर मैले साथ दिएँ तर अहिले पार्टीकै भविष्यको चिन्ता भएकाले अब पासपोर्टको विषयमा पनि स्वतन्त्र छानबिन हुनुपर्छ,' उनले पत्रकार सम्मेलनमा भने ।

उनले सहकारीको विषयमा विगतमा कुनै जाहेरी र उजुरीको परेको छैन भन्नु भएको थियो तर अब सर्वोच्चबाट समेत छानबिन हुनुपर्छ भन्ने ठहर भइसकेको छ त्यसैले रास्वपाले छुट्टै छानबिन समिति बनाउनुपर्छ ।'

उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई रवि लामिछाने क्लबमा परिणत गरिएको आरोप लगाउँदै अब त्यो क्लबबाट पार्टी बनाउन आवश्यक रहेको बताए । आफूलाई राजनीतिक दल ऐनअनुसार स्पष्टीकरणको मौकासमेत नदिई महामन्त्रीबाट निष्कासन गरिएको कुरा कानुनविपरीत रहेको उनले दाबी गरे । उपसभापतिले पदबाट हटाउने अधिकारसमेत नरहेको उल्लेख गर्दै ढकालले उनले वैधानिक रुपमा आफू नै पार्टीको महामन्त्री र प्रवक्ता रहेको दाबी गरे ।

'म कानुन अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टीको महामनत्री र प्रवक्ताबाट निलम्बित भएको छैन । रवि लामिछाने क्लबबाट मात्र म निलम्बित र निस्कासित हो,' उनले भने, 'स्पष्टीकरणको मौका नदिइकन निलम्बनको पत्र थम्याउनुभयो । राजनीतिक दलसम्बन्धी ऐन र स्वतन्त्र पार्टीको विधानअनुसार निलम्बन भएको छैन ।'

प्रकाशित : असार २६, २०८१ १५:५२
×