कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

अमेरिकामा रहेका नेपाली नर्सको कोरोना अनुभव : डर छ, तर रोग लाग्दैमा मरिँदैन

चैत्र १७, २०७६
अमेरिकामा रहेका नेपाली नर्सको कोरोना अनुभव : डर छ, तर रोग लाग्दैमा मरिँदैन

Highlights

  • 'दुई हप्तासम्म घरमै पनि मास्क लगाएँ'

क्यालिफोर्निया — अमेरिकाका विभिन्न अस्पतालमा नेपालीहरू व्यवसायिक नर्सको रूपमा काम गर्दै आएका छन् । अमेरिकामा नर्सको जागिरलाई निकै आकर्षक र सम्मानित मानिन्छ । तर कोरोना (कोभिड—१९) भाइरसका कारण यतिबेला यही जागिर निकै जोखिमयुक्त छ ।

कोभिड- १९ को महामारीका बेला उनीहरू अग्रपंक्तिमा रहेर बिरामीको उपचारमा खटिएका छन् । यस्तो जोखिम परिस्थितिमा उनीहरूको कामको सबैले प्रशंसा गरेका छन् । धेरै सहरमा उनीहरूको कामको प्रशंसा गर्दै सर्वसाधारणले ताली बजाएर सम्मान व्यक्त गरेका छन् । यसै प्रसंगमा अमेरिकाको क्यालिर्फोनिया र सियाटलको अस्पतालमा काम गर्ने रजिष्ट्रड नर्सहरूले आफ्‍ना अनुभव कान्तिपुरकर्मी प्रतिमा बाँस्कोटासँग साटेका छन् ।

डर त छँदैछ, तर रोग लाग्दैमा मरिँदैन ः ईश्वरी बस्‍नेत

म २७ वर्षदेखि नर्सिङ पेशामा आबद्ध छु । अहिले स्याक्रोमेन्टो सहरको एक हेल्थ केयरमा ६ वर्षदेखि रजिष्टर्ड नर्सको रूपमा काम गर्दैछु । मेरो प्रमुख जिम्मेवारी इमर्जेन्सीमा आएका बिरामीहरूको ख्याल राख्‍नु हो । कोभिड—१९का बिरामीहरू हाम्रो अस्पतालमा पनि आउँछन्, आइरहेका छन् । इमर्जेन्सीमा काम गर्दा त्यसका बिरामीहरूको प्रत्यक्ष सम्पर्कमा पुग्‍न सकिने सम्भावना हुन्छ ।

हाम्रो अस्पतालमा कोरोनाका बिरामी र अन्य बिरामीका लागि अलग अलग नाम दिएर उपचार गर्ने व्यवस्था गरिएको छ । ती नाम हुन ‘हट’ र ‘कोल्ड’ । ‘हट’ विभागमा कोरोना संक्रमित बिरामी जान्छन् । अमेरिकामा अस्पतालको इमर्जेन्सीमा जानु न्दा अघि अस्पताल किन आउन लागिएको हो फोन गरेर मात्र जाने व्यवस्था गरिएको छ । लक्षणहरू कोरोनाको भए ‘हट’ विभागमा पठाइन्छ । लक्षण पुष्टि भए पनि संक्रमितको अवस्था गम्भीर देखिएन भने उनीहरूलाई घर नै पठाइन्छ । गम्भीर देखिए भेन्टिलेटरमा राखेर उपचार सुरु हुन्छ । आईसीयूमा राखिएका बिरामीसँग काम गर्ने डाक्टर र नर्सले भने पर्सनल प्रोटेक्सन इक्युप्मेन्ट(पीपीई) किट लगाएर काम गर्ने हो ।

सुरुवाती परीक्षणमा रोग लागेको नदेखिए पनि दोस्रो हप्तापछि पुनः त्यही बिरामी फर्किएर अस्पताल आएको अवस्था छ । त्यस्तो बेलामा म जस्ता नर्सहरूलाई पनि संक्रमण हुन सक्ने सम्भावना हुन्छ । अस्पतालमा काम गर्ने म जस्ता सबै नर्स वा डाक्टरहरूमा संक्रमणको भय त हुन्छ । अस्पतालमा आफ्नै सहकर्मीबीच दूरी कायम राखेर हामी काम गर्छौं । सबैको अनुहार मलिन हुन्छ ।

मनमा डर त लागि नै रहन्छ तर पनि आफ्नो काम हो गर्नु त परिहाल्यो । तर पनि मलाई के थाहा छ भने कोरोना लाग्‍नेबित्तिकै मरिने होइन । उच्च मनोबल र सर्तकताले संक्रमणपछि पनि निको हुन मद्दत गर्छ । त्यसैले म अमेरिका र नेपालमा बस्नु भएका सबै नेपालीलाई यो संकटको अवस्थामा दूरी कायम गरेर बस्न र आफ्नो मनोबल उच्च बनाउन अनुरोध गर्छु । ‘सेल्फ आइसोलेसन’ भनेको जहाँ छ त्यहीँ बस भनेको हो । ससुराली वा मामाघर जाउ भनेको होइन । यो संक्रमण आगोको झिल्कोझैं सल्किरहेको छ । त्यस्तो अवस्थामा जतिसक्दो दूरी कामय गरेर बस्‍नु आवश्यक छ ।

महत्वपूर्ण कुरा के हो भने रोग लाग्छ वा लाग्यो भनेरे त्रासले भाग्ने ठाउँ त कहीं हुँदैन । सावधानी अपनाएर काममा खटिने हो । आवश्यक परेको बेला काममा खटिएन भने अरु बेलाको यसको महत्त्व नै रहन्न । बिरामीलाई छिटो निको बनाउन मद्दत गर्नु मेरो पहिलो जिम्मेवारी हो । म यो जिम्मेवारीबाट कत्ति पनि पछि हट्दिनँ ।

म जस्तै अरुको पनि परिवार छ । उनीहरू पनि काम सकेपछि घर नै जान्छन् । दिनभरी काम सकेर घर पुगेपछि अस्पतालमा लगाएका लुगा जुत्ता गाडी ग्यारेजमा खोलेर ‘वासिङ मेसिन’ मा हालिदिन्छु । अनि घरभित्र गएर सरासर नुहाएपछि मात्र घरका सामानहरू छुने चलाउने गर्छु ।

दुई हप्तासम्म घरमै पनि मास्क लगाएँ ः रोजी कार्की

अमेरिकाकै सियाटल राज्यको एउटा अस्पतालमा ५ वर्षदेखि रजिष्टर नर्सको रूपमा काम गर्दै आएकी छु । मैले काम गर्ने अस्पतालको नाम बताउन मिल्दैन । मैले काम गर्ने विभाग सर्जिकल भए पनि केही साताअघि कोरोनाको बिरामीको प्रत्यक्ष सम्पर्कमा म आउनु पर्‍यो । त्यो बेला कोरोनाको संक्रमण भर्खरै मात्र देखिन थालेको थियो ।

अस्पतालमा एक महिला आफ्नो श्रीमानको मुटुको अप्रेसनका लागि आएकी थिइन् । ती महिलासँग बिरामीका बारेमा जानकारी लिएँ । त्यसको एक हप्तापछि ती महिला कोरोनाबाट संक्रमित भएको रिपोर्ट आएछ । म घरमा नै भएको बेला अस्पतालबाट फोन आयो । मेरो सम्पर्कमा हप्ता दिन अघि सम्पर्कमा आएकी ती महिला कोरोना संक्रमित भएर अस्पताल भर्ना भइछन् । डरले मन काम्यो । त्यो बेला नै मेरो श्रीमानलाई रुघाखोकी र घाँटी दुख्ने भइरहेको थियो । अस्पतालबाट कोरोना घरमा ल्याएँ कि भन्ने डर भयो ।

अस्पताल व्यवस्थापनले मलाई मास्क लगाएर मात्र अस्पताल भित्र पस्न भन्यो । मैले घरमा पनि २ हप्तासम्म मास्क नै लगाएर बसें । श्रीमान् र १० वर्षीय छोरालाई नछोई अलग्गै बसें । तीन जनाको परिवार हामी अलग अलग कोठामा सुत्यौं । छोरो सुरुमा अलग सुत्न मानेको थिएन, सम्झाएर सुतायौं । घरभित्रै पनि हामी दूरी कायम गरेर बस्यौं । छोरो म कामबाट फर्केर आउँदा अंगालो मार्न आइपुग्थ्यो । छोरो नगर भने पछि अनुहार अध्याँरो बनाउथ्यो । अब त ऊ बुझ्ने भइसक्यो । म कामबाट घर आइपुगेर परैबाट हेलो, हाई भन्दा पनि पहिला नुहाएर आउनु भन्छ, थप जवाफ दिँदैन ।

प्राय: जसो मानिसहरू घरमा बसेर काम गर्दा वा संक्रमणका कारण घरमा बसेका बेला आफूले अरुलाई मद्दत गर्न पाउँदा एकदमै गर्व लाग्छ । सुरक्षित भएर काम गर्ने हो भन्ने थाहा छ । दिनभरी काम गरिञ्जेल घर परिवारको खासै वास्ता हुँदैन । तर काम सकेर घर आउँदा चाहीँ मलाई संक्रमण भयो कि, घरमा श्रीमान् वा बच्चालाई सर्ला कि भनेर मनमा चिसो पस्छ ।

घरभित्र पस्नासाथ पहिला नुहाएर मात्र भान्सातिर जान्छु ।

संक्रमणको आशंका भएका बिरामीसँग काम गर्नु पर्दा पीपीई लगाएर काम गर्ने हो । पीपीई लगाएपछि प्रत्यक्ष संक्रमणको आंशका हुँदैन । आशंकै नगरिएको व्यक्तिमा पनि परीक्षणपछि संक्रमण देखियो र काम गर्दा संक्रमण भइहाल्यो भने पनि यसबाट तुरुन्तै मरिँदैन । सकरात्मक सोचाइ र स्वस्थ्य खानपानले इम्युनिटी पावर’ बढाउँछ । म यो संक्रमणलाई प्रतिरोध गरेर निको हुन सक्छु । यसका लागि मैले मेरो नियमित खानपानमा पनि परिवर्नत गरेकी छु । स्वथ्य खानेकुरा, दालभात, साग सब्जी र फलफूल धेरै खाने गरेकी छु ।

प्रकाशित : चैत्र १७, २०७६ ०७:४७
x
×