कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइयो

आश्विन २, २०८१
गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइयो

काठमाडौँ — २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवम् नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा बुधबार बिहान शोभाभगवतीमा अवस्थित सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।

उनको सालिकमा माल्यार्पण गर्दै सिंहपुत्र, उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे।

उनले नागरिकलाई अधिकार सम्पन्न बनाउन सिंहले १५ वर्षभन्दा बढी समय जेल जीवन बिताएको र कसैसँग सम्झौता नगरेको बताए । ‘नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले 'कू' गरेपछि प्रजातन्त्र पुनस्थापनाका लागि नेतृत्व गरेको नेताका रुपमा हामी गणेशमान सिंहलाई सम्झन्छौं,’ उपप्रधानमन्त्री सिंहले भने, ‘६ दशकभन्दा लामो सक्रिय राजनीतिमा उनले राणा र पञ्चायतका बेला १५ वर्ष जेल र अर्को १५ वर्ष निजर्वासनमा बिताउनुभयो । यसबाट देशमा जनतालाई सार्वभौमसत्तासम्पन बनाउन, अधिकारसम्पन्न बनाउन उहाँको प्रतिवद्धता र समर्पण कति थियो भनेर हामी भन्न सक्छौं ।’

१९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रुपमा सक्रिय रहेका सिंहलाई ०४६ सालको जनआन्दो्लन सफल भएपछि प्रधानमन्त्री बन्न प्रस्ताव भएपनि अस्वीकार गरेका थिए । उनले अहिले राजनीतिमा कुर्सीको होड चलिरहेपनि गणेशमान सिंहले आफूलाइ नभई देश र जनतालाई केन्द्रमा राखेर राजनीति गरेको पाठ गणेशमानको जीवनीबाट सिक्न सकिने बताए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो। काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउँदै राजनीति थालेका थिए ।

प्रकाशित : आश्विन २, २०८१ १५:५९
x
×