कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

सुरु भयो सिर्जनशील उद्यमी मेला

सुरु भयो सिर्जनशील उद्यमी मेला

काठमाडौँ — हरितालिका तीजको अवसर पारेर महिला सिर्जनशील केन्द्रले गर्दै आएको सिर्जनशील उद्यमी मेला यस वर्ष शुक्रबारदेखि सुरु भएको छ । २१ संस्करणको मेलामा नवप्रवर्तक (स्टार्टअप) लाई प्राथमिकता दिइन लागिएको आयोजक संस्थाले जनाएको छ ।

दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, शृंगारका प्रसाधन, घरायसी प्रयोजनका लागि आवश्यक सरसामानका साथै खाद्यान्न गरी १ सयभन्दा बढी स्टलहरू राखिएको मेला आम्रपाली ब्यांक्वेट भाटभटेनीमा तीन दिनसम्म चल्नेछ ।

महिलामा सीप र दक्षता अभिवृद्धि गराई उद्यमशीलता तथा स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले केन्द्रले मेलाको आयोजना गर्दै आएको छ । मेलामा महिलाले घरमै बनाएका हस्तकलाका सामानलगायत महिला बचत तथा वित्तीय पहुँचसम्बन्धी र प्रविधिमैत्री संघसंस्थाहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ । साथै खानाका परिकारहरू, निःशुल्क स्वास्थ्य शिविर, मेहेन्दी आर्टको सुविधासमेत मेलामा रहेको छ । आयोजकद्वारा ५ भन्दा बढी स्टल असहाय, अशक्त, अपांगता र ग्रामीण क्षेत्रका पिछडिएका महिलाहरूका लागि निःशुल्क प्रदान गरिएको जनाइएको छ ।

मेलाले महिला दिदीबहिनीहरूको आयस्तरमा वृद्धि गरी आर्थिक सशक्तीकरणमा प्रमुख भूमिका खेल्न सफल भएको आयोजक संस्थाकी मिलु थापाले बताइन् । राइजिङ नेपाल प्रालि र इभेन्टसंसार डटकमको व्यवस्थापनमा आयोजना भइरहेको मेलालाई डाबर नेपालको डाबरगुलावरीले मुख्य प्रायोजन गरेको छ ।

प्रकाशित : भाद्र ८, २०८१ ०६:३३
x
×