कलाकार भिसामा विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा 'ईकु' पक्राउ

भाद्र २६, २०८१

कान्तिपुर संवाददाता

'Eku' was arrested on the charge of cheating by saying that he would send him abroad on an artist visa

काठमाडौँ — कलाकार भिसामा विदेश पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुर महानगरपालिका-२४ धापाखेल स्थायी घर भइ हाल काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकरलाई पक्राउ गरेको हो । 

शंकरले क्यानडा, अमेरिका र युरोपका विभिन्न देशमा कलाकार भिसामा लगिदिने र त्यहाँ गएपछि आकर्षक कमाइ हुने भन्दै प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँसम्म ठगी गरेको प्रहरीको आरोप छ । 

सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार शंकरले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा रहेको बैंक खातामा पैसा जम्मा गर्न लगाइ विदेशी मुलुकमा भीसाका लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने, रकम जम्मा गर्ने पीडितहरूले भीसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी भइरहेको बताउने र लामो समयसम्म झुलाउने गरेको उजुरी परेको छ । 

शंकरलाई मंगलबार काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरी बुधबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको सीआईबीका प्रवक्ता बोगटीले जानकारी दिए । उनका विषयमा थप अनुसन्धान भइरहेको भन्दै प्रहरीले उनले ठगी गरेको भए प्रहरीमा सम्पर्क गर्न समेत आग्रह गरेको छ । 

कान्तिपुर

Link copied successfully