कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

पर्यटन बोर्डमा दोहोरिए जोशी

भाद्र २१, २०८१
पर्यटन बोर्डमा दोहोरिए जोशी

काठमाडौँ — निजी क्षेत्रसँगको सहकार्यमा नेपालमा विदेशी पर्यटक ल्याउने उद्देश्यले स्थापित नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपक जोशी नियुक्त भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले जोशीलाई बिहीबार बोर्डको छैटौं सीईओमा नियुक्त गरेको बोर्ड सदस्य राजेन्द्र लामाले जनाए ।

निर्वतमान सीईओ धनञ्जय रेग्मीले चारवर्षे कार्यकाल ०८० माघ १४ मा सकेपछि बोर्ड सीईओविहीन थियो । पर्यटन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय ‘कार्यकारी प्रमुख छनोट उपसमिति’ ले सीईओका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन दिनेमध्येका १४ जना उम्मेदवारमध्ये जोशी, निर्वमान सीईओ रेग्मी र ज्ञानेश्वरसिंह महतोको नाम बिहीबार बोर्ड बैठकमा सिफारिस गरेको थियो ।

तीमध्ये जोशीलाई बहुमत सदस्यले सीईओ नियुक्त गरेको सदस्य लामाले बताए । जोशीलाई सीईओ नियुक्त गर्ने निर्णयमा १० सदस्यमध्ये नेकपा समाजवादी दलबाट बोर्ड सदस्यमा प्रतिनिधित्व गर्ने पोखराका मदन आचार्यले भने फरक मत राखेका अर्का एक बोर्ड सदस्यको भनाइ छ ।

०५३ सालमा स्थापना भएको बोर्डमा जोशी यसअघि ०७२ सालमा चौथो सीईओ थिए । बोर्डको स्थापनासँगै अधिकृतबाट सेवा सुरु गरेका उनी ०७२ पुसमा भएको खुला प्रतिस्पर्धाबाट बोर्डकै सीईओमा नियुक्त भएका थिए । उनको कार्यकाल ०७६ पुसमा सकिएपछि पाँचौं सीईओमा रेग्मी नियुक्त भएका थिए । रेग्मीको चारवर्षे कार्यकाल ०८० माघ १४ मा सकिएपछि बोर्ड सीईओविहीन थियो ।

सीईओ नियुक्त गर्न तत्कालीन पर्यटन सचिव दीपक काफ्ले अध्यक्ष रहेको सञ्चालक समितिले ०८० चैत २४ मा दरखास्त आह्वान गरेको थियो । बोर्डले सीईओका लागि गरेको विज्ञापनमा त्यहीँका कर्मचारीहरू हिक्मतसिंह ऐर, श्रद्धा श्रेष्ठ, सन्तोषविक्रम थापा, लक्ष्मण गौतम र नवीन पोखरेलले निवेदन दिएका थिए । त्यस्तै खुलातर्फ विजय नेपाल, पदम वन, ठाकुर देवकोटा, राजाराम केसी, ज्ञानिन राई, ज्ञानेश्वर महतो, सूर्यबहादुर घिमिरे, ज्ञानेन्द्र अधिकारी, दीपक बास्ताकोटी, चक्सु मल्ल, कमल डोधरी, रामचन्द्र सेढाईं र राजाराम गिरीले आवेदन दिएका थिए । बोर्डका निर्वतमान सीईओ रेग्मी र पूर्वसीईओ जोशीसहित २० जनाले निवेदन दिएका थिए ।

विश्वभर नेपालको पर्यटन सम्भावनाबारे प्रचारप्रसार गर्ने उद्देश्यले स्थापना भएको पर्यटन बोर्डको मुख्य आम्दानीको स्रोत नेपाल भ्रमणबाट फर्किने विदेशीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किंदा बुझाउने १ हजार रुपैयाँ हो । गत वर्ष १ अर्ब हाराहारी बजेट प्रक्षेपण गरेको बोर्डमा ६ निर्देशक, २१ प्रबन्धक, ३२ अधिकृत, ३ म्यासेन्जर र २ चालक गरी ६४ जना कर्मचारी छन् ।

पर्यटन बोर्डको प्रमुख कार्यकारी पद सीईओको कार्यकाल चार वर्ष हुन्छ । सञ्चालक समितिमा निजी क्षेत्रबाट रामप्रसाद सापकोटा, मिलन देवकोटा, राजेन्द्रबहादुर लामा, ऋषिराम भण्डारी र मदन आचार्य गरी ५ जना सदस्य छन् । पर्यटन सचिव अध्यक्ष रहने बोर्डमा सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव बलसागर गिरी, अध्यागन विभागका महानिर्देशक कोषहरि निरौला, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुंगाना गरी ५ सदस्य छन् । सञ्चालक समितिको सचिवमा पर्यटन बोर्डको सीईओ हुन्छन् ।

प्रकाशित : भाद्र २१, २०८१ ०९:२२
x
×