कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३५

मर्मत सम्भारमा भन्सार छुट नदिँदा आयोजना 'फिजिबल' हुँदैनन् : ऊर्जामन्त्री खड्का

भाद्र २०, २०८१
मर्मत सम्भारमा भन्सार छुट नदिँदा आयोजना 'फिजिबल' हुँदैनन् : ऊर्जामन्त्री खड्का

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले मर्मत सम्भारमा प्रयोग हुने मेसिनरी उपकरणहरुमा भन्सार छुट नदिएपछि एउटै आयोजना २९ प्रतिशत महँगो हुँदा आर्थिक रुपमा सम्भाव्य नहुने बताएका छन् ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीसहितको टोलीसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा ऊर्जामन्त्री खड्काले यस्ताे बताएका हुन् ।

उनले विद्युत् विधेयकमा निजी क्षेत्रको कुरा सुनेर नै अहिलेसम्म छलफलमै रहेको बताए ।'निजी क्षेत्रको कुरा समेटेर जाने भनेर नै हामीले त्यसलाई संसदमा लिएका छैनौं,' उनले भने । भारतमा १० हजार मेगावाट बेच्ने सम्झौता भइसकेको, बंगलादेशमा ५ हजार मेगावाट निर्यातको कुरा पक्का पक्की जस्तै भएको र चीनमा पनि केही विद्युत् बेच्न सकिन्छ कि भनेर अध्ययन भइरहेको र सबै गरेर २० हजार मेगावाट विद्युत् बेच्न सकिने खड्काले बताए ।

'अहिले विदेशी लगानीमा बनेका ठूला आयोजनाबाट २१.९ प्रतिशत निशुल्क विद्युत् पाइरहेका छौ । अहिले आएर साना आयोजनामा पनि यो अभ्यास गर्नेबारेमा छलफल चलिरहेको छ, ' ऊर्जा मन्त्री खड्काले भने, 'उसै पनि विद्युत् आयोजनाको लागत उच्च छ, त्यसैमा निशुल्क ऊर्जाको कुरा सम्भव देखिदैन ।' अनुमतिपत्रको अवधि ३०/३५ वर्ष भने पनि एउटा प्रवर्द्धकले मुस्किलले २७/२८ वर्ष मात्रै आयोजना चलाउन पाउने पनि खड्काले बताए ।

ऊर्जा सचिव गोपाल प्रसाद सिग्देलले बाढी पिडित आयोजनाले भन्सार छुट लगायतका सुविधा पाउने विषय अर्थ मन्त्रालयसँग जोडिएका कारण ऊर्जा मन्त्रालयले सिफारिस गर्दा पनि अर्थ मन्त्रालयले सहमति नदिएको बताए । मर्मत सम्भारमा भन्सार छुट दिने विषय समावेश गर्न ऊर्जा मन्त्रालयबाट यो वर्षा पनि बजेटमा सुझाव दिएको तर अर्थ मन्त्रालयले नराखेको पनि सिग्देलले दाबी गरे । उनले विगतमा आवश्यक व्यवसाियक उत्पादन मिति (आरसीओडी)को म्याद थप गर्ने विषय आफूले नै सिफारिस गरेको भन्दै यसलाई निकास दिने प्रतिबद्धता पनि जनाए ।

छलफलको क्रममा वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले जलविद्युत आयोजनाहरु बिस्फोटक पदार्थको अभाव, वित्तीय व्यवस्थापनमा ढिलाई, वित्तीय व्यवस्थापन भएपनि पैसा निकासा हुन नसकेका लगायतका कारणले पनि निर्माणमा ढिलाइ भएको बताए । उनले सरकार पेनाल्टी लिएर धनी नहुने भन्दै आरसीओडीको म्याद थप गर्ने विषयमा मन्त्रालय सकारात्मक नै रहेको बताए ।

त्यस्तै उनले २०७२ को ऊर्जा संकट निवारण कार्ययोजना अनुसार २०८४/८५ सम्म विद्युत उत्पादन नगरे टेक एन्ड पे हुने प्रावधान राखिएको भन्दै त्यहि प्रावधानका कारणले बैकले पैसा नहाल्ने जोखिम रहेको स्वीकारे । त्यसका लागि निजी क्षेत्रका त्यस्ता आयोजनाले छुट्टाछुट्टै निवेदन दिएर त्यो प्रावधानलाई २०८९/९० सम्म बनाउने प्रयास गर्ने अधिकारीले बताए ।

प्रकाशित : भाद्र २०, २०८१ १५:१८
x
×