कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३५

यो वर्ष भरिएला कुलेखानी जलाशय ?

भाद्र २०, २०८१
यो वर्ष भरिएला कुलेखानी जलाशय ?

हेटौंडा — नेपाल विद्युत् प्राधिकरणको ‘व्याकअप’को रुपमा रहेको कुलेखानी जलाशय यो वर्ष भरिने अवस्थामा पुगेको छ । जलाधार क्षेत्रमा लगातार वर्षा भइरहेकाले कुलेखानीको जलाशय इन्द्रसरोवर यो वर्ष भरिने अवस्थामा पुगेको हो । कुलेखानी जलाशयमा बिहीबार बिहान ८ बजेसम्म एक हजार ५ सय २३ दशमलब ५० सेन्टिरमिटर पानी संकलन भएको छ ।

कुलेखानी जलाशय इन्द्रसरोवरमा एक हजार ५ सय ३० मिटर पानी अटने क्षमता छ । अब साढे ६ मिटर पानी संकलन भएपछि इन्द्रसरोवर भरिन्छ । जलाधार क्षेत्रमा वर्षा कम भएकाले विगत दुई वर्षदेखि कुलेखानी जलाशय भरिएको थिएन । गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५ सय २३ दशमलब ३१ सेन्टिमिटरमात्र पानीको सतह थियो ।

‘आजभोलि करिब प्रतिघन्टा एक सेन्टिमिटर पानी जलाशयमा थपिने गरेको छ,’ कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले भने, ‘यो वर्ष जलाशय भरिने आशा गरेका छौं ।’ उनका अनुसार कुलेखानी जलविद्युत् आयोजनाका तीनवटै युनिटहरू अहिले समय/समयमा सञ्चालन गर्ने गरिएको छ ।

यो वर्ष कुलेखानी जलाशयको सतह झन्डै अन्तिम विन्दुमा झरिसक्दा पनि कुलेखानी जलविद्युत् आयोजना सञ्चालन गरिएको थियो । आयोजनाका अनुसार एक हजार ४ सय ८३ दशमबल ९ सेन्टिरमिटरसम्म पानीको सतह झर्दासम्म विद्युत् उत्पादन गरिएको थियो । कुलेखानी जलाशयमा एक हजार ४ स ८३ मिटर पानीको सतह अन्तिम विन्दु हो । एक हजार ४ सय ८३ मिटरसम्म पानीको सतह झरेपछि विद्युत् उत्पादन गर्न सकिँदैन । जलाशयको पानी झन्डै अन्तिम विन्दुसम्म उपयोग नगरेका भए यतिबेला कुलेखानी जलाशय भरिसक्थ्यो आयोजनाका एक इन्जिनियरले भने, ‘यो वर्ष कुलेखानी जलाशय भरिन्छ ।’

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन, पालुङ, वज्रवाराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् । अहिले जलाधार क्षेत्रमा पनि वर्षा भइरहेको छ । साउनको दोस्रो साता दुई दिन लगातार परेको वर्षाले इन्द्रसरोवरमा २४ घन्टामा नै झन्डै ५ मिटर पानीको सतह बढेका थियो ।

२०५० सालमा एकैरात ६ मिटर पानीको सतह बढेको थियो । जलाशय भरिएर पानी बाहिर फाल्न एक्कासी ड्याम खोल्ने काम गरिएको थियो । जस्ले गर्दा सर्लाहीको वाग्मती सिँचाइ आयोजनाको निर्माणमा खटिएका तीन जना चिनियाँलाई बाढीले बगाएको थियो । कुलेखानी जलाशयमा एक हजार ५ सय ३० मिटरसम्म पानी संकल गर्न सकिन्छ । २०७२ सालको भूकम्पले जलाशयको ड्यामको केही भाग चर्केकाले सकेसम्म एक हजार ५ सय २७ मिटर भन्दाबढी पानीको संकलन गर्दा जोखिम हुने प्राविधिकहरूले बताएका छन् । कुलेखानी जलाशयको पानी एक हजार ४ सय ८४ मिटरसम्म तल झर्दा प्रयोग गर्न सकिन्छ । जलाशयमा संकलन गरिएको पानीमध्ये ४६ मिटरमात्र विद्युत् उत्पादनमा प्रयोग गर्न सकिन्छ ।

कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुने गर्छ । कुलेखानी जलाशयमा संकलन गरेको पानीबाट तीन वटै आयोजनाले विद्युत् उत्पादन गर्छन् । ३ सय मिटर चौडाई र सात किलोमिटर लम्बाइ रहेको कुलेखानीको जलाशयको मार्खु क्षेत्रको तल्लो भाग जलाशयको पानीले ढाकिसकेको छ । कुलेखानी नेपालको ठूला योजनामध्ये एक जलविद्युत् उत्पादन गृह हो ।

विद्युत् उत्पादन घट्दै

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयको पिँधको सतह बढेकाले ६ करोड ३३ लाख युनिट विद्युत् उत्पादनमा कमी आएको छ । कुलेखानी जलाशयको पानी संकलनको क्षमता नै न्यून हुँदै गएकाले विद्युत् उत्पादनमा पनि कमी आएको हो । सुरुमा जलाशयमा संकलन गरिएको पानीबाट २१ करोड ११ लाख युनिट विद्युत् उत्पादन हुने गर्थ्यो तर अहिले त्यो क्षमतामा ह्रास आएर १४ करोड ४७ लाख युनिटमात्र विद्युत् उत्पादन गर्ने क्षमता रहेको छ । जलाशयको पानी संकलनको क्षमतामा नै ह्रास आएकाले विद्युत् उत्पादनमा कमी आएको हो । 'पानी संकलन क्षमतामा ह्रास आएपछि उत्पादन स्वतः प्रभावित हुन्छ । करिब २७ मिलियन क्युसेक पानी अटने क्षमतामा ह्रास आएको छ,' कुलेखानी प्रथम एक प्राविधिकले भने ।

बर्सेनि जलाधार क्षेत्रबाट खोलाले बगाएर ल्याउने ढुंगा, माटो, वालुवा र पातपतिङ्गर जलाशयमा थुपार्ने कारणले गर्दां सरोवरको सतह बढेकाले पानी अट्ने क्षमता साघुँरिदै गएको हो । सुरुमा कुलेखानी जलाशयमा ८५ दशमलब ३ मिलियन क्युसेक पानी अटने क्षमता थियो, त्यो क्षमतामा ह्रास आएर अहिले ५९ दशमलव ९९ मिलियन क्युसेकमा झरेको छ । कुलेखानी सञ्चालनमा आएको ४१ वर्षमा १३ मिटर भन्दाबढी जलाशयको पिँधको सतह बृद्धि भएको छ । सरोवरको सतह बढेकाले जलाशयको पानी संकलन गर्ने क्षमतामा ३० प्रतिशत गिरावट आएको हो । विद्युत् उत्पादनमा पनि ३० प्रतिशतले ह्रास आएको छ । जलाशयको पानी क्षमतामा ह्रास आएपछि सुरुको अवस्थाको तुलनामा विद्यूत प्राधिकरणले वार्षिक करिब ३५ करोड रुपैयाँ नोक्सानी व्यहोर्दै आएको छ ।

२०३९ सालमा कुलेखानी जलविद्युत् आयोजना प्रथम सञ्चालनमा आउँदा जलाशयमा संकलन भएको पानीमध्ये ५७ मिटर पानी विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्थ्यो । २०५० सालको बाढीपछि जलाशयमा संकलन भएकोमध्ये ५० मिटरमात्र पानी विद्यूत उत्पादन गर्न सकिन्थ्यो । हाल करिब ४६ मिटरमात्र पानी विद्युत् उत्पादन गर्न प्रयोग गर्न सकिन्छ ।

सरोवरमा संकलित पानीलाई प्रयोग गर्ने उद्देश्यले कुलेखानी पहिलो, दोस्रो र तेस्रो निर्माण गरिएको हो । जलाशयको तल्लो सतह बढेर पानी संकलन गर्ने क्षमतामा कमी आएपछि कुलेखानीका तीन वटै विद्युत् उत्पादन गृह प्रभावित हुने छन् । विज्ञहरूले यो जलाशयको आयु ५० वर्ष तोकेका छन् । जलाशयमा संकलन भएको ढुंगा, माटो र लेदोहरू झिक्नका लागि जलाशय पूरै खाली गर्नु पर्छ । इन्द्रसरोवरको निर्माण एक करोड २० लाख अमेरिकन डलरमा गरिएको थियो ।

प्रकाशित : भाद्र २०, २०८१ ११:०७
x
×