कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

निगमका अध्यक्ष अधिकारीलाई सञ्चालक समितिले पनि सोध्यो स्पष्टीकरण

भाद्र १९, २०८१
निगमका अध्यक्ष अधिकारीलाई सञ्चालक समितिले पनि सोध्यो स्पष्टीकरण

काठमाडौँ — नेपाल वायुसेवा निगमको सञ्चालक समितिले पनि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको छ । दुइटा वाइडबडी विमान उडानमा नरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दैनिक ४ करोड हाराहारी नोक्सान बेहोर्नुपर्ने भएपछि समितिले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको हो ।

अध्यक्षको सचिवालय स्रोतका अनुसार, नजिकिँदो चाडपर्वकै मुखमा ढिलाइ गर्दै नियमित गर्नुपर्ने विस्तृत मर्मत सम्भार (सी–चेक)मा दुवै वाइडबडी विमान पठाउन ढिलाइ गरेको लगायतका विषयमा सञ्चालक समितिले स्पष्टीकरण सोधिएको हो । ‘निगमको सञ्चालक समितिले सोधेको स्पष्टीकरण हाम्रो (कार्यकारी अध्यक्ष) ज्यूको कार्यालयमा आइपुगेको छ,’ उक्त स्रोतले कान्तिपुरसँग भन्यो ।

स्पष्टीकरणमा सञ्चालक समितिका निर्णय कार्यान्वयन नगरेको, राजनीतिक फेरो समातेर ०७८ कात्तिकदेखि निगमको कार्यकारी अध्यक्षमा आइसकेपछि उनकै कारण घाटा वृद्धि हुँदै ४५ अर्ब ऋण व्ययभार ५३ अर्ब रुपैयाँ पुगेको विषयमा जवाफ मागिएको एक बोर्ड सदस्यले कान्तिपुरलाई बताए ।

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पर्यटनमन्त्री बद्री पाण्डे र निगम सञ्चालक समितिले सोधेको स्पष्टीकरण ।

‘भदौ दोस्रो सातादेखि हामीले उनलाई ऋणभार, सावाँब्याज भुक्तानी, जहाजको सीचेक मर्मत ढिलाइबारे स्पष्टीकरण सोध्ने विषयमा बैठकमा छलफल गरेका थियौं । तर उहाँ भागेको भाग्यै गर्नुभयो,’ ती बोर्ड सदस्यले भने, ‘बोर्डमा प्रस्ताव ल्याउन नदिएपछि उहाँलाई नै दियौं । गोजीमा थन्क्याएपछि सचिवालयमा दर्ता गरायौं ।’ भदौ १३ गते सञ्चालक समितिमा दर्ता गरेको स्पष्टीकरणको विस्तृत जवाफ अर्को बैठकमा आफैं हस्ताक्षर गरेर बुझाउन कार्यकारी अध्यक्ष अधिकारीलाई निर्देशन दिइएको छ ।

अधिकारीले वाइडबडी अन्नपूर्णलाई असार ९ गते इटालीको नेपल्स पठाएका थिए । एमआरओ एजेन्ट कम्पनीले बैना भुक्तानी नगरेको भनी त्यो विमान ३७ दिनसम्म पार्किङमै थन्काइदिएको थियो । ३७ दिनसम्म उक्त विमान त्यहाँ रहँदा पार्किङ शुल्क, बिमालगायत अतिरिक्त खर्च लाग्नेबाहेक उक्त विमानले दैनिक २ करोड हाराहारीको कारोबार गुमाउँदा ७४ करोड नोक्सानी भएको ती सञ्चालक समिति सदस्यले बताए ।

एजेन्ट कम्पनीले उक्त जहाज १ महिनाभित्र मर्मत गरी पठाउने सम्झौतापत्रमा उल्लेख गरेको छ । तर अढाई महिना भइसक्दा पनि जहाज मर्मत सकिएको छैन। यसैबीच अर्को वाइडबडी भदौ १२ गते मर्मतका लागि नेपल्स पठाइएको छ । त्यो जहाजको पनि मर्मत सुरु नभइसकेकाले कहिले नेपाल फर्काइने हो भन्ने मितिको टुंगो नलागेको निगमका एक इन्जिनियरले बताए ।

यसैबीच अधिकारीलाई भदौ १२ गते पर्यटनमन्त्री बद्री पाण्डेले पनि स्पष्टीकरण सोधेका थिए । मन्त्रालयले एक साताभित्र जवाफ दिन भनिएको पत्रको म्याद मंगलबार सकिएको छ । पर्यटन मन्त्रालयले अधिकारीले स्पष्टीकरण बुझाइनसकेको जनाएको छ । ‘बुधबार पर्यटन मन्त्रीले निगमका कार्यकारी अध्यक्ष अधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई १ बजे बोलाउनु भएको छ । त्यहाँ पनि छलफल हुने छ । त्यतिन्जेलसम्म स्पष्टीकरण पनि आइपुग्ला,’ मन्त्रालय स्रोतले भन्यो ।

प्रकाशित : भाद्र १९, २०८१ १२:४४
x
×