मनकामना केबलकार २६ वर्षपछि आधुनिक प्रविधिमा

भदौ अन्तिम सातासम्म आधुनिक प्रविधिमा रूपान्तरण गरिसक्ने कम्पनीको लक्ष्य 

भाद्र ४, २०८१

विमल खतिवडा

Manakamana Cable Car with modern technology after 26 years

काठमाडौँ — २६ वर्षपछि मनकामना केबलकारलाई आधुनिक प्रविधियुक्त बनाउन लागिएको छ । गत असार ३१ बाट सेवा बन्द गरेर ‘एनलग सिस्टम’बाट ‘डिजिटल सिस्टम’ मा लैजाने काम जारी रहेको कम्पनीले जनाएको छ । ५० दिनभित्र यसलाई आधुनिक प्रविधिमा रूपान्तरण गरिसक्ने योजना मनकामना केबलकारको छ ।

अस्ट्रियाबाट आएको ५ जना प्राविधिक टोलीको सक्रियतामा केबलकारलाई आधुनिक प्रविधिमा स्तरोन्नति गर्ने काम भएको मनकामना केबलकारका निर्देशक राजेशबाबु श्रेष्ठले बताए । 

‘२६ वर्षअघि केबलकार सुरु गर्दा अहिलेको जस्तो प्रणाली थिएन, जे थियो, त्यसैका आधारमा चलाइएको थियो,’ श्रेष्ठले भने, ‘नयाँ–नयाँ प्रणालीको विकास भइरहेको हुन्छ । त्यहीअनुसार यसलाई पनि डिजिटल प्रणालीमा लगिएको हो ।’

पहिला एसी करेन्ट आएर त्यसलाई बीसीमा कन्भर्ट गरी डीसी मोटरले गियर बक्स चलाउँथ्यो । ‘अहिले सिधै एसी मोटरबाट चलाउन मिल्ने भएको छ,’ श्रेष्ठले भने, ‘पूरै कन्ट्रोल सिस्टम एनलगबाट डिजिटल बनाइएको छ, मुख्य कन्ट्रोल प्यानल सबै परिवर्तन गरिएको छ ।’ यसको दुई वर्षअघि पहिलो चरणअन्तर्गत प्राविधिक टोलीले परीक्षण गरेर मेकानिकल ‘वेयर एन्ड टिएर’ भएका महत्त्वपूर्ण मेकानिकल पार्ट परिवर्तन गरिएको उनले सुनाए । ‘त्यो बेला १५ दिन केबलकार बन्द गरेर काम गरिएको थियो,’ उनले भने, ‘सबैभन्दा महत्त्वपूर्ण पार्ट्स केबलकारमा गोन्डोला झुन्डिने ग्रिप हो, त्यो दुई वर्षअघि नै परिवर्तन गरिसकेका छौं ।’ 

तीन–चार वर्षअघिदेखि नै प्रणाली स्तरोन्नति गर्ने कुरा चलेको थियो । ‘प्राविधिक टोलीले दुई/चार वर्ष स्पेयर पार्ट्समा सपोर्ट गर्न सक्छौं, त्यसपछि स्पेयर पार्ट्स उपलब्ध हुन कठिन हुने सुनाए,’ श्रेष्ठले भने, ‘गाडीको जस्तो जुनसुकै पसलमा स्पेयर पार्ट्स किन्न पाउने होइन, भविष्यमा पुरानै तरिकाले चलाउन त्यहीअनुसारको स्पेयर पार्ट्स पाउन कठिन हुने भएकाले आधुनिक प्रविधि अपनाइएको हो ।’ त्यसैले रोपवेहरू चल्ने सिद्धान्त एउटै भएकाले डि–कनेक्टमा चलाउन लागिएको उनले सुनाए । 

Manakamana Cable Car with modern technology after 26 years‘मेकानिकल पार्ट्स जुन परिवर्तन गर्न मिल्दैन, त्यसलाई एक/एक वटा निकालेर परीक्षण गर्‍यौं, त्यसका लागि ९ करोड रुपैयाँ खर्च भयो,’ उनले भने, ‘अहिले पहिलो र दोस्रो चरणअन्तर्गतको काम जारी छ ।’ पहिला दोस्रो चरणको काम गरेर तेस्रो चरणको काम गर्ने तयारी थियो । ‘कोभिड–१९ ले गर्दा दोस्रो चरणको काम समयमै गर्न पाइएन, यो चरणमा पूरै कन्ट्रोल सिस्टम फेर्ने र तेस्रो चरणमा लट्ठा फेर्ने योजना थियो ।’ कोभिडले गर्दा दोस्रो चरणको काम गर्न नसक्दा दुवै चरणको काम छुट्टाछुट्टै गर्ने भनिए पनि एकै चोटि गरिएको उनले सुनाए । 

केबलकारको पुरानो कन्ट्रोल प्यानल परिवर्तन गरेर नयाँ राखिएको छ । ‘पहिला जुन अपरेटिङ प्यानल हुन्थ्यो, त्यसलाई परिवर्तन गरेर डिजिटल प्यानल राखिएको छ,’ श्रेष्ठले भने, ‘पहिला हरियो बत्ती बल्दा ठीक छ र रातो बत्ती बल्दा समस्या आयो भन्ने हुन्थ्यो, अब सबै कम्प्युटरमा हेर्न र त्यही टच स्क्रिनबाट अपरेट गर्न मिल्नेछ ।’ के समस्या आउँछ, त्यो कम्प्युटरमै देखिनेछ । ३.०१ किलोमिटरमा कम्युनिकेसन तार पनि फेरिसकिएको उनको भनाइ छ । 

‘पहिला मेकानिकल सेन्सर थियो, अब हरेक महत्त्वपूर्ण टावरहरूमा डिजिटल सेन्सर हुनेछ,’ श्रेष्ठले भने, ‘कुनै समस्या आए तुरुन्त कम्प्युटरमा थाहा हुने र त्यसलाई हेरेर मर्मत गरेपछि सिस्टम चल्नेछ ।’ अब पुरानो संरचनाका रूपमा टावर, भवन, केबलकारका गोन्डोला मात्र छन् । ‘लट्ठा पनि राम्रै थियो, प्राविधिकले चार–पाँच वर्षमा फेर्दा हुन्छ भने पनि फेरि फेर्न समय लाग्ने देखियो, फेरि फेर्न केबलकार बन्द गरेर नै काम गर्नुपर्छ,’ उनले भने, ‘त्यसैले एकै चोटि सबै काम गरिएको हो ।’ लट्ठा युरोपबाट ल्याएर फेरिएको श्रेष्ठले जनाए । 

Manakamana Cable Car with modern technology after 26 yearsकेबलकारको स्तरोन्नतिमा ४५ देखि ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान रहेको उनले सुनाए । लट्ठा फेरिसकिएको छ । एसी ड्राइभ र प्यानल सबै फिट गरिसकिएको छ । अहिले टावरहरूको वायरिङ भइरहेको छ । ‘१०/१५ दिनभित्रमा परीक्षणको काम सुरु हुने र यो काम सक्न साढे दुई साता लाग्नेछ,’ उनले भने, ‘भदौ अन्तिम सातासम्म केबलकार पुनः सञ्चालनमा ल्याउने योजनामा छौं ।’ स्तरोन्नतिपछि यसको आयु २०/२५ वर्ष बढ्ने श्रेष्ठले बताए । ‘२५ वर्ष पुरानो भएकाले हाम्रो मर्मतसम्भार खर्च धेरै थियो, अब यो खर्च पनि घट्नेछ,’ उनले भने । 

Manakamana Cable Car with modern technology after 26 years०५४ माघ अन्तिमबाट निर्माणको काम सुरु भई ०५५ मंसिर ८ बाट मनकामना केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । हाल मनकामना केबलकारले वार्षिक ११ लाख यात्रुलाई सेवा दिँदै आएको छ ।

३४ वटा गोन्डोला रहेको मनकामना केबलकार क्षेत्रमा पर्यटक राख्न अहिले ५५ करोड लागतमा मनकामना केबलकार परिसरमै रिसोर्ट निर्माण भइरहेको छ । ४० कोठाको रिसोर्टको काम ६५ प्रतिशत सकिसकेकाले सन् २०२५ को सुरुवातबाट सञ्चालनमा ल्याउने तयारी रहेको पनि श्रेष्ठले जनाए । 

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully