कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

सबैभन्दा बढी आयात वीरगन्ज र निर्यात टीआईए भन्सारबाट

श्रावण २०, २०८१
सबैभन्दा बढी आयात वीरगन्ज र निर्यात टीआईए भन्सारबाट

Highlights

  • गत आर्थिक वर्ष कुल निर्यातको २२.५४ प्रतिशत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र कुल आयातको ३४.३० प्रतिशत वीरगन्ज भन्सार कार्यालयबाट भएको छ ।

काठमाडौँ — मुलकको वैदेशिक व्यापारमा सबैभन्दा बढी आयातको हिस्सा वीरगन्ज भन्सार कार्यालय र निर्यातको हिस्सा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको रहेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष कुल निर्यातको २२.५४ प्रतिशत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र कुल आयातको ३४.३० प्रतिशत वीरगन्ज भन्सार कार्यालयबाट हुने गरेको छ ।

वीरगन्जबाट ५ खर्ब ४६ अर्ब ४३ करोड ८० लाख रूपैयाँ बराबरको वस्तु आयात भएको विभागले जनाएको छ । आयातमा सुख्खा बन्दगाहको हिस्सा १२.७८ प्रतिशत छ । सुख्खा बन्दगाहबाट २ खर्ब ३ अर्ब ६३ करोड ६७ लाख रूपैयाँ बराबरको वस्तु आयात भएको विभागले जनाएको छ ।

निर्यातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयपछि विराटनगर र विरगन्ज भन्सार कार्यालय छ । गत आर्थिक वर्ष निर्यातमा विराटनगरको २०.४४ र विरगन्जको २०.४३ प्रतिशत हिस्सा रहेको विभागको तथ्यांक छ । विराटनगर भन्सार कार्यालयबाट ३१ अर्ब १४ करोड २५ लाख २४ हजार रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । यस्तै वीरगन्जबाट ३१ अर्ब १३ करोड २२ लाख ७५ हजार रूपैयाँ बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांक छ ।

भद्रपुर, चोभार, गौतम बुद्ध विमानस्थल, जनकपुर, महेशपुर, पोखरा, राजविराज, सुनसरी र ठाडी भन्सार कार्यालयबाट निर्यात शून्य रहेको विभागको तथ्यांक छ । गत आर्थिक वर्ष कुल १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रूपैयाँ बराबरको वस्तु आयात भएको थियो । सोही अवधिमा १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

प्रकाशित : श्रावण २०, २०८१ १३:१२
×